विद्यालय सुधारमा अभिभावकको उत्तरदायित्व

यादव गिरी

शिक्षा समाजको मेरुदण्ड हो भन्ने भनाइ केवल सन्दर्भमा सीमित रहने वाक्य बन्न थालेको आजको यथार्थ अत्यन्त पीडादायी छ । नेपालका अधिकांश विद्यालयको भौतिक स्वरुप हेर्दा शिक्षाको उज्यालो सपना देखिन्छ, तर भित्र पस्दा त्यो सपना धूमिल छायाँमा परिणत भएको देखिन्छ ।

फलस्वरुप शैक्षिक जगत् गहिरो अस्तव्यस्तता, बौद्धिक निराशा, अनुशासनहीनता र समग्र शैक्षिक उद्देश्यबाट विचलनको फन्दामा परिरहेको यथार्थ हाम्रो सामु उपस्थित छ । वर्तमानमा शिक्षा प्रणाली जसरी कागजी सुधार र औपचारिक कार्यक्रमको नाममा सीमित भइरहेको छ, त्यसले मुलभूत रुपान्तरण सम्भव बनाउँदैन ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको नतिजा लगातार खस्कँदो क्रममा छ, उनीहरुमा पठन संस्कारको अभाव छ, जिम्मेवार अभिभावकत्व हराउँदै गएको छ, र शिक्षकमा आफ्नो धर्म र दायित्वप्रतिको प्रतिबद्धता क्षीण हुँदै गएको छ । यस्ता सूचक विद्यालय शिक्षा मात्र होइन, समग्र समाजको भविष्यप्रति प्रश्नचिन्ह खडा गरिरहेका छन् ।

शिक्षकको मनोवृत्तिमा घट्दो समर्पण, विद्यार्थीमा बढ्दो प्रविधिको कुलत, र अभिभावकमा शिक्षाप्रतिको उदासीनता, यी सबै आपसमा जटिल सम्बन्ध बोकेका कारक हुन्, जसले विद्यालयलाई सिकाइ केन्द्रको सट्टा केवल उपस्थितिको ठाउँमा परिणत गरिदिएका छन् । यस्ता विद्यालय अब परिणाममूलक शिक्षाको प्रतिक बन्नुको सट्टा प्रशासनिक र वित्तीय बोझ बन्न पुगेका छन् । स्मरण रहोस्, विद्यालय भनेको केवल पठनपाठनको ठाउँ मात्र होइन, यो त सामाजिक संस्कार, अनुशासन, मूल्य र भविष्य निर्माणको प्रयोगशाला हो । यदि यही प्रयोगशालामा प्रयोग असफल भइरहेछ भने त्यसको असर सम्पूर्ण पुस्ता, संस्कृति, अर्थतन्त्र र सामाजिक संरचनामा दीर्घकालीन रुपमा पर्ने छ ।

विद्यालयको गिरावट केवल एक संस्थाको विफलता होइन, त्यो त राष्ट्र निर्माणको मूल आधारको क्षरण हो ।यो अवस्थाबाट बाहिर निस्कनका लागि केवल गुनासो, आलोचना वा भण्डाफोर प¥याप्त हुँदैन । हामी सबै शिक्षक, विद्यार्थी, अभिभावक, नीति निर्माता र समाज गम्भीर आत्मचिन्तनमा जानु पर्ने समय यही हो । हामीले ‘विद्यालय’ शब्दसँग जोडिएका मूल्य, उद्देश्य र मान्यतालाई पुनः परिभाषित गर्न जरुरी छ ।

विद्यालय सुधार भनेको भवन रंग्याउने काम होइन, त्यो त चेतनाको रंग चढाउने क्रान्ति हो । शिक्षकलाई केवल तालिका भर्ने कर्मचारी बनाउने होइन, राष्ट्र निर्माता बनाउने वातावरण चाहिन्छ । विद्यार्थीलाई केवल पाठ्यक्रमको कैदी होइन, विचारको सृजक बनाउने अभ्यास आवश्यक छ । अभिभावकलाई केवल शुल्क तिर्ने पक्ष होइन, साक्षर भविष्यको सहयात्री बनाउने खाँचो छ । यस लेखको मूल उद्देश्य पनि यही हो– विद्यालय सुधारको यात्रामा अभिभावकको भूमिका, दायित्व र सम्भावनालाई उजागर गर्नु र वर्तमान संकटमा प्रेरणा, समर्पण र सार्थक प्रयासको चेतना जगाउनु ।

