खगराज न्यौपाने÷विचार
श्रावण महिनाको दिन थियो । निवृत शिक्षक समाज नगर समितिले आफ्नो कार्यक्रम घोराही उपमहानगरपालिका वडा नं. १ सिमलतारास्थित आधारभूत विद्यालयमा सभाको आयोजना गरेको थियो । त्यो क्षेत्रतिर नगएको हुनाले मलाई पनि त्यहाँ जाने इच्छा जाग्यो ।
नुमाकान्त न्यौपाने र म खगराज न्यौपाने सल्लाह गरी १०ः३० बजे घोराहीबाट प्रस्थान ग¥यौँ । रामपुरतिर जाने अटोहरू अस्पतालको दक्षिणतिर पाइने हँुदा त्यतै पुग्यौ । अटोले रामपुर सिमलतरासम्मको भाडा रु १००। लिँदो रहेछ । हामी अटोमा चढ्यौँ । थोरै बेरमा अर्को एकजना पनि उतै जाने भेटिए । त्यस पछि हामी गन्तव्यतिर लाग्यौँ । नयाँ र नौलो ठाउँको अवलोकन गर्दै रमाउँदै
हामी अगाडि बढ्दै गयौँ । धेरैजसो ठाउँमा धान रोपिसकेको देखियो । एकाध ठाउँमा थोरै छुटपुट रोपाइ चलिराखेको थियो । डाँडा गाउँबाट सिधै सडक गएको रहेछ घारी घारी भएर सडक निकै चिल्लो र सफा देखिन्थ्यो । वर्षाको मौसम पानी परेर होला सडक सफा भएको देखियो । लछिनपुर नेर थोरै ठाउँमा सडक दक्षिण भएर पुनःसिधापूर्व लागेको रहेछ ।
सडकको अवस्था निकै राम्रो लाग्यो । हामी दुवैजना त्यहाँको लागि नयाँ भएकाले गन्तव्यभन्दा अगाडि पुग्यौँ । कालोपत्रेभन्दा अगाडि गयौँ । पछि मैले अटोलाई फर्कन भनेर वरपीपल नेर आउँदा मानिस भेटिए ।
सोधपूछ गर्दा आधारभूत विद्यालय त्यहीबाट पनि जान्छ भने हामी दुवैजना खगराज न्यौपाने र नुमाकान्त न्यौपाने वरको रुखनेरबाट उत्तर पश्चिम लागि विद्यालय पुग्यौ । धेरै शिक्षक साथीहरु जम्मा भइसक्नुभएको थियो । हामी पनि पुग्यौ । थोरै बेर पछि कार्यक्रम सुरु भयो । फाट्ट फुट्ट साथीहरू आउँदै हुनुहुन्थ्यो ।
निवृत्त शिक्षकहरूको नियमित कार्यक्रम सुरु भयो । शिक्षक साथीहरूको उपस्थिति राम्रो थियो । मौसमले पनि साथ दियो । कार्यक्रममा नयाँ साथीहरूले आजीवन सदस्यता लिनुभयो । दाङ जिल्लामा निवृत्त शिक्षकको संख्या ८०० पुग्न लागेको जानकारी गराइयो । भाद्र महिनाको नियमित बैठक शुक्रवारमा गर्ने कुराको निर्णय सुनाइयो ।
कार्यक्रम पछि त्यताका साथीहरूले खिरको व्यवस्था गर्नुभएको रहेछ । सबैलाई हतार पनि थियो सबै साथीहरू चमेना गृहमा गयौँ । सबैले खिर र चिया ग्रहण ग¥यौँ । अरू साथीहरू आ–आफ्नो गन्तव्यतिर लाग्नु भयो । हामी दुईजना खगराज र नुमाकान्त बबईको उदेगम स्थलतिर लाग्यौँ । सडकदेखि दक्षिणतिर रहेछ ।
