गोरक्ष समाचारदाता
दाङ, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा दाङ महिला जेसीजले युवाहरूका लागि आयोजना गरेको राम्रो स्वास्थ्य र कल्याणका लागि लागूऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
दाङ महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा राप्ती शिक्षा क्याम्पसका प्रमुख हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा घोराही स्थित राप्ती शिक्षा क्याम्पसमा मङ्गलबार भएको कार्यक्रममा विद्यार्थीले लागूऔषध विरुद्ध शिक्षाबाट धेरै कुरा जान्ने मौका पाएको बताएका थिए ।
शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्णस्वस्थ रहन लागूऔषधबाट टाढा रहँदै जीवनलाई कसरी अर्थपूर्ण बनाउन सकिन्छ भन्ने विषयमा जान्ने मौका पाएको विद्यार्थीेले बताएका थिए । युवालाई योग्य, स्वस्थ र जिम्मेवार नागरिक बनाउन लागूऔषध सचेतना कार्यक्रम हरेक युवा माझ लैजान आवश्यक रहेको प्रशिक्षक वसन्त पुनले बताए ।
युवाको नेतृत्व एवम् व्यक्तित्व विकास गराउन जेसीजले लिएको उद्देश्य अनुरूप स्वस्थ र सुखमय जीवनका लागि युवालाई कुलतबाट मुक्त बनाउन सचेतना कार्यक्रम गरिएको दाङ महिला जेसीज वर्ष २०२५ का अध्यक्ष ढकालले बताइन् । उनका अनुसार युवा नेतृत्वलाई सशक्त बनाउन दिगो विकास लक्ष्य अन्तर्गतका सातवटा लक्ष्यमध्ये राम्रो स्वास्थ्य र कल्याणका लागि लागूऔषध सचेतना कार्यक्रम गरिएको हो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर दाङ महिला जेसीजले आयोजना गरेको लागूऔषध सचेतना कार्यक्रममा राप्ती शिक्षा क्याम्पस र ज्ञानसिन्धु कलेजका एक सय २० जना बढी विद्यार्थी सहभागी थिए । स्वास्थ्य संयोजक आकृति शर्माको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई उपाध्यक्ष दीपा पुनले आस्थापाठ गराएकी थिइन् भने कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गरेकी थिइन् ।