यदि हामी आज सचेत भएनौं भने, भोलिका पुस्ताले केवल शिक्षाको प्रमाणपत्र पाउने छन्, तर शिक्षाको सार गुमाउने छन् त्यसैले, यो केवल शिक्षा सुधारको बहस होइन, यो त राष्ट्रिय पुनर्जागरणको आह्वान हो । जहाँ विद्यालय हरेक परिवर्तनको केन्द्रविन्दु बन्न सकोस् ।

अभिभावको भूमिका तथा दायित्व

विद्यालय भनेको केवल शिक्षक र विद्यार्थीको सम्पर्क केन्द्र होइन, त्यो एउटा त्रिकोणीय संरचना हो, जसको अर्काे अत्यन्तै महत्वपूर्ण कोण हो– अभिभावक । कुनै पनि विद्यार्थीको शैक्षिक यात्रा केवल कक्षा कोठामा होइन, घरको वातावरणमा, आमाबाबुको सोचमा, र उनीहरुले दिने प्रेरणात्मक सहयात्रामा नै निर्धारित हुन्छ ।

तर, वर्तमान नेपाली समाजमा अझै पनि अभिभावकको ठूलो हिस्सा शिक्षालाई लामो दूरीको यात्रा होइन, तत्कालीन मजदुरीको विकल्प ठान्ने सोचबाट मुक्त भइसकेको छैन । विद्यालयमा बालबालिकाको उपस्थिति त छ, तर घरमा उनीहरुको अध्ययनबारे चासो छैन । पुस्तक र अभ्यास पुस्तिकाभन्दा बढी उनीहरुको ध्यान मोबाइल, घरधन्दा र टीभी मा केन्द्रित छ र यो अभिभावकीय उदासीनताको प्रत्यक्ष परिणाम हो । यदि विद्यालय सुधारको सपना देख्नुपर्छ भने, अभिभावकको सोच र सहभागिता परिवर्तनको पहिलो सिँढी बन्नुपर्छ ।

शिक्षालाई ‘बोझ’ होइन, ‘बचत’ ठान्ने मानसिकता विकास गरौँ

शिक्षालाई बोझको रुपमा होइन, बचत र लगानीको रुपमा बुझ्न सक्नु आजको आवश्यकताको कुरा हो । हाम्रो समाजमा अझै पनि धेरै अभिभावकले छोराछोरीको शिक्षामा खर्चिनुलाई समय, पैसा र श्रमको अनुत्पादक उपयोग ठान्नुहुन्छ । उहाँहरु सोच्नुहुन्छ पढाउँदा घरको काममा सहयोग कम हुन्छ, आम्दानी गर्न ढिलो हुन्छ, र खर्च भने बढिरहन्छ ।

यस्तो सोचले शिक्षा प्राप्त गर्न चाहने बालबालिकाको आत्मविश्वास घटाउँछ र उनीहरुको दीर्घकालीन विकासलाई कमजोर बनाउँछ। तर यथार्थमा शिक्षा कुनै पनि परिवारका लागि सस्तो या महँगो खर्च होइन, त्यो त दीर्घकालीन लाभ दिने बलियो लगानी हो–यस्तो लगानी, जसको प्रतिफल जीवनभर पाइन्छ र जसले पुस्तौं पुस्तासम्म प्रभाव पार्न सक्छ ।

एक अभिभावकले आफ्ना छोराछोरीलाई पढाउनु भनेको केवल उनीहरुलाई तत्काल श्रमिक बन्नबाट जोगाउनु मात्र होइन, उनीहरुलाई भविष्यको नेतृत्वदायी भूमिका निभाउन सक्षम बनाउनु हो । शिक्षा बालबालिकालाई सिर्जनशील, विवेकी, उत्तरदायी र आत्मनिर्भर नागरिक बनाउने माध्यम हो । यो केवल पुस्तकको ज्ञान होइन, जीवन जिउने कलाको प्रशिक्षण हो, जहाँ उनीहरुले मूल्य, अनुशासन, समस्याको समाधान र समावेशिताको पाठ सिक्छन् ।

