नारायणप्रसाद श्रेष्ठ
मानव जीवन सत्य, धर्म, शान्ति, प्रेम र अहिंसामा आधारित हुन्छ । विश्वासको धरातल बलियो बनाइ जीवनलार्ई सहज अवतरण दिइएको हुन्छ । यति मात्र होइन जीवन ज्ञान, सीप, माया र आत्मियताले सिङ्गारिएको भण्डार पनि हो । त्यसैले यस्को सार्थकताको लागि आफूले आफैलार्ई बुझ्ने कोशिस गर्नुपर्दछ । जबसम्म आफू को हुँ म यस धर्तिमा किन आए, मेरो जिम्मेवारी के हो यस कुराको बोध हँुदैन तबसम्म जीवनको पहिचान हुन सक्दैन ।
त्यसैले जीवनको हरेक कर्मको गतिमा आउने विविध गतिविध र सामाजिक वातावरणलार्ई बुझी सत्यतामा आधारित कर्म र व्यवहार गर्नेतर्फ सबैको ध्यान पुग्न जरुरी छ । सत्यतामा आधारित कर्म र व्यवहारबाट नै आफूभित्रको सत्यतालार्ई प्रर्दशन गर्नुपर्दछ । सत्यतामा आधारित जीवनशैलीबाट नै उ निस्वार्थी बन्न सक्छ । सेवारत हुन सक्छ । त्यस पछि मात्र उ पूर्ण हुन सक्छ ।
अन्यथा मुखमा राम राम, बगलीमा छुरा भन्ने उखान चरितार्थ हुने अवस्था आउँछ । तसर्थ विचार र व्यवहारमा एक रुपता ल्याई दृष्टि र सोचमा सकारात्मक भाव जगाउन सक्नुपर्दछ । सक्षम व्यक्ति नै सफलताको चोटिमा पुग्न सक्छ भन्ने मान्यता राखी आफ्नो पहिचान बढाउनु पर्दछ ।
अरुको काममा अनावश्यक चासो राखी वा आफूले कस्तो विचार प्रवाह गरिरहेको छु त्यसको मूल्याङ्कन नगरी अर्काको कुरा काट्ने, अनावश्यक झोच झमेला बढाउने गर्नु भनेको आफूले आफैलार्ई नरकतर्फ धकेल्नु हो । त्यसैले अरुलाई होइन आफैलाई बुझ्न जरुरी छ । म होइन हाम्रो पहिचान के हो त्यसको लेखाजोखा गर्न सक्नुपर्दछ ।
अरुको धनसम्पत्ति एस आराम प्रतिष्ठा देखेर आफूलार्ई पछि परेको अनुभूति गर्नु भनेको आफूले आफैलार्ई पछि पार्नु हो । दुःखको सागरमा धकेल्नु हो । यसले मानवीय चेतनालार्ई कमजोर बनाइदिन्छ । यसले आफूभित्रको क्षमतालार्ई पनि अवरोध गराउने अवस्था हुन्छ ।
उसले यति गरिसक्यो मैले त केही गर्न सकिन भनी यदि हिड्न नजान्ने दौड्न खोज्ने प्रवृति बढाइन्छ भने यसले हिनताबोध हुने सोच र चिन्तन बढाउन थाल्दछ । यसले मानवीय आचरण, व्यवहार र गतिलार्ई समेत अवरोध खडा गर्ने सम्भावना बढ्दछ । मनमा नैराश्यता उत्पन्न गरी आफूलार्ई कमजोर बनाउनु छ ।
यसरी आफूलाई प्राप्त अवसरको प्रयोग गर्न नजान्नु तथा आफूभित्रको सत्यतालार्ई नबुझ्नु र अरुप्रति डाहा गर्नु वास्तवमा आफूले आफैलार्ई नकारात्मक दिशा उन्मुख गराउनु हो । मनभित्र उब्जने सकारात्मक चिन्तन र समभावलार्ई अवरोध पु¥याउनु हो । यस्तो परिस्थिति सिर्जना भएपछि मनरुपी पवित्र गंगाको धारमा गलत चिन्तन जाग्न थाल्दछ ।
अनि अन्तर हृदयभित्र रहेको स्वच्छता र पवित्रतामा खिया लाग्न सुरु गर्छ । विचारमा संकुचन पैदा भई दृष्टिमा लोभ मोहरुपी अभिलाषा पैदा हुन पुग्दछ । यसबाट मानव अन्तरनिहित सत्यता लोप हुन गई, मै खाउँ मै लाउ मै मोज मजा गरु भन्ने स्वार्थपरक भाव जागृत हुन पुग्दछ । डाहा र प्रतिधोधको भावना जागृत हुन्छ ।
प्रतिशोधले एकअर्कामा आरोप प्रत्यारोपको अवस्था सिर्जना हुन्छ । यो राम्रो पक्ष होइन जहाँ स्वार्थ पैदा हुने अवस्था हुन्छ, त्यहाँ सेवा र समर्पण अधुरो हुनु पुग्दछ । व्यवहार र चिन्तनमा अहंकार पैदा हुन पुग्दछ । अहंकाले मानवीय चेतनामा कुप्रवृत्ति जागृत हुन पुग्दछ ।
