तुलसीपुरमा युवा र उद्यमशीलता विषयक बहस्

गोरक्ष समाचारदाता
तुलसीपुर, २८ साउन । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नगरस्तरीय युवा सञ्जालको आयोजनामा युवा र उद्यमशीलता विषयक बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीले युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्नु पर्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख वक्ता तथा तुलसीपुर उपमहानगरपालिका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेयले युवा उद्यमशीलताको अवस्था उत्साहजनक रहेको बताए । पाण्डेले बेरोजगारी अन्त्य र आर्थिक सङ्कट समाधानको प्रमुख उपाय नै उद्यमशीलता भएको भन्दै आफू १२ वर्षको उमेरदेखि उद्यमशीलतासँग जोडिएकाले कुनै काम गर्न उमेर नभई सोच परिवर्तन हुनुपर्ने बताए ।

‘जुन देशका नागरिकले सबैभन्दा धेरै जागिर सिर्जना गर्ने गरी काम गर्छन् त्यो देश नै धनी हुन्छ’, पाण्डेयले भने, ‘रोजगारीका लागि विदेश जाँदा फूलमालासहित बिदाई गर्न पुग्ने तर विदेशमा सिकेको श्रम र सिपको उर्जा स्वदेश फर्किँदा लिन एयरपोर्टसम्म नपुग्ने प्रवृत्ति पछिल्लो समय बढ्दै छ ।’

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक माधव वलीले युवालाई विदेश पलायनबाट रोक्न, स्वरोजगारमूलक कार्यक्रम अन्तर्गत कम्तिमा हजार युवालाई रोक्ने लक्ष्यसहित इन्क्युबेसन सेन्टर स्थापना गरिएको जानकारी दिए ।

उनका अनुसार सेन्टरमार्फत् व्यावसायिक योजना निर्माण, वित्तीय साक्षरता, अवसर र चुनौतीबारे नीति निर्माण तहमा काम भइरहेको जानकारी दिए । यसैगरी नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका केन्द्रीय सल्लाहकार सुरेश हमालले यातायात क्षेत्रमा ८० प्रतिशत युवाको संलग्नता रहेको जानकारी दिए ।

युवाको आकर्षण बढे पनि समाज र राज्यले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोण विभेदपूर्ण भएको बताए । उनले दुध बेचेर आमाबाबुले कमाएको पैसाले यातायातका लागि पेट्रोल खर्चेर कफी हाउसमा बस्ने तर बाबुआमाको पेसालाई सहयोग नगर्ने सोच बदलिनु आवश्यक रहेको बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष युवा उद्यमी बिनिल केसीले नेपालमै पर्याप्त अवसर रहेको उल्लेख गर्दै शून्य पुँजीबाट उद्यम सुरु गर्न सकिने बताए । विकसित मुलुकहरू जस्तै नेपालमा उद्यमशीलताको विश्वविद्यालय आवश्यक रहेको भए पनि त्यसो हुन नसकेको बताए । स्वदेशमै उद्यमशीलताका लागि सोचमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो ।

कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक सूर्यप्रसाद शर्मा, नेकपा एमाले सल्यानका उपसचिव गणेशमान सिंह, विद्यार्थीहरू केबी वली, शिक्षा विश्वकर्मा, सिर्जना खड्का, सन्दीप आचार्य, मुना विश्वकर्मालगायतले स्वदेशमै लगानी गर्न परिवारले विश्वास नगर्ने र साथीभाइको आलोचना प्रमुख चुनौतीका रूपमा रहेको बताएका थिए ।

नगर युवा सञ्जाल तुलसीपुरका अध्यक्ष ओतबहादुर भण्डारी (गणेश)को विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले गरेका थिए ।