शिक्षा नै त्यो बलियो आधार हो, जसमा उभिएर व्यक्तिले मात्र होइन, समाज र राष्ट्रले पनि समृद्धिको संरचना निर्माण गर्छ । त्यसैले, अब समय आएको छ–शिक्षालाई खर्च नभई सबैभन्दा सुरक्षित र भरपर्दाे बचतको रुपमा बुझ्ने मानसिकता विकास गर्ने ।

विद्यालयसँग सहकार्य, संवाद र सरोकारको त्रिसूत्र अपनाऔँ

विद्यालयसँग सहकार्य, संवाद र सरोकारको त्रिसूत्र अब प्रत्येक अभिभावकको व्यवहारिक मार्गदर्शक बन्नुपर्छ। धेरै अभिभावक अझै पनि विद्यालयमा छोराछोरी पठाउनु नै आफ्नो शिक्षासम्बन्धी जिम्मेवारी पूरा गर्नु हो भन्ने सोच राख्नुहुन्छ तर यथार्थमा, शिक्षाको प्रभावकारीता तब मात्र सम्भव हुन्छ जब अभिभावक, शिक्षक र विद्यालय एक साझा लक्ष्यका लागि हातेमालो गर्छन् ।

विद्यालयको कार्यक्रम, नीति, मूल्य र दृष्टिकोणसँग अभिभावक स्वयंलाई जोड्न आवश्यक छ । विद्यालयले के अपेक्षा राखेको छ, शिक्षकले कस्तो पृष्ठभूमिमा पढाइ अगाडि बढाइरहेका छन् भन्ने कुरा बुझेर मात्र अभिभावकले आफ्ना छोराछोरीलाई सहि मार्गमा डो¥याउन सक्छन् ।

सकारात्मक संवादको संस्कृति विकास गर्नु अभिभावकको अर्को महत्वपूर्ण जिम्मेवारी हो । विद्यालयको वातावरण बुझ्नका लागि परीक्षा वा अभिभावक दिवसको पर्खाइ गर्नु आवश्यक छैन हरेक महिनामा एकपटक विद्यालय जानु, कक्षाको छलफलमा सहभागी हुनु, शिक्षकसँग शैक्षिक र सामाजिक अवस्थाबारे संवाद गर्नु अत्यन्त आवश्यक छ। यस्तो नियमित सम्पर्कले अभिभावकलाई आफ्ना बालबालिकाको सिकाइ अवस्था, व्यवहारिक प्रवृत्ति, कमजोरी र सुधारका उपायबारे समयमै जानकारी दिन्छ ।

यसले शिक्षकलाई पनि विद्यार्थीका पारिवारिक पृष्ठभूमि बुझ्न सहयोग गर्छ, जसले शिक्षण प्रक्रिया अझ प्रभावकारी बनाउँछ । विद्यालय मात्र शिक्षण गर्ने संस्था हो भन्ने सोच अब परिमार्जन हुनुपर्छ । विद्यालय ज्ञान दिन्छ, तर त्यस ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्न, सामाजिक र नैतिक मूल्यहरुलाई बालबालिकाको जीवनमा रोप्न अभिभावकको भूमिका अहम् हुन्छ ।

घरमा अध्ययन गर्ने वातावरण निर्माण गर्नु, नियमित अभ्यास गराउने, सकारात्मक व्यवहारको प्रशंसा गर्ने, अनि असफलतामा पनि प्रोत्साहन दिने जस्ता क्रियाकलापमार्फत अभिभावकले शिक्षा प्रक्रियालाई सार्थकता दिन सक्छन् । त्यसैले, विद्यालयसँग सहकार्य, संवाद र सरोकार राख्ने त्रिसूत्र अब हरेक अभिभावकले व्यवहारमा उतार्नुपर्ने समय आएको छ– यही सूत्रबाट मात्र समन्वित, समावेशी र सफल शिक्षा प्रणालीको निर्माण सम्भव छ ।

प्रविधि र परम्पराको सन्तुलन बनाऔं

आजको युगमा प्रविधिको प्रयोग अवश्य आवश्यक छ, तर त्यसको सही सन्तुलन नजानेसम्म प्रविधि वरदानभन्दा अभिशाप बन्न सक्छ । मोबाइल, टिभी, इन्टरनेटजस्ता माध्यम शिक्षण र जानकारीको उत्कृष्ट स्रोत हुन् तर जब बालबालिका यिनमा नियन्त्रणविहीन रुपले रमाउन थाल्छन्, तब तिनका असर गम्भीर हुन थाल्छन् ।

