समाजमा हुने धार्मिक सामाजिक कार्य होस् वा वन वातावरण र जलवायु परिवर्तनकौ क्षेत्रमा उनी सधै क्रियाशील हुन्छन् । मिजासिला कुशल कर्मठ व्यक्ति तुलसीपुर–८ निवासी भुपबहादुर केसी विभिन्न वन वातावरणसरुगै विभिन्न सामजिक संघ संस्थाको नेतृत्वमा रहरु काम गरिरहेका छन् ।
सधै खुसीका साथ सामाजिक तथा वातावरणको क्षेत्रमा लाग्ने केसीको जन्म सल्यानमा भए पनि कर्मभूमिसँंगै हाल दाङको तुलसीपुरलाई कर्मथलो बनाएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङको सहसचिव केसीले आफ्नो जीवनका भोगाइमा धेरै खुसी रहेको बताउँछन् । उनले आफ्नो रुची वन वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा बढी भएको भन्दै यसैमा खुसीको साथ काम गर्न पाएकोमा आफूलाई खुसी लाग्ने बताउँछन् ।
केसीले सामाजिक क्षेत्रमा काम गर्न पाउँदा आफू निकै खुसी भएको सुनाए । सानैदेखि संयुक्त परिवारमा हुर्केका केसीले विगत सम्झदै ठुलो परिवार एउटै छानामुनि बस्दा र घरमा आउने इष्टमित्र पाहुनाको नियमित आवतजावतले जनसम्पर्क र काममा परिपक्ता बढ्दै जाने भएकाले आज सामाजिक क्षेत्रमा काम गर्न लाग्ने उत्साह, प्रेरणा त्यसबाट पनि प्राप्त भएको भन्दै खुसी व्यक्त गरे ।
केसीले आफूलाई बुबाले जुत्ता किनेर दिएको दिन जीवनमै पहिलो खुसी प्राप्त गरेको सुनाए । ‘म करिब १० वर्षको हुँदा बुबाले मलाई जुत्ता किनिदिनुभएको थियो सायद म त्यति खुसी कहिले हुन सकेको थिएन होला’ केसीले भने । उनले आफू त्यतिबेला चप्पल लगाएर स्कुल जानु पर्ने र बुवाले जुत्ता किनिदिएर पछि बजारबाट जुत्ता च्यातिन्छ भनेर कहिल जुत्ता लगाउने कहिले समाउने गर्दै घर आएको सम्झिए ।
त्यस्तै उनले अर्को खुसी एसएलसी पास हुँदा लागेको सुनाए । महेन्द्र माविबाट तुलसीपुरबाट एसएलसी पास गर्दाको दिन पनि खुसी भएको बताए । त्योसँगै एक वर्ष २०५६ सालमा कपास विकास समितिमा सुपरभाईजरको काम गरेको भन्दै त्यसपछि २०५६ सालमा नै सामुदायिक वनको नेतृत्व विकास तालिम लिएको उनले बताए ।
केसीले नवदुर्गा सामुदायिक वनबाट तालिममा सहभागी हुन पाउँदा अर्को खुसी मिलेको सुनाए । ‘सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल दाङमा समूह सेवा कार्यक्रम सुरु भयो त्यसअन्तर्गत सहजकर्ताको जिम्मेवारीमा १२ जनामध्ये छनोट भई महासंघमा प्रवेश गर्दा पनि मलाई निकै खुसी लागेको थियो’ केसीले भने ।
उनले यस कार्यक्रमबाट तुलसीपुर–७ स्थित श्रीगणेश सामुदायिक वनको विद्यान, कार्ययोजना बनाउने काम गरेको र विधान कार्ययोजनाको प्रक्रियामा सामाजिक स्रोत नक्सा बनाउँदा उपस्थीत उपभोक्ता समितिका पदाधिकारीको छलफलबाट उठान भएको राप्ती शान्ति उद्यान आज देश विदेशमा समेत प्रख्यात हुँदा आफूलाई निकै खुसी लागेको सुनाए ।
‘अहिले राप्ती शान्ति उद्यान पार्क पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ तुलसीपुरको गहना भएको छ यसको विकास विस्तार भएको देख्दा निकै खुसी लाग्छ’ केसीले भने ।