यी बबई नदीलाई अयोध्याको सरयू नदीको शिर मानिन्छ । शास्त्रमा बबई नदी जो अयोध्या पुगेपछि सरयू नामले चिनिन्छ । यसको ज्यादै ठुलो महत्व छ । रामजन्म भूमि अयोध्यालाई यसै नदीले पवित्र पारेको छ । यस्तो पवित्र नदी जो हाम्रो दाड जिल्लामा अवस्थित छ । यी बबई नदीको अर्को विशेषता हो दाङमा भएका सम्पूर्ण सोताखोला बबई नदीमा गएर समाहित हुन्छन् ।
घोराही उमनपा १ सिमलतारामा बबईको मुहान सानो भए पनि जति–जति पश्चिम गयो बबई नदी उति विशाल हुँदै गएको छ । यस पछि हामी बबईको उत्तरतर्फ रहेको मन्दिरतर्फ लाग्यौँ । यो राम र सीताको मन्दिर रहेछ । यसलाई सरयूराम मन्दिर भनेर उल्लेख गरेको पाइयो यहाँ राम र सिताका मूर्ति राखिएका रहेछन् ।
करिब दिउँसो ४ बजेको समयमा पनि त्यहाँका स्थानीय भक्तहरू जुटेर भजन कीर्तन गरिरहेका थिए । यो मन्दिरको प्रवेशद्धवार पश्चिमतर्फ छ । यो मन्दिरको चारै दिशामा चार मन्दिरहरू रहेका छन् । पूर्व उत्तरतर्फ शिवजीको मन्दिर छ । पश्चिमउत्तरतर्फ भगवती माताको मन्दिर छ ।
दक्षिणपूर्वमा गणेशको मन्दिर छ । पश्चिम दक्षिणमा सूर्यको मन्दिर रहेको छ । यहाँ नित्यपूजाको व्यवस्था रहेछ । यही सरयू राम मन्दिरको पश्चिमतर्फ ५५ फुट अग्लो राम सेवक हनुमानको विशाल मूर्ति छ । यो नेपाल अधिराज्य भरीमा सबैभन्दा ठूलो मूर्ति हो । यही हनुमानको मुर्तिको पश्चिमतर्फ गोलाकारको स्नानगृह निर्माणाधिन छ ।
यसको तेस्रो तलामाशिवजीको मूर्ति राखिएकोछ । यसमा पाइपबाट पानी लगि शिवको शिरमा पानी प्रवाहित गराउने यसरी प्रवाहित भएको पानी दोस्रो तलामा जम्मा हुने र तल्लो तलामा धाराहरू बनाइ स्नान गर्ने योजनाको आधारमा काम भइराखेको कुरा स्थानीयले बताए । हालसम्म यी सबै रचनाहरू गाउँलेहरूकै सक्रियतामा बनेको पाइयो तर यस पटक भने सरकारले ५५ लाख बजेट दिएको रहेछ ।
त्यसैले सबै नागरिक प्रशन्नताको अनुभव गरेका छन् । त्यस पछि साँझको पाच बजेको थियो । हामीहरू सबैसँग बिदा भएर सडकमा आयौँ । त्यहाँ एउटा अटो प्रतिक्षामा थियो । हामीले त्यही अटोलाई लिएर घोराहीतर्फ प्रस्थान ग¥यौँ । मौसम अनुकूल भएकाले सजिलै घोराही ट्राफिक नेर आइपुग्यौँ । अटोवालाले कहाँ उत्र्नुहुन्छ भनी सोधे– हामीले भानुचौक जान पाए सजिलो हुने थियो भन्यौँ ।
उनले हामीलाई भानुचौकमा ल्याई पु¥याए । हामीले उनीलाई रु ५०० को नोट दियौँ । अटोवालाले ३०० हामीलाई फिर्ता दिए । हामीले उनीसँग हात मिलायौँ । मुरी–मुरी धन्यवाद दियौँ । सिमलताराका सबै मानिस हृदयी भएको पाइयो । यसरी २०८२÷४÷१६ गतेको हाम्रो अवलोकन भ्रमण कार्यक्रम समाप्त भएको जानकारी गराउँदै यो आलेख यही बिसाउन अनुमति चाहन्छु ।