अबको मिशन : पानी पुर्नभरण अभियान

खेमराज रिजाल
दाङ, २५ साउन । बलेनीको पानी बाहिर बग्दा हामी सुखी छौँ, सुरक्षित छौँ भन्ने मानसिकता हामीमा छ । त्यसैले हामीले आँगन प्लस्टर गरी पक्कि बनाएका छौँ । तर, अर्को वर्ष हामीले कोटेबारीमा लक्षित गहिराइमा इनार भेटाउन सकेका छैनौँ ।

हाम्रा जरुवाहरूको नमोनिसाना छैन, बोरिङ संस्कृतिको अभ्यासमा हामी छौँ । बलेनीमा पानी नसोसिँदा हाम्रो अवस्था बारीको माटो तिर्खालु बनेको छ । माटोमा ओशिलोमन हराइसकेको छ । एकझर पानीले बारी भिज्दैन, मुल बहुरीर्दैन, खोला बग्दैन, मुल फुट्दैन, अनि पानी उम्रन त सात दिनको झरी आवश्यक हुन्छ । बर्षात प्रकृतिको बरदान हो, जहाँ हरियाली बढी छ, त्यहीँ बढी बर्षात हुने हो ।

त्यही मुल फुट्ने हो, त्यही पानी उम्रने हो तर हामीले दुई दशकदेखि पानी उम्रेको देखेका छैनौँ, कारण परेको पानी बलेनीबाट बगेर नाला हुँदै खोला, नदी र समुद्रको बाटो पछ्याउँदै महासागरमा तर हामीले बर्षातको पानी जोगाउन सकेनौँ, त्यसैले त बाढीको विनास, कटानको समस्या, अनि डुबानको समस्या ।

एक साता अघि घोरधौराको एउटा रिसोर्टमा जाँदा रिसोटैको छानामा खस्ने पानीलाई एकीकृत गरी प्लाष्टिकको ड्रममा सङ्कलन गरेको देखेँ । बलेनीको पानीको त्यो जतन मात्र थियो, पुर्नभरण थिएन । जनत त प्लाष्टिकको संरचना वा सिमेन्टको पोखरीमा पनि त गर्न सकिन्छ, तर त्यो पुर्नभरण होइन, पानीको जतनले तिर्खाको जमिन ओशिलो बन्न सक्दैन ।

त्यसका लागि त प्राकृतिक पोखरी हो वा बलेनीको पानी आसपासका सोसिने व्यवस्थापनमा हामी लाग्न सकेनौँ । पानी सङ्कटको विषयमा त एउटा विद्धान टेकनाथ गौतमले पहिल्यै बोलिसकेका थिए, पहिल्यै लेखिएको पनि छ, उनको भनाइ जिल्ला समन्वय समितिको प्रवेशद्धारमा तर उनको यो भविष्यवाणीलाई भज्याउने काम मात्रै भयो, भाषण गर्ने काम मात्रै भयो । अन्ततः साउन अन्तिम सातासम्म पनि मुल फुटेको छैन । पानी उम्रेको छैन ।

पानी वैज्ञानिकहरूले उद्घोष गरिसकेका छन् कि अबको विश्वयुद्ध पानीकै बाडफाँडको विषयमा हुने छ । सिँचाइ कुलाका विवाद गहिरिएर जाँदा पानीकै उपभोगमा ठुलो विवाद सिर्जना हुने छ, अनि त्यसले तेस्रो विश्वयुद्धको स्वरुप लिने छ । हो, अहिले त्यस्तै भइरहेको छ । जलवायु परिवर्तनको असर खासमा पश्चिमा विकसित मुलुकहरूले सिर्जना गरेको हो तर क्षतिपूर्ति भराउन नेपाल लगायतका मुलुकहरूलाई मुख ताक्दै छन् उनीहरू ।

वायुमण्डलमा कार्वन उत्सर्जन गर्ने नेपाल होइन, यद्धपि त्यसको क्षति नेपालले व्यहोर्नु परिरहेको छ । हिमालहरू नाङ्गा भइसकेका छन् । अझै बढी त हिमपहिरोको जोखिम छ । सात दिन सात रात झरी लाग्दा सुरक्षित हुने हामीहरू दुई घण्टाको झरीमै अत्तालिने अवस्था सिर्जना भएको छ तर पनि हामीले मुहान संरक्षणलाई भन्दा बस्तीमा बाटो खोजिरहेका छौँ । पानीका मुहानहरू पुरेर बस्ती बसाउन प्लटिङका योजनाहरू अघि सारेका छौँ । राजकुलाहरूलाई पक्कि सडकका रूपमा परिणत गर्न खोजिरहेका छौँ ।