केसीले महासंघको सहजकर्ताबाट सुरु गरेको जागिर कार्यक्रम संयोजक हँुदै यही संस्थाको नेतृत्वमा रहेर काम गर्ने अवसर मिलेकोमा अर्को खुसी मिलेको बताए । केसीले सामुदायिक वनको हकहित विभिन्न परियोजनामार्फत् वन वातावरण संरक्षण र नेतृत्व विकास र उद्यमशीलताको विकासका लागि विभिन्न तालिम दिन पाएकोमा पनि खुसी व्यक्त गरे ।
केसीले आफूलाई बुबा, अंकल दाइहरूको सुझाव जहिले पनि कसैले बेइमान भन्ने काम गर्न हुँदैन इमान्दारिता पूर्वक काम गर्ने प्रेरणा दिनुभएको र सोही अनुसार दिएको जिम्मेवारी भूमिका निर्वाह गर्न पाउँदा पनि निकै खुसी लाग्ने गरेको केसीले सुनाए । उनले सत्कर्मले नै मानिसलाई खुसी मिल्ने भन्दै अहिले पनि आफ्नो जन्म स्थानमा तथा सल्यानमा जाँदा बुबाको नाम गरेर परिचय दिँदा सबैले सम्मान गर्ने गर्दा असाध्यै खुसी लाग्ने गरेको बताए ।
‘अहिले पनि समाजमा हुने साना–साना सामाजिक काम क्रियाकलापदेखि जिल्लास्तरसम्म आफ्नो उपस्थिति अनुभवलाई कार्यान्वयन गर्न पाउँदा असाध्यै खुसी लाग्ने गर्छ’ केसीले भने । त्यस्तै उनले वन क्षेत्रमा काम गर्ने सरकारी एवम् गैरसरकारी निकायमा काम गर्ने व्यक्ति÷सहजकर्ताहरूको संस्था कफ्सन नेपालको दाङ शाखाको संस्थापक अध्यक्षसँगै केन्द्रीय सदस्य समेतको जिम्मेवारी निभाउन पाउँदा निकै खुसी लागेको उनले सुनाए ।
त्यस्तै यसै संस्थाको भूमिकाबाट सिटीईभिटिको माध्यमबाट सहजकर्ताको सीप परीक्षण गर्ने प्रक्रिया भएको र टुलेभल गरेका सहजकर्ता आफ्ना साथीहरू यसै माध्यमबाट आज सरकारी सेवामा रेञ्जर, अधिकृतसम्म भएकोमा निकै खुसी लाग्ने गरेको उनले सुनाए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला संघ दाङको सहसचिव अमृतपुर सामाजिक उद्यमी सहकारी संस्था तुलसीपुर–८ को सचिव धार्मिक संस्था श्रीकृष्ण मन्दिर व्यवस्थापन समिति तुलसीपुर–८ को सचिव नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहको सल्लाहकार लगायतका जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।
विशेषगरी दाङ जिल्लामा वन तथा वातावरणको क्षेत्रमा आफ्नो पहिचान, यसैलाई इमान्दारिपूर्वक भूमिका निर्वाह गर्ने र वन अधिकारको आन्दोलनमै सक्रिय भूमिका निर्वाह गर्न पाएकोमा आफू खुसी भएको र वन वातावरण र जलवायु परिवर्तनकै क्षेत्रमा बढी काम गर्ने रुची आफूले राख्ने केसी बताउँछन् ।
उनले सबै रिपोर्ट सबै हातले लेख्नु पर्ने अवस्था रहेको र पछिल्लो अवस्थामा आफूले लेखेर इन्स्टिच्युटमा टाइप गराएर रिपोर्ट पठाउनु पर्ने अवस्थासँगै आफ्नो अत्यन्त चासोका साथ कम्प्युटर सिक्नुपर्छ भनेर पछिल्लो अवस्थामा रातभर नसुतेर पनि आफै कम्प्युटरमा अभ्यास गरिरहेको र पहिलो पटक आफैले टाइप गरेर प्रतिवेदन प्रोजेक्टलाई पठाउँदा अत्यन्त खुसी महसुस भएको उनले बताए । ‘कम्प्यूटर सिक्दाको पनि मेरो अर्को खुसी हो’ केसीले भने ।
प्रस्तुती : बालाराम खड्का