भूमिही दलित र सुकुम्बासीलाई लालपुर्जा

गोरक्ष समाचारदाता
देउखुरी, २४ साउन । गढवा गाउँपालिकामा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ ।

गढवा गाउँपालिका–२ स्थित डाँडाटोलमा चारदशकदेखि बसोबास गर्दै आउएका नौ घर भूमिहीन दलित र सुकुम्बासी परिवारलाई प्रतिव्यक्ति चार धुरदेखि पाँच कट्ठा १७ धुरसम्म गरेर एक बिघा १२ कट्ठा एक धुर जग्गाको लालपुर्जा वितरण गरिएको हो ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजाल, लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारूलगायतले डाडाँटोलबासी मंगलप्रसाद चौधरी, रामबहादुर चौधरी, हिरालाल विक, बिच्छु कामी, सुइटी विश्वकर्मा, पदमप्रसाद शाह, सीता बैजाली घर्ती, पूर्ण पुन मगर र तारा पुन मगरलाई जग्गाको स्वामित्व प्रमाणित गर्ने लालपुर्जा हस्तान्तरण गरेका हुन् ।

करिब ४०÷४५ वर्षअघि डाँडाटोलमा बस्ती बसे पनि जग्गाको नापजाँच नहुँदा स्थानीयले जग्गाधनी प्रमाणपुर्जाबाट वञ्चित थिए । वर्षाैंसम्म बसेको जग्गाको लालपुर्जा पाउँदा खुसी लागेको तारा पुन मगरले बताइन् । लामो समयदेखि जग्गाको लालपुर्जा पाउने आश्वासन पाउने गरे पनि नपाएको भन्दै पुनले वर्षाैंपछि आपूmले जोतभोग गरेको जग्गाको मालिक हुन पाउँदा खुसी लागेको बताइन् । उनले लालपुर्जा नहुँदा बैंकबाट ऋण लिन नसक्ने, बिजुली जडानमा समस्या हुने गरेको बताइन् ।

स्थानीयलाई जग्गाधनी प्रमाणपत्रको पूर्जा वितरण गर्दै भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष रिजालले यो वर्ष देशभर पाँच लाख भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने लक्ष्य अनुसार काम भइरहेको बताए । भूमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतका अनुसार जिल्लामा छ हजार चार सय ७४ भूमिहीन दलित, १० हजार नौ सय ५० भूमिहीन सुकुम्बासी र ५१ हजार पाँच सय दुई जना अव्यवस्थित बसोबासी गरी जम्मा ६८ हजार नौ सय २६ जनाले जग्गाका लागि फारम भरेका छन् ।