जब मानिसमा अहंकारकोबिच झागिने अवस्था हुन्छ तब त्यहाँ उसको हरेक कर्ममा स्वार्थ जागृत भई आचरण र व्यवहारमा घमण्ड उत्पन्न भई मानिस स्वार्थी बन्न पुग्दछ । स्वार्थले प्रेरित कर्म गर्नु भनेको मनभित्र हलचल पैदा गर्नु हो र मनमा अशान्ति बढाउनु हो ।
जुन अशान्तिको हलचलले विचार र व्यवहार गलत कर्मतर्फ अग्रसर भई मानिस स्वयं पतित बन्नु पर्ने अवस्था हुन पुग्दछ । यस्तो दास परिस्थितिको चेतना जागृत हुनु भनेको गलत चिन्तनतर्फ अगाडि बढनु हो । यस्तो अवस्थामा मानिस जानेर वा नजानेर पनि गल्तीमाथि गल्ती गर्दै जान्छ । ऊ न त ढुक्कसँग आफूलार्ई सकारात्मक चिन्तनको रुपमा स्थापित गर्न सक्छ ।
न त उसको जीवनचर्या नै सुखमय हुन पुग्दछ । उ हर हमेसा एउटै चिन्तनभित्र गुम्सिरहन्छ । सधैं अरुप्रति प्रतिशोधको चिन्तन जागृत भइरहन्छ । यस्तो परिस्थिति जब मानव मनमा जागृत हुन पुग्दछ तब उसको विचार र कर्ममा पनि हलचल पैदा हुन पुग्दछ । अनि ऊ आफ्नो विचारबाट विचलित भई अरुको विचार र निर्देशनमा चल्न बाध्य हुन्छ ।
ऊ स्वयं योग्य हुँदा हुँदै पनि ऊ आफैंलार्ई अयोग्य घोषित गर्नै पुग्दछ । जब अर्काले अह्राएको कर्मप्रति उसको कर्म प्रधान भएर अगाडि आइपुग्छ, त्यसपछि उसभित्रको सत्यता पनि स्वत लोप हुँदै जान्छ । हिँड्दा घुम्दा बस्दा र कर्म गर्दा ऊ आफूलार्ई अरुको निर्देशनलार्ई पर्खनु पर्ने अवस्था रहन्छ ।
त्यस अवस्थामा न त उसले नयाँ कुराको सिर्जना गर्न सक्षम हुन्छ न त अरुकै मन जित्ने गरी आफूलार्ई प्रदर्शन गर्न सक्षम हुन्छ । मालिकको निर्देशन नै उसको लागि एकमात्र सहारा बन्न पुग्दछ । यसरी अरुको देखासिकी र अरुको इशारामा रमाउन चाहने व्यवहारले मानिस कहिले पनि परिपक्व बन्न सक्दैन ।
उसको विचारमा सधैं ताल्चा लागिरहेको हुन्छ । यति मात्र होइन ऊ सधैँ असन्तुष्टिको बादलभित्र गुम्सिरहन्छ । यस किसिमले आफू आफैप्रति असन्तुष्टि बन्नुको मतलब मानिसले आफूलार्ई दुःख सागरमा धकेल्नु पनि हो ।
सन्तोषी सदा सुखी असन्तोषी सदा दुःखी, यो युक्ति त्यसै भनिएको होइन । क्षणभरमै आउने हजारौं विचारलाई छटनी गर्न नसक्नु सही र सत्य मार्ग पहिल्याउने मनको पवित्र विचारलार्ई धमिल्याउनु, आफू स्वयं गलत बन्नु हो । यस्तो प्रवृत्तिले मानिसको विचार र दृष्टिकोण र आचरणमा नकारात्मक भाव जागृत भई अन्तत्वगत्वा त्यो मानिसको जीवन थाकेर लखरतान परेको पशु समान हुन पुग्दछ ।
कर्तव्यबाट विमुख भई समाजको कलंक बन्न पुग्दछ । श्रद्धा र विश्वास उसको कल्पनादेखि बाहिर बन्न पुग्दछ । क्षणिक आनन्द प्राप्ती सबै हो भनी ठान्नु आफैलाई बर्बादीतर्फ धकेल्नु हो । समाजको विश्वास भरोसा टुट्नु भनेको जीवित छँदै अध्यारोमा होमिनु हो ।
त्यसैले अरुको कुनै पनि कुरा चाहे त्यो धनसम्पत्ति होस्, कर्म व्यवहार होस्, प्रतिष्ठा होस्, त्यसको रतिभर चिन्ता नगरी आफूसँग भएको बुद्धि र विवेकलार्ई निरन्तर सकारात्मक चिन्तनतर्फ गतिशील हुने स्वच्छ र पवित्र विचार प्रवाह गरी आफ्नो पहिचान बढसुन सक्नु पर्दछ ।
