गोरक्ष समाचारदाता
तुलसीपुर, २६ साउन । थारू समुदायका चाडपर्वमा केही विकृति भित्रिएको भन्दै सचेत भएर संस्कृति संरक्षणमा लाग्नुपर्नेमा थारू अगुवाहरूले जोड दिएका छन् । थारू विद्यार्थीका हक अधिकारका लागि आयोजना गरिएको छलफल तथा अष्टिम्की र अट्वारी पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालको अत्यधिक प्रयोग बढ्दै गएकाले यसलाई सही ढङ्गले सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीले अष्टिम्की र अट्वारी पर्वका सन्दर्भमा देखिएका विकृति सच्याउँदै मौलिक संस्कृति जोगाउन सबै लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरीले अष्टिम्की महिलाको र अट्वारी पुरुषको पर्व भएकाले यी दुवै चाडको पौराणिक, सांस्कृतिक र धार्मिक महत्वबारे जानकारी गराउँदै थारू समुदायका लागि थुप्रै अवसर रहेकाले विद्यार्थीलाई अध्ययनमा लगनशील भएर लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका कार्यसमिति सभापति सुरेश हमाल, तुलसीपुर उपमहानगरपालिका–१२ का अध्यक्ष खुसीराम चौधरी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, थारू कल्याणकारिणी सभा तथा थां पत्रकार संघ दाङका सल्लाहकार लक्ष्मीमान चौधरी, नेपाल विद्यार्थी संघ महाधिवेशन प्रतिनिधि सन्तोष चौधरी, थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नं. ३ का अध्यक्ष कल्पना चौधरी, नेपाल थारू संघ दाङकी सदस्य मीना चौधरी, विद्यार्थी जेएन चौधरीलगायतका वक्ताले संस्कृति संरक्षणमा सबैको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न तहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी वविता चौधरी, पूजा चौधरी र रुपेश चौधरीलाई सम्मानित गरिएको थियो । नेपाल थारू संघ तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा थारू कलाकार मञ्च दाङको सहआयोजनामा कार्यक्रम भएको थियो । नेपाल थारू संघ तुलसीपुर नगर समितिका अध्यक्ष पुरन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इन्द्र चौधरीले गरेका थिए । कार्यक्रममा अष्टिम्कीसम्बन्धी थारू गीत, नृत्य प्रस्तुत गरिएको थियो ।