पाँच वर्षपछि छ नेताको कारबाही फुकुवा

गोरक्ष समाचारदाता
दाङ, २७ साउन । पार्टीको अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच वर्ष अघि निष्कासनमा परेका नेपाली कांग्रेस पश्चिम दाङका छ नेताको कारबाही फुकुवा भएको छ ।

शान्तिनगर गाउँपालिका–५ का हेमन्तकुमार योगी, शान्तिनगर–२ का तारा वली, शान्तिनगर–५ का निमबहादुर बस्नेत, दंगीशरण गाउँपालिका–६ का बालाराम डाँगी, दंगीशरण–५ का सुनिल न्यौपाने र तुलसीपुर उपमहानगरपालिका–३ का मोहन गुरुङ पार्टीमा पुनः सक्रिय भएका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले साउन २२ गते दाङ जिल्ला पार्टी सभापति शंकरप्रसाद डाँगीलाई पत्राचार गर्दै कारबाही फुकुवा गरिएको जानकारी दिएका छन् । पाँच वर्षको कारबाही अवधि पूरा गरेर गत असार १० गते पार्टीमै रही काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनीहरूले केन्द्रीय अनुशासन समितिमा निवेदन दिएका थिए । समितिले त्यसलाई स्वीकृति दिँदै कारबाही हटाएको हो ।