गोरक्ष समाचारदाता
दाङ, २८ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार कलाकार भूपेन्द्रबहादुर पाण्डेलाई प्रदान गरिएको छ । त्रिभुवननगर जेसीजले यस वर्षको युवा पुरस्कार कलाकार पाण्डेलाई प्रदान गरेको हो ।
मङ्गलवार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत पाण्डे कलाकारिता क्षेत्रमा काम गर्दै आएका छन् । सार्वजनिक सूचनामार्फत् युवा पुरस्कारका लागि माग गरिएको निवदेनमध्येबाट विविध मापदण्डका आधारमा छनोट गरिएको छनोट समिति संयोजक बाबुराम पाण्डेले जानकारी दिए ।
विभिन्न विधामा काम गर्दै आएका युवाहरूलाई हरेक वर्ष पुरस्कृत गरिँदै आइएको छ । पुरस्कृत पाण्डे देउखुरी निवासी हुन् । हाल काठमाडौंमा बसेर कलाकारिता क्षेत्रमा लागिरहेका छन् । यज्ञबहादुर बुढाथोकीको नाममा उनका छोरा मनोज बुढाथोकीले त्रिभुजन नगर जेसीजमा अक्षयकोष स्थापना गरेका छन् । उक्त अक्षयकोषबाट हरेक वर्ष एक जना युवालाइ पुरस्कृत गरिँदै आइएको छ । सन् २०१३ बाट उत्कृष्ट युवा दाङ पुरस्कार प्रदान गरिँदै आइएको हो ।
कार्यक्रम त्रिभुवननगर जेसीजका अध्यक्ष टंकबहादुर रावत अनन्तको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तीरणराज गौतमको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्ने वक्ताले जेसीजले युवाका लागि नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने गरेको बताएका थिए । जेसीज सामाजिक कार्यमा सक्रिय रहँदै आएको भन्दै यसलाई निरन्तरता दिनसमेत आग्रह गरेका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, अक्षयकोष स्थापनाकर्ता मनोज बुढाथोकी, जेसीजका पूर्वअध्यक्ष दीपक श्रेष्ठ, दाङ महिला जेसीजका अध्यक्ष अनिता ढकाल, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति दीपेश डिसी, पूर्व पुरस्कार विजेता प्रदीप मजगैयाँलगायतले भनाइ राखेका थिए । कार्यक्रमक संयोजक राजन घतपर््को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव कृष्णदेव थापाले गरेका थिए ।