सृष्टि बिग्रिएको छैन, दृष्टि बिग्रिएको छ

एकराज शर्मा अधिकारी

नेपाल बिग्रेको छैन हाम्रो दृष्टि बिग्रेको छ । जस्तो दृष्टि हुन्छ, त्यस्तै सृष्टि हुन्छ । हाम्रो इतिहास हेर्ने बानी छैन । वर्तमानलाई मात्र हेर्ने बानी छ । पुराना कुरा पनि हेर्नुपर्छ, सुन्नु पर्छ । मृत्युको संघारमा परेका मानिस झुटो बोल्दैनन् । उनीहरु कसैसँग डराउँदैनन् ।

बुढापाकाको कुरा पनि सुन्नु पर्छ । मानिसको जिन्दगी रहर लाग्दो फूल जस्तो मात्र होइन । काँडा पनि हो । जिन्दगीको लक्ष्य विकास मात्र होइन, अत्यधिक विकासले विनाश पनि निम्त्याउँछ । हो, जिन्दगीमा मानिसलाई मानसिक सुख पनि चाहिन्छ, शारीरिक सुख पनि चाहिन्छ । मानिसले प्रायः आफ्ना कमी कमजोरीलाई लुकाएर राख्ने कोशिस गर्छन् ।

तर, ती कमी कमजोरी धेरै समयसम्म कसैले पनि लुकाएर राख्न सक्दैन । आफ्नो कमजोरीलाई लुकाउनु आफूले आफैलाई धोका दिनु हो । हरेक मानिसले आफ्नो कमजोरीलाई स्वीकार्नु पर्छ । मानिसको दृष्टिकोण सबैको एउटै हुँदैन । फरक–फरक हुन्छ । विचार फरक–फरक हुन्छ । भावना फरक–फरक हुन्छ ।

एउटै आमाले जन्माएका छोराछोरी पनि समान हुँदैनन् । एकै हातका औँला पनि समान हुँदैनन् । विकसित देशका मानिसले आफ्नो वौद्धिक सत्तालाई स्वीकार गरेर आफ्नो रुची अनुसारको काम गरेर सफलता हासिल गरेका छन् । आफ्नो क्षमताले भ्याएसम्मको काम गर्दछन् । तर, हाम्रो देशमा क्षमता र योग्यता नभएका मानिसहरु पनि सर्सो फोर्सेको आधारमा ठुलो पदमा पुग्छन् । ठीक निर्णय दिन नसकेर छटपटाउँछन् ।

एउटा मुद्दा अदालतमा परे भने त्यो मुद्दा छिन्न २०औँ वर्ष लाग्छ । यो कार्य क्षमताको अभाव हो । यस्ता निर्णयकर्ताहरुले संस्थाहरुलाई डुबाउँछन् । आफू पनि डुब्छन् । देखासिकीको भरमा आफ्नो क्षमताले नभ्याउने काम अघि सर्नु हुँदैन । मानिसले कुनै पनि काम सफल पार्न उद्योग गरेर मात्र हुँदैन ।

मानिसको भाग्य पनि चाहिन्छ । पारिवारिक सहयोग पनि चाहिन्छ, आफन्ती छिमेकी इष्टमित्रको सहयोग पनि चाहिन्छ । हाम्रो देशलाई धेरै देशले सहयोग गरेका छन् । यो सहयोग गरेको धन देशको उद्योगमा लगाउन सक्नुपर्छ । साचो भन्ने हो भने अहिले हाम्रो देशको इज्जत घट्दै गएको छ ।

आजभन्दा २० वर्ष अघि नेपालको इज्जत विश्वमा फैलिएको थियो । अहिले हामी नेपालीको शीर उच्च छ भनेर मात्र गर्भ गर्न सक्दैनौँ । विश्व धेरै अगाडि बढेको छ । नेपालीहरु पनि अरु कुरामा अगाडि छन् । हार मार्ने अवस्था छैन । मानिसको हात–हातमा संसार छ । इन्टरनेट छ । नेपालीले संसार देखेको छ । गाउँ–गाउँमा सहकारी बैंक खुलेका छन् ।

उद्योग गर्न चाहने मानिसलाई प्रशस्त मात्रा छ, मौका छ, सकारात्मक सोच लिनु पर्छ । सार्वभौमिकता जनताको हातमा छ । आज देश बिग्रिए पनि भोलि देश सुधार हुन सक्छ । केवल राजनीतिक अस्थिरता छ । राजनीतिक अस्थिरता, शान्ति सुरक्षा बलियो हुने हो भने देश बन्न बेर लाग्दैन । सबै दिन यस्तै अन्योलमा रहँदैन ।
प्रजातान्त्रिक व्यवस्थामा जनतामा राजनीतिक चेतना हुन्छ । नेताहरुमा पनि वौद्धिक विकास हुन्छ । फटाहाहरु, भ्रष्टाचारहरु सधै रहने छैनन् । हाम्रो दर्शनले बाटो बिराएको छैन । हाम्रो दृष्टि बिग्रिएको हो । सृष्टि बिग्रिएको छैन । नेपाल बिग्रेको छैन । हिमाल उस्तै छ, नदीनाला, ताल, झरणाहरु उस्तै छन् । देवालय उस्तै छन् ।

हाम्रा हिमालयमा लालीगुरास, चौरी गाई, जंगली जनावर अझै बढेका छन् । प्राकृतिक सुन्दरता उस्तै छ । साहित्य, संगीत, कलाको विकास भएको छ । जातिपाति भेदभाव हटेको छ । सञ्चार क्षेत्रमा पनि सबै ठाउँमा यातायात खुलेको छ । घर–घरमा बिजुली पानी पुगेका छन् । अब दुर्गम भन्ने ठाउँ नै छैन ।

चौविस घण्टामा नेपालको कुना–कुनामा पुग्न सकिन्छ । सरकारी कामकाजमा नेपाली राष्ट्र भाषा चलेकै छ । हाम्रो कमजोरी हो, माग्ने बानी । हामी मागेर विदेशबाट ऋणा ल्याएर कहिल्यै बन्न सक्दैनौँ । अर्थतन्त्रलाई बलियो बनाउने हो भने आफ्नो काम आफै गर्ने बानी बसाल्नुपर्छ । सृष्टि बिग्रेको छैन, दृष्टि मात्र बिग्रेको छ ।