निरन्तर स्क्रिनको प्रयोगले उनीहरुको ध्यान खिच्ने क्षमता घटाउँछ, निद्रा, सामाजिक सम्बन्ध र पढाइमा प्रतिकूल असर पार्छ । त्यसैले अभिभावकले घरमै प्रविधिको प्रयोगबारे स्पष्ट नियम बनाउनु आवश्यक छ पढाइको समय, मोबाइल चलाउने सीमा, टिभी हेर्ने समय र इन्टरनेटको प्रयोग कति र कहिले गर्ने भन्ने बारेमा पारिवारिक सहमति र अनुशासन आवश्यक हुन्छ ।

बालबालिकाको अध्ययनमा स्थायित्व र ध्यान ल्याउन ‘मोबाइलमुक्त पारिवारिक पठन वातावरणु एक प्रभावकारी उपाय हो । दिनको कम्तीमा एक घण्टा सबै परिवारका सदस्य मिलेर पुस्तक पढ्ने, विचार साट्ने वा अध्ययनमा सघाउने वातावरण निर्माण गर्नुले बालबालिकाको रुचि, समझ र सोच्ने क्षमतामा आश्चर्यजनक सुधार ल्याउँछ ।

यो समय न त टिभी हेर्ने हो, न त मोबाइल चलाउने यो पारिवारिक संवाद, अध्ययन र आत्मविकासको समय हो । यस्ता अभ्यासले न केवल पठन संस्कृतिको विकास गर्छन् बरु बालबालिकालाई ‘परिवार मेरो पहिलो पाठशाला हो’ भन्ने अनुभूति पनि दिलाउँछ । प्रविधिको प्रयोगसँगै परम्परागत मूल्य र संस्कारको सिकाइ पनि उत्तिकै महत्वपूर्ण छ ।

आजका बालबालिकाले भोलिको समाज निर्माण गर्छन् र उनीहरुमा संस्कारको बीउ आजै रोपिनुपर्छ । नमस्कार गर्ने, बडाको सम्मान गर्ने, अरुको कुरा सुन्ने, सहयोगी बन्ने, इमानदारी अपनाउने, अनि पुस्तकप्रेमी बन्ने संस्कार बाल्यकालदेखि नै सिकाइने हो भने ती जीवनभर साथ दिन्छन् । यी व्यवहार विद्यालयले पढाउने होइन, परिवारले जिउने हो । त्यसैले प्रविधि र परम्पराको सन्तुलन बनाउँदै, बालबालिकालाई अनुशासन, ज्ञान र मूल्यमा समृद्ध नागरिक बनाउनु हरेक अभिभावकको साझा जिम्मेवारी हो ।

बच्चालाई श्रम नभई स्वप्न देख्ने अवसर दिनुहोस्

नेपालका धेरैजसो ग्रामीण क्षेत्रमा आज पनि बालबालिकालाई पढ्न पाउने अधिकारभन्दा पहिले घरायसी कामको बोझ थोपर्ने प्रवृत्ति देखिन्छ । बाल्यकाल जोश, जिज्ञासा र सपनाको समय हो, तर त्यो उमेरमा गोठमा गाईगोरु स्याहार्ने, भाइबहिनीको हेरचाह गर्ने, घरधन्दामा व्यस्त राख्ने, पसल वा खेतमा काममा लगाउने गरिन्छ भने त्यो बालकको स्वाभाविक विकासमा गम्भीर बाधा पुग्छ ।

यस्तो व्यवहारले न केवल पढ्ने समय हराउँछ, बरु पढाइप्रतिको रुचि, प्रेरणा र आत्मविश्वाससमेत गुमाउँछ । जब बच्चाले विद्यालयभन्दा बढी काममा आफ्नो समय खर्च गर्नुपर्छ, तब उसले शिक्षा आफ्नो जीवनको हिस्सा होइन, बाधा हो भन्ने सोच्न थाल्छ र त्यही सोचले भविष्यका सम्भावना बन्द गरिदिन्छ ।