नयाँ विचारले सिर्जिएका कर्मतर्फ आफूलार्ई परिचालन गर्न सक्नुपर्दछ । समय र परिस्थिति अनुकूल आफूलाई समायोजन गर्दै, सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया, भन्ने पवित्र विचार सम्प्रेषण गर्दै जीवनको गतिशीलतालार्ई गति दिनुपर्दछ । आफूले आफैंलार्ई सत्य पथमा लैजाने कोशिस गर्नुपर्दछ ।
सत्यकर्म चाहे त्यो सामाजिक आर्थिक औद्योगिक सांस्कृतिक लगायत विविध क्षेत्रमा किन नहोस् सबैमा लगनशील र इमान्दार भई जीवनको उद्देश्यलार्ई निरन्तर गतिशील बनाउनुपर्दछ । अरुलार्ई हैन आफूले आफैलार्ई हेरी आफ्नै मनभित्रको प्रतिभा उजागर गरी कर्मशील योद्धा बन्नु पर्दछ ।
कर्मशील जीवनशैली बन्नु भनेको आफूलार्ई सन्तुष्टिको सागरमा डुबुल्की मार्ने आचरण प्रदर्शन गर्नु हो । तसर्थ ठूलाठूला ऋषिमुनि र विद्वानहरुले उनीहरुले आफ्नो जीवन चरित्र कसरी गतिशील गराएका थिए । सोच र चिन्तनमा सकारात्मक भाव जागृत गरी कसरी उनीहरु सतपात्र बनेका थिए त्यसको अध्ययन विश्लेषण गरी आफूलाई सच्चा पहरेदार बनाउनु पर्दछ ।
जीवनको पूर्वार्धदेखि नै संयम र धैर्यशील रही अरुको सम्मान र आदर गरन सक्नुपर्दछ । पद र प्रतिष्ठा सधै रहँदैन, समय सधै एकनाश हुँदैन भन्ने सोच वृद्धि गरी आफू सेवामुखी बन्नु पर्दछ । सोचमा सकारात्मक चिन्तन बढाउँदै सबै मानिस सृष्टिका सर्वोत्कृष्ट रचना हुन्, प्रत्येकमा सत्यभाव छ, उनीहरू सत्यमा आधारित कर्म गर्न यस पृथ्वीमा आएका हुन्, भन्ने सोच गरी आफूलार्ई परिचालन गर्नुपर्दछ ।
विविध विचारको कारण थोरै समयको लागि भड्किए पनि मानिसको अन्तिम गन्तव्य भनेको सत्य र सुविचार हो भन्ने ठानी कर्तव्य पथमा हिड्न कोशिस गर्नुपर्दछ । किनकि जीवन यस्तो सागर हो जो देख्दामा भरिए जस्तो देखिए पनि यहाँ अटाउने ठाउ धेरै हुन्छ । यस सत्यलाई ग्रहण गर्न सक्नु बुद्धिमानी हुन्छ । इच्छा पूर्ण गर्ने ध्याउनमा आफ्ना सुकर्मलार्ई परित्याग गर्नु हुँदैन ।
किनकी सबै कुरामा निपुण हँुदैनन् । जुन दिन मानिसले आफूलार्ई पूर्ण ठान्दछ त्यसै दिनदेखि उसभित्रको अहंकार र घमण्ड छताछुल्ल भएर बाहिर आउँछ । त्यसैले पद, प्रतिष्ठा, धन, सम्पत्ति र ऐश्वर्य मात्र जीवनको सन्तुष्टि होइन । जीवनको सन्तुष्टि भनेको अन्तर आत्माभित्रको शान्तिलार्ई पहिचान गर्न सक्नु हो । किनकि मानिस जति चाहन्छ त्यति नै उसको प्राप्तिको आशा बढिरहन्छ । उसको लोभी र पापी मन कहिले भरिन्न ।
ऊ घमण्ड र अहंकाले झन् मातिदै जान्छ । अन्तमा ऊ आफै विक्षिप्त भई आफै समाप्त पनि हुन्छ । जग बिनाको घरझैँ ऊ कमजोर हुन्छ र उनका विचलित मन सधैं धरमराइरहन्छ । तसर्थ जीवनको बलियो आधार भनेको आफूले आफैलार्ई पढ्नु हो । मनको पवित्र भावलार्ई पखाली उज्यालो भविष्यको गति निर्धारण गर्नु हो ।
यो कुरालार्ई विश्वासको तराजुमा राखेर जीवनको बलियो आधार तयार गर्नुपर्दछ । विश्वास नभएको संसार सुन्ने बराबर हुन्छ । त्यसैले जीवनयापनको बलियो आधार विश्वास र समर्पण भएकोले यस सत्यलार्ई बुझी आफैलार्ई पहिचान गर्न सक्नु नै जीवनको सार्थकता हो । चेतना भया ।