प्रिया स्मृती गजमेर
देउखुरी, २७ साउन । लमही नगरपालिका–३, कान्छी टोल निवासी ७४ वर्षीया देउकुमारी चौधरीको जीवन शान्त देखिए पनि पीडाले भरिएको छ । श्रीमान्को मृत्युपछि छोराको घरमा बस्दै आएकी देउकुमारीले साँझबिहान आफैँले खाना पकाएर खाने गर्दै आएकी छिन् ।
बुढ्यौली उमेरमा शारीरिक रूपमा कमजोर भए पनि भान्सामा दाउराको आगो बालेर खाना पकाउनु बाध्यता थियो । ‘तातो–चिसो पानी बिस्तारामा लग्दिने उमेर हो तर अझै पनि आगोमै खाना पकाउनुपर्ने बाध्यता थियो’, उनले भनिन्, ‘उमेर बढ्दै जाँदा स्वास्थ्यले साथ दिँदोरहेनछ, अहिले त खाना पकाउँदा धुवाँले असर गरे जस्तो लाग्छ । धेरै बेर नजिक बस्न सक्दैन ।’ धुवाँका कारण खोकी लागे पनि घरको कमजोर आर्थिक अवस्थाका कारण ग्यास चुल्यो किन्न नसकेको उनी बताउँछिन् ।
घरको कमजोर आर्थिक अवस्थाका कारण चुलो किन्न नसकेकी देउकुमारीलाई सोमवार लमही नगरपालिकाले करिब ६ हजार बराबरको सुधारिएको फलामे चुलो सहुलियतमा सहयोग गरेको छ । सुधारिएको चुलो पाएपछि देउखुरीलाई धुवाँमा खाना पकाउनुपर्ने बाध्यता हट्ने भएको छ । देउकुमारी जस्तै लमही–३ कान्छी टोलमा ७३ वर्षीया सुभागी चौधरीको घर छ ।
सुभागीको जीवनमा एक समय खुसीका दिन थिए तर श्रीमान्को निधनसँगै सुभागीको जीवनमा दुःखका दिन सुरु भए । छोरासँग बस्ने गरेकी सुभागीले खाना आफैँ पकाउँछिन् । भान्सा कोठामा रहेको पुरानो माटोको चुलोमा खाना पकाउँदै आएकी उनले धुवाँले आँखा रातो हुने गरेको बताउँछिन । ‘ग्यास चुलो भए त सजिलो हुन्थ्यो, छैन, दाउरा, गुइठाकै भरमा खाना पकाउनुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘दाउरा, गुइठाका भरमा खाना पकाउँदा धुवाँ हुन्छ, खोकी लाग्छ ।’
उमेरसँगै हात–खुट्टा कमजोर हुँदै गएकाले कसरी दाउरा चिर्ने र खाना पकाउने भन्ने समस्याले सताउन थालेको बताउने सुभागीले पनि सुधारिएको चुलोे पाउँदा खुसी भइन् । सोमवार देउकुमारी र सुभागी जस्तै ६१ जना एकल महिला, भूमिहीन, अपाङ्ग, महिला घरमुली भएका परिवार, विपन्न दलित परिवारले सुधारिएको फलामे चुलो पाएका छन् । चुलो पाउँदा उनीहरू खुसी भएका छन् ।
हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणको लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ चुलो कार्यक्रम अन्तर्गत लमही–३ मा सुधारिएको फलामे चुलो वितरण गरिएको छ । ८० प्रतिशत नेपाल सरकार (हरित जलवायु कोष), १५ प्रतिशत सिएसआरसी नेपाल र ५ प्रतिशत उपभोक्ताको सहलगानीमा सुधारिएको चुलो वितरण गरिएको लमही नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले बताइन् । उनले बाँडिने तीन हजार चेलोमध्ये पहिलो चरणमा एकल महिला, भूमिहीन, अपाङ्ग, महिला घरमुली भएको परिवार, विपन्न दलित परिवार गरी पाँच सय ५० घरपरिवारलाई यो चुलो वितरण गरिने बताइन् ।
चुलो वितरण गर्दै लमही नगरपालिका प्रमुख जोगराज चौधरीले धुवाँबाट बच्न सुधारिएको चुलो आवश्यक रहेको बताए । सुधारिएको चुलोले दाउराको खपत घटाउने, चुलोको कार्यदक्षता बढाउने र घरभित्रको धुवाँ कम गर्ने भएकाले सुधारिएको आधुनिक चुलो प्रयोग गर्न सुझाव दिए । उपप्रमुख लक्ष्मी योगीले देश आर्थिक सङ्कटको अवस्थामा गुज्रिरहेका बेला खाना पकाउन विदेशबाट आयात हुँदै आएको एलपी ग्यासको प्रयोग घटाउन सुधारिएको चुलो प्रभावकारी हुने बताइन् ।
लमही नगरपालिका–३ का वडाध्यक्ष मनोजकुमार चौधरीले सुधारिएको चुलो प्रयोगले दाउराको खपत घटाउने, खाना पकाउने समय बचत गर्ने र घरभित्रको धुवाँ कम हुने भएकाले यसले वातावरणीय र स्वास्थ्य दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने बताए ।