अभिभावकको असली भूमिका भनेको बच्चाको वर्तमानलाई संरक्षण गर्दै भविष्यलाई उज्यालो बनाउने हो । जसरी बिरुवालाई स्याहार गरिन्छ भने मात्र त्यो रूख बन्छ, त्यसरी नै बालबालिकालाई समय, स्नेह र सपनाको मलजल आवश्यक पर्छ ।

अभिभावकले आफ्ना छोराछोरीको प्रतिभा बुझ्न, तिनलाई प्रोत्साहन गर्न, र तिनीहरुका सपनामा विश्वास राख्नुपर्छ। विद्यालय पठाउने उमेरमा ‘पढेर के हुन्छ ?’ भन्ने निरुत्साहजनक प्रश्नले होइन, ‘तँ एकदिन ठूलो मान्छे बन्नेछस्’ भन्ने विश्वासले बच्चाको आत्मबल बढाउँछ । यस्ता सकारात्मक अभिव्यक्तिहरु बच्चाको चेतनामा स्थायी प्रभाव पार्छन्, जसले तिनलाई जीवनका संघर्षसँग जुध्न प्रेरणा दिन्छ ।

त्यसैले, बच्चालाई श्रमको बोझ थोपर्ने होइन, भविष्यको सपना देखाउने र त्यो सपना पुरा गर्न सहयोग गर्ने संस्कार अब प्रत्येक परिवारमा विकास हुनुपर्छ । शिक्षाको यात्रा केवल विद्यालय जानु मात्र होइन त्यो बच्चाको सपनाको बाटोमा अभिभावकको साथ, समर्थन र विश्वास हो ।

गाउँघरमा देखिने परम्परागत सोचलाई चुनौती दिँदै, ‘पढाइ खर्च हैन, अवसर हो’ र ‘काम गर्ने हैन, सपना देख्ने उमेर हो’ भन्ने नयाँ चेतना फैलाउनु आजको आवश्यकता हो । यस्ता परिवर्तनले मात्र हामी उज्यालो, शिक्षित र समृद्ध नेपालतर्फ अघि बढ्न सक्छौं ।

हरेक अभिभावक बालबालिकाको पहिलो शिक्षक हो

हरेक अभिभावक बालबालिकाको पहिलो र सबैभन्दा प्रभावशाली शिक्षक हो भन्ने कुरा केवल भनाइ मात्र होइन, एक यथार्थ हो । जब बच्चा जन्मिन्छ, उसले संसार बुझ्नका लागि पहिलो दृष्टिकोण आफ्नै आमाबुबाबाट प्राप्त गर्छ ।

उसले भाषा बोल्न, व्यवहार गर्न, भावनालाई व्यक्त गर्न, र समाजसँग व्यवहार गर्न आमाबुबाको अनुकरण गरेर सिक्छ । यसैले, बालकको सोच, संस्कार र दृष्टिकोण निर्माणमा अभिभावकको भूमिका निर्णायक हुन्छ । जसरी बच्चा बोल्न सिक्ने क्रममा अभिभावकले गर्ने शब्द उच्चारण उसले दोहो¥याउँछ, त्यसरी नै व्यवहार र मूल्यबोध पनि बच्चाले घरबाटै ग्रहण गर्छ ।

एक सशक्त र सकारात्मक घरायसी वातावरणले बालबालिकामा पढाइप्रतिको सम्मान, जिज्ञासा र इच्छाशक्ति विकास गराउँछ । जब घरमा शिक्षकप्रति श्रद्धा देखाइन्छ, विद्यालयका नियमहरुको पालना गरिन्छ, र अध्ययनको महत्व बुझाइन्छ, तब बच्चामा पनि ती गुणहरु गहिरिन थाल्छन् । यदि अभिभावक स्वयं पुस्तक पढ्छन्, विचार साझा गर्छन्, अध्ययनको लागि समय छुट्याउँछन् भने बच्चाले पनि पढाइलाई मूल्यको रुपमा स्वीकार गर्छ ।