अघिल्लो वर्ष धसेको डिपबोरिङमा पानी चुहिनै छाडेको छ । कुन ठाउँमा पानी आउँछ भन्न प्राविधिकहरूनै अन्योलमा पर्ने अवस्था छ । भुजल स्रोतको चक्र बरालिएको छ । हामी पानीको पुर्नजतनको अभ्यास त भोग्यौँ, जतन मात्रै दीर्घकालीन समाधान नभएको जलस्रोत विज्ञहरूले बताएका छन् । पानीको दिगो समाधान त पानीको पुर्नभरण नै हो । अर्थात् पानी जहाँ पर्छ त्यतैतिर सोसिने व्यवस्थापन ।

त्यसका लागि बलेनीको पानी जम्मा गर्ने कुण्टो, कृतिम पोखरी, तालतलैया, अनि हाइड्याम पनि हो तर हाइड्यामको परिकल्पनामा दाङ अघि बढ्न सकेन । स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकार तीनै तहका सरकारले यो विषयलाई नीति तथा कार्यक्रममा ल्याउने देखिए पनि कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरिएको भने देखिएको छैन ।

मुलुकमा गणतन्त्र स्थापना नहुँदै साविकको जिल्ला विकास समितिले नै ग्लारखोला हाइड्यामको प्रस्ताव केन्द्रीय सरकार समक्ष गरेको थियो । मुलुकमा सङ्घीयता अइसके पनि पनि हरेक वर्ष नेताले खहरेखोलामा हाइड्याम बोल्दै आए, तर अर्थपूर्ण रूपमा पानीको पुर्नभरणको आयोजना हाइड्याम प्रोजेक्ट चुनावी नारा मात्रै बनेको छ । के हामीले पानीको जतन मात्रै गर्ने हो ? पुर्नभरण हाम्रो माग हुने होइन ?

पानीको पुर्नभरण एउटा गहन विषय हो । पुर्नभरण नभै बर्षाको मौसममा पनि पानी पर्ने दर कमजोर हुन्छ । पुर्नभरण नभएसम्म माटो तिर्खालु भइरहन्छ । माटोको ओसिलो पनमा ह्रास आउछ । कृषि उत्पादनमा पनि यसले ह्रास ल्याउछ तर तर पछिल्ला सरकार पुर्नभरण होइन, जमिनको तल्लो सतहको पानी यान्त्रिक प्रविधिबाट माथि ल्याउने मात्र प्रसास गरिरहेका छन् ।

जहाँ पानीको पुर्नभरणनै भएको छैन, त्यहाँबाट जमिनमुनिको पानीको स्रोत खोज्नु असम्भव र अनिश्चित पनि हुने जलस्रोतविदहरूले बताएका छन् तर विज्ञहरूका सुझावलाई सरकारले सम्बोधन गर्न सकिरहेको छैन । त्यसैको शिकार अब मधेश प्रदेश पछि दाङ ह्ुन सक्छ ।

पानीको सहज उपलब्धता नभइरहेको अवस्थामा हामी रासायनिक मलको प्रयोगलाई अस्वाभाविक रूपमा बढाइरहेका छौँ । जसले माटोलाई बढी तिर्खालु बनाइरहेको छ । सरकार रासायनिक मललाई बढावा दिइरहन्छ, अर्गानिक मललाई प्रोत्साहन त सानो सम्बोधन मात्रै हो । खासमा लेख्नु पर्दा यो वर्ष अत्यधिक बर्षात हुने भनिए पनि पानी सङ्कटले मुलुकभर पानी सङ्कट आयो ।

मधेश प्रदेशलाई सरकारले आपतकाल घोषणा पनि ग¥यो । त्यहाँ रोपेका खेत धुजाधुजा त छँदैछ, पानी सङ्कट पनि भयो । यसको मुल कारण चुरे क्षेत्रको विनास भनेर जलस्रोतविदहरूले भनिसकेका छन् । यसैका लागि सगरमाथा सिमिटको पनि आयोजना यसै वर्ष आयोजना गरियो । प्रधानमन्त्रीले पनि त्यसमा सहभागी भए ।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्नका लागि प्रतिबद्धता जनाए तर त्यसैको भोलिपल्ट काठमाडौँमा आयोजित कार्यक्रममा उनले रासायनिक मल कारखाना नेपालमै खेल्ने अभिव्यक्ति पनि दिए । यो दोहोरो चरित्र सरकारले निर्वाह गर्दै आएको छ तर पनि हाम्रो भावि सङ्कट भनेको पानी सङ्कट नै हो । तर, हामी भौतिक विकास मै अल्झिइरहेका छौँ । यसले निकट भविष्यमा दाङ पनि मधेश प्रदेशको सङ्कटमा आउने छ । हाम्रो चाहना हो दाङ बचाऔँ । दाङ बचाउने आधार एउटै हो, त्यो भनेको पानीको स्रोत संरक्षण ।