शिक्षक बन्न चाहनेका लागि स्ववियु सारथी

गोरक्ष समाचारदाता
दाङ, २६ साउन । घोराहस्थित महेन्द्र बहुमुखी क्याम्पस शिक्षा सङ्काय तेस्रो वर्षमा अध्ययनरत सोनु बुढा मगर शिक्षक सेवा प्रवेशका लागि निःशुल्क तयारी कक्षा लिइरहेकी छिन् ।

शिक्षक सेवा अध्यापन अनुमतिपत्रका लागि तयारी कक्षा लिने रहर भए पनि आर्थिक अभावका कारण लिन नपाएकी बुढाले साउन महिनादेखि स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस घोराही (स्ववियु)ले तयारी कक्षा सञ्चालन गरेपछि अवसर जुरेको बताइन् ।

अहिले नियमित रूपमा कक्षा लिइरहेकी विद्यार्थी बुढाले भनिन्, ‘व्यक्तिगत रूपमा तयारी गरिरहे पनि आर्थिक अवस्था कमजोर भएका कारण कक्षा लिन पाएको थिएन । स्ववियुले क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क कक्षा सुरु गरेपछि पढ्ने मौका मिलेको छ ।’

बुढा जस्तै महेन्द्र बहुमुखी क्याम्पसमै शिक्षा सङ्कायमा दोस्रो वर्षमा अध्ययनरत दीपक खड्काले पनि शिक्षक सेवा प्रवेशका लागि तयारी गरिरहेका छन् । आफ्नो नियमित अध्ययनसँगै शिक्षक सेवा प्रवेश गर्न लाइसेन्सको तयारी गरिरहेको समयमा स्ववियले सञ्चालन गरेको निःशुल्क तयारी कक्षा आफ्ना लागि अवसर भएको बताए ।

आर्थिक कठिनाइका कारण बजारमा डेरामा बस्न समस्या भइरहेको बेला छुट्टै तयारी कक्षा लिन पैसा नभएको भन्दै विद्यार्थी खड्काले भने, ‘बजारमा शिक्षक सेवा आयोगको तयारी कक्षाका लागि १० देखि १२ हजारसम्म शुल्क लिने गरिन्छ । त्यो पैसा नहुँदा पढ्न जान पाएको थिएन तर स्ववियुले तयारी कक्षा सञ्चालन गरेपछि यो अवसर मिलेको छ ।’ किताब पढ्दा नबुझेका कुरासँगै अध्ययनका लागि कसरी ध्यान दिने भन्ने तयारी कक्षामा प्रशिक्षकबाट सिक्न पाएको उनी बताउँछन् ।

बुढा र खड्का मात्र नभई स्ववियुले क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि सञ्चालन गरेको निःशुल्क शिक्षक सेवा अध्यापन अनुमतिपत्रका लागि क्याम्पसमा स्नातकोत्तर तह अध्ययन गर्ने दुई सय ५० बढी विद्यार्थीले तयारी कक्षा लिइरहेको स्ववियु सभापति दीपेशकुमार डिसी बताउँछन् ।

युवालाई शिक्षा क्षेत्रमा लाग्न प्रेरितसँगै स्वदेशमै बस्ने वातावरण मिलाउने र न्यून आय भएका विद्यार्थीलाई राहत दिन स्ववियुले आफ्नै खर्चमा शिक्षा क्षेत्रका विज्ञबाट तयारी कक्षा सञ्चालन गरेको बताए । स्ववियु सभापति डिसीले भने, ‘क्याम्पसमा स्ववियु गठन भएपछि विद्यार्थी हकहितसँगै रचनात्मक कार्य गर्ने भन्ने निर्णय गरिएको र स्वही अन्तर्गत अहिले शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेका छौ ।’

स्ववियु सभापति डिसीका अनुसार क्याम्पसमा बिहान र दिवासत्रमा अध्ययनरत विद्यार्थीलाई समय मिल्ने गरी साँझ ५ देखि ६ः३० बजेसम्म करिब डेढ घण्टाको कक्षा सञ्चालन गरिरहेको तथा सहभागी विद्यार्थी सङ्ख्या धेरै भएकाले दुई वटा कक्षा सञ्चालन गर्ने तयारीमा रहेको बताउँछन् ।

क्याम्पसमा स्नातकोत्तर तह अध्ययन गर्दै गरेका विद्यार्थीमा शिक्षक सेवा प्रवेशका लागि सञ्चालन गरिएको तयारी कक्षामा देखिएको सक्रिय सहभागिताले थप उर्जा मिलेको प्रशिक्षकसमेत रहेका शिक्षा विकास तथा समन्वय एकाइ दाङका शिक्षा अधिकृत तिलकराम बन्जाडे बताउँँछन् । विद्यार्थीलाई पढाउँदै आएका शिक्षा अधिकृत बन्जाडेले भने, ‘युवा जनशक्तिः बिदेसिँदा शिक्षक पाउन कठिन हुने हो कि भन्ने अवस्थामा शिक्षक सेवा प्रवेशका लागि विद्यार्थीमा राम्रो उत्सह देखिएको छ ।’ जिल्लामा पछिल्लो समय गणित, विज्ञान, अङ्ग्रेजीलगायतका विषयका शिक्षक पाउन समस्या भइरहेको छ ।

स्ववियुको पहलमा शिक्षक सेवा प्रवेशका लागि सञ्चालन भएको तयारी कक्षा राम्रो कामको सुरुवात भएको महेन्द्र बहुमुखी क्याम्पस घोराहीका प्रमुख नारायण पन्थी बताउँछन् । तयारी कक्षाले विद्यार्थीमा नयाँ कुराको ज्ञानसँगै उत्तर लेखन शैलीमा विकास हुने र यसले स्ववियु र क्याम्पसबिचको सम्बन्ध सुधार गर्दै शैक्षिक सुधारमा सहयोगी भूमिका खेल्ने उनले बताए ।