शिवराज खनाल
दाङ,२३ साउन । लमही नगरपालिकाले कक्षा ५ र कक्षा ८ का विद्यार्थीहरूका लागि प्रकाशित गरेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक ‘हाम्रो लमही’ मा व्याकरणीय त्रुटि देखिएको छ। शिक्षण शिक्षा सुधारको नाममा प्रकाशन गरिएको पुस्तकमा प्रयोग गरिएको कतिपय वाक्य, भाषा, स्थान र व्याकरणको दृष्टिकोणले त्रुटिपूर्ण रहेको शिक्षक तथा अभिभावकहरूले बताएका छन्।

पुस्तकको एक अंशमा लेखिएको छ —‘गरिएको हो भनाइ रहेको छ’ । जुन नेपाली व्याकरण अनुसार अशुद्ध वाक्य हो। भाषाविद्हरूका अनुसार उक्त वाक्यले न त स्पष्ट सन्देश दिन्छ, न त शुद्ध भाषिक स्वरूपको पालना गर्छ । यस वाक्यको स्थानमा ‘गरिएको हो भन्ने भनाइ पाइन्छ’ वा ‘गरिएको हो भन्ने विश्वास रहिआएको छ’ भन्नु उपयुक्त हुने बताइएको छ। यो त एउटा उदाहरण मात्रै हो ।

शिक्षक र भाषा विज्ञहरूले विद्यालयस्तरको पाठ्यपुस्तकमा यस्ता त्रुटि हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। लमहीका एक शिक्षकले भने,‘विद्यार्थीहरू भाषा सिक्ने प्रारम्भिक चरणमा छन्। यस्ता त्रुटिपूर्ण पाठ्यपुस्तकले उनीहरूको भाषिक क्षमता कमजोर बनाउने सम्भावना हुन्छ ?’ लमही नगरपालिकाको समन्वयमा तयार पारिएको यस पुस्तकमा लमही क्षेत्रका ९ वटा वडाहरू, बस्तीहरू, र धार्मिक स्थलहरूको विवरण पनि समावेश गरिएको छ। तर, सामग्रीमा पालिकाभित्रका स्थानको नाम नै फरक लेखिएको छ, जुन पालिकामको कुनै स्थानमा छैनन उक्त स्थानहरु।
यस विषयमा लमही नगरपालिकाको शिक्षा शाखाले पनि प्रतिक्रिया दिएको छ। शाखा प्रमुख भवानी गिरीले टेलिफोनमा कुरा गर्दै,‘स्थानीय पाठ्यक्रमको विकास एक नयाँ अभ्यास हो। पुस्तक तयार गर्दा पहिलो संस्करणमा केही कमजोरीहरू देखिएका छन् । अलिअली लेखाइमा अशुद्धता देखिएको छ ।’ कार्यान्वयनको क्रममा स्कुलबाट पनि केही सुझावहरु आउछन अनि सबैलाई समेटेर संसोधन हुन्छ उनले थपिन ।उक्त पुस्तक सामुदायिक बिद्यालयलाई निशुल्क बितरण गरिएको छ भने संस्थागत विद्यालयलाई कक्षा ८ को १८० र कक्षा ५ को १६० रुपैया शुल्क निर्धारण गरिएको छ ।