त्यस्तै गरी, समाजमा कसरी व्यवहार गर्ने, सहिष्णु, सहयोगी र जिम्मेवार बन्ने भन्ने कुराको आधार पनि घरमै राखिन्छ । विद्यालय भनेको बालबालिकाको दोस्रो पाठशाला हो जहाँ ज्ञान दिन सकिन्छ, तर मूल्य निर्माण र जीवनदर्शनको बीउ भने घरमै रोपिनुपर्छ । यदि घरमा नै नकारात्मकता, गुनासो, असहिष्णुता र अनादरको संस्कार छ भने, विद्यालयले दिन खोजेको शिक्षा प्रभावहीन हुन्छ ।

त्यसैले हरेक अभिभावकले बुझ्नुपर्छ शिक्षा सुरु गर्ने ठाउँ विद्यालय होइन, घर हो । सकारात्मक सोच, सदाचार, आत्मविश्वास र जीवनप्रतिको आशावादी दृष्टिकोण सिकाउने शिक्षक अभिभावक नै हुन् । जब घरले सिकाउने कुरा विद्यालयसँग मेल खान थाल्छ, त्यतिबेला मात्रै सिकाइ वास्तवमै सार्थक र जीवनमूल्ययुक्त बन्न सक्छ ।

अहिलेको समयले एक नयाँ सोच, नयाँ संकल्प मागिरहेको छ– अभिभावक बन्ने मात्र होइन, प्रेरक अभिभावक बन्ने । परम्परागत रुपमा अभिभावकको भूमिकालाई केवल छोराछोरी जन्माउने, लुगा, खाना व्यवस्था गर्ने र विद्यालयको शुल्क तिर्ने जिम्मेवारीमा सीमित राखिएको थियो । तर आजको युगमा यस्तो सीमित भूमिका प¥याप्त छैन।

अब हामीलाई चाहिएको छ(यस्ता अभिभावक, जो आफ्ना सन्तानलाई प्रेरणा दिन सकून्, विश्वास दिलाउन सकून्, र ठूला सपना देख्न सिकाउन सकून् । बालबालिकाको आत्मविश्वास र आकांक्षाको पहिलो आधार नै घर हो, र त्यस आधारको निर्माण गर्ने अभिभावक अब केवल संरक्षक होइन, एक प्रेरक मार्गदर्शक बन्नुपर्छ । विद्यालय सुधारको यात्रामा अभिभावकको भूमिका अति महत्वपूर्ण छ ।

विद्यालयले पाठ सिकाउँछ, शिक्षकले ज्ञान दिन्छन्, तर बच्चाले त्यो ज्ञान कत्तिको ग्रहण गर्छ भन्ने कुरा उसले घरबाट पाएको प्रेरणा र सहयोगमा निर्भर हुन्छ । यदि अभिभावकले विद्यालयका गतिविधिमा चासो देखाउँछन्, शिक्षकसँग संवाद गर्छन्, बच्चाको सिकाइ अवस्थाप्रति गम्भीर हुन्छन् भने त्यो वातावरणले शिक्षकको मेहनतलाई अझ सशक्त बनाउँछ ।

अब अभिभावक पछाडि उभिएर हेरिरहने हैनन्, विद्यालयसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने सहयात्री बन्नुपर्छ । यस्तो सहकार्यबाट मात्रै शिक्षक, विद्यार्थी र अभिभावकबिचको समन्वयले सार्थक फल दिन सक्छ ।

त्यसैले हामी सबैले अब अभिभावकको परिभाषा पुनः लेख्नु पर्ने बेला आएको छ । केवल पालनपोषण गर्ने अभिभावक होइन, मार्गदर्शन दिने, हौसला जगाउने, र शिक्षा यात्रामा सकृय सहभागिता जनाउने अभिभावक बनौँ । हामीले आफ्ना छोराछोरीमा विश्वास राख्ने, उनीहरुको क्षमता पहिचान गर्ने, र असफलतामा पनि साथ दिने मान्यता अपनाउनुपर्छ ।

यही प्रेरणाले विद्यार्थीको संकल्पलाई बल दिन्छ, शिक्षकको प्रयासलाई अर्थ दिन्छ र सम्पूर्ण शैक्षिक अभियानलाई सार्थकतामा रुपान्तरण गर्छ। अभिभावक परिवर्तन भएनन् भने विद्यालयको परिवर्तन अपुरो रहन्छ–यसै कारण, अभिभावक बन्ने मात्र होइन, प्रेरक अभिभावक बन्ने संकल्प अब हरेक अभिभावकको प्राथमिक कर्तव्य हुनुपर्छ ।