टेकबहादुर पुन
देउखरी, २७ साउन । लमही नगर क्षेत्रमा रहेका केही सस्थागत विद्यालयले कक्षा १२ को नतिजामा आफ्नो प्रतिष्ठा जोगाउन विद्यार्थी फेलको सङ्ख्या लुकाएर गलत तथ्याङ्क सार्वजनिक गरेको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत साउन १९ गते कक्षा १२ को नतिजा प्रकाशन गरेसँगै लमही नगरपालिका शिक्षा शाखाले पालिका अन्तर्गतका विद्यालयको नतिजा सार्वजनिक गरेको थियो ।
जुन तथ्याङ्क शिक्षा शाखालाई विद्यालयले उपलब्ध गराएका थिए । विद्यालयमा अध्ययनरत र उत्तीर्ण विद्यार्थीका सङ्ख्या सम्बन्धित विद्यालयले पठाएपछि शिक्षा शाखाले साउन २० गते नगर क्षेत्रका विद्यालयबाट उत्तीर्ण विद्यार्थीको सङ्ख्या सार्वजनिक गरेको थियो तर सार्वजनिक नतिजा गतल सावित भएपछि शिक्षा शाखाले साउन २६ गते भएको पुनः दोस्रो नतिजा सार्वजनिक गरेको छ । दोस्रो पटक नतिजा सार्वजनिक गरेसँगै विद्यालयको उत्तीर्ण सङ्ख्यामा फरक देखिएको छ ।
साउन २० गते प्रकाशित नतिजामा लमहीमा रहेको ज्योतिष्मति विद्यापीठ पहिलो स्थानमा थियो । ३४ जना विद्यार्थीमध्ये ३२ जना उत्तीर्ण हुँदै ९४ दशमलव १२ प्रतिशतसहित पहिलो स्थानमा थियो तर २६ गते सार्वजनिक नतिजामा ज्योतिष्मती विद्यापीठ ७६ दशमलव ४७ प्रतिशत अर्थात् २६ जना मात्र उत्तीर्ण छन् । ज्योेतिष्मतीले छ जना अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्णसहित गलत तथ्याङ्क टिपाएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख भवानी गिरीले बताइन् ।
ज्योतिष्मतीसँगै रोजी बड्स बालबाटिकाको नतिजा पनि परिवर्तन भएको छ । शिक्षा शाखाले सार्वजनिक गरेको पहिलो नतिजामा दुई सय ५८ विद्यार्थीमध्ये एक सय ७८ अर्थात् ६८ दशमलव ९९ प्रतिशत उत्तीर्णसहित तेस्रो स्थानमा थियो तर सोमवारको नतिजा अनुसार रोजी बड्सबाट एक सय १३ जना अर्थात् ४३ दशमलव आठ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । रोजीले ६५ जना उनुत्तीर्ण विद्यार्थी पास भएको गलत तथ्याङ्क दिएको शाखा प्रमुख गिरीले बताइन् ।
गोरखा मावि लमहीको नतिजामा एक जना विद्यार्थी सङ्ख्यामा फरक परेको छ । पहिलो नतिजा अनुसार गोरखा मावि लमहीमा अध्ययनरत तीन सय ११ जना विद्यार्थीमध्ये दुई सय ४५ अर्थात् ७८ दशमलव ७८ प्रतिशत पास हुँदा दोस्रो स्थानमा थियो तर पछिल्लो नतिजा अनुसार दुई सय ४४ अर्थात् ७७ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा पहिलो भएको छ । लमही नगर अन्तर्गतका सामुदायिक तथा संस्थागत गरी १२ वटा विद्यालय कक्षा १२ को परीक्षामा समावेश थिए ।
तीन विद्यालयबाहेक अन्यमा विद्यालयको नतिजामा त्रुटि नभेटिएको शाखा प्रमुख गिरीले बताइन् । लमही नगरपालिका शिक्षा शाखा प्रमुख गिरीले विद्यालयका प्रिन्सिपलले गलत तथ्याङ्क टिपाएकाले नगरले सार्वजनिक गरेको नतिजा गलत हुन गएको बताइन् । विद्यालयले लेजर उपलब्ध नगराएपछि शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दाङबाट तथ्याङ्क लिई पुनः दोस्रो नतिजा सार्वजनिक गरेको बताइन् । ज्योतिष्मती विद्यापीठका प्रिन्सिपल नारायण भुसालले शिक्षा शाखाले सार्वजनिक गरेको पहिलो नतिजमा पुरक विद्यार्थीसहितको तथ्याङ्क भएको बताए ।