लमही, २३ साउन । लमही नगरपालिका वडा न. ६ ले अपांग अशक्त व्यक्तिको परिचयपत्र घरमै पुगेर नविकरण गर्ने काम सुरुवात गरेको छ। अपांग, अशक्त तथा जेष्ठ नागरिकहरूलाई वडा कार्यालयसम्म आउन समस्या भएपछि वडाले घरमा पुगेर सेवा दिन थालेको वडा अध्यक्ष श्यामनारायण चौधरीले जानकारी दिएका छन् ।
वडा अध्यक्ष चौधरीको नेतृत्वमा टोलीले वडाभित्रका सेवा लिन असमर्थ व्यक्तिहरूको घरमै पुगेर भत्ता नविकरणको प्रक्रिया सहज बनाएको छ। सामाजिक सुरक्षा भत्ता पाउनको लागि अनिवार्य रूपमा नविकरण गर्नुपर्ने प्रक्रिया हुँदा ती नागरिकहरू समस्यामा परिरहेका थिए।
‘जसले आफै हिँडेर वडा कार्यालय आउन सक्दैन, उसलाई सेवा दिन हामी आफैँ घरसम्म जानुपर्छ भन्ने सोचले अभियान सुरु गरेका हौं’,वडा अध्यक्ष चौधरीले भने, ‘सामाजिक सुरक्षाको सेवा नागरिकसम्म पुगोस् भन्ने हाम्रो प्रयास हो।’ । अभियानले सेवा प्रवाहलाई अझ जनमुखी बनाएको र अपांग, अशक्त तथा जेष्ठ नागरिकहरूप्रति स्थानीय सरकारको संवेदनशीलता देखिएको छ।