गोरक्ष समाचारदाता
दाङ, २४ साउन । लुम्बिनी प्रदेशका सदस्य तथा पूर्वमन्त्री राजु खनालले सामाजिक संघसंस्था राज्यका सहयोगी भएको बताए । समाज कल्याण केन्द्र नेपालको नवौँ स्थापना दिवसको अवसरमा शुक्रवार घोराहीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्र्दै पूर्वमन्त्री खनालले राज्यको ध्यान पुग्न नसकेको स्थानमा सामाजिक संघसंस्थाले सहयोग गर्दै आएको बताए ।
‘राज्यले धेरै काम गर्दै आएको छ तर पर्याप्त छैन’, उनले भने, ‘आर्थिक समस्याले गर्दा राज्यले चाहेको जति काम गर्न सकेको छैन, यसमा संघसंस्थाले सहयोगी भूमिका खेलिरहेका छन् ।’ समाज रूपान्तरणमा संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रदेश सभा सदस्य खनालले लुम्विनी प्रदेशमा आत्महत्याका घटना धेरै हुने गरेको भन्दै यसको रोकथाम गर्न सचेतनामूलक कार्यक्रम बढाउन आवश्यक रहेको बताए । ‘समाजमा मानसिक रोगीको भयाभय बढ्दै गएको पाइएको छ’, उनले भने, ‘त्यसतर्फ राज्यसँगै संघसंस्थाको ध्यान जान आवश्यक छ ।’ समाज कल्याण केन्द्रले समाजमा शिक्षा, स्वास्थ्य र महिलाको क्षेत्रमा काम गर्दै आएको उनले बताए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले समाज कल्याण केन्द्रले गरिब तथा अनाथ बालबालिकाको शिक्षामा सहयोग गरेर पढाइबाट वञ्चित भएकालाई सहयोग गरेको बताएका थिए । यसैगरी प्रजनन् स्वास्थ्य तथा लागूपदार्थ दुव्र्यसनी विरुद्धमा सचेतनामूलक काम गदै आएको भन्दै यसलाइ निरन्तता दिनसमेत आग्रह गरेका थिए । समाजले जिल्लाका ग्रामीण क्षेत्रमा सचेतनामूलकसँगै सिपमूलक तालिमलाई निरन्ता दिन आग्रह गरेका थिए । कार्यक्रममा समाजलाई सहयोग गरेको भन्दै विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । समाजले खुत्रुके अभियानमार्फत् बालाबलिकाको शिक्षामा सहयोग गर्दै आएको छ । कार्यक्रम समाजका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा भएको थियो । उपाध्यक्ष निरजा पोख्रेलको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जानका केसीले गरेकी थिइन् ।