‘नेता कार्यकर्ता अनुशासनमा रहनुपर्छ’

प्रिया स्मृति गजमेर
देउखुरी, २३ साउन । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीका नेता, कार्यकर्ता अनुशासनमा रहनुपर्ने बताएका छन् । लमहीमा बिहिबार भएको नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले यस्तो बताएका हुन् ।

उनले अनुशासन र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औल्याउँदै नेता, कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरे । ‘हामीलाई चित्त नबुझ्दा सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध आक्रामक टिप्पणी गर्न थाल्छौँ’, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘टिप्पणी मात्रै होइन नेताहरूको सामाजिक सञ्जालमा मानमर्दन गर्न पछि पर्दैनौँ, यस्तो गलत प्रवृत्ति रोक्नुपर्छ ।’ उनले पार्टीको नीति, कार्यक्रम र नेतृत्वप्रति विश्वास राख्दै अनुशासित ढङ्गले अघि बढ्न नेता, कार्यकर्तालाई आग्रह गरे । पार्टी सुदृढीकरणभन्दा नेताहरूको आलोचना र खिसीट्युरी गर्ने प्रवृत्ति हाबी हुँदै गएको भन्दै उनले भने, ‘पार्टी सजिलै बनेको होइन, नेताहरूको अथक मिहिनेत, अनुशासन र लगनशीलताले बनेको हो, त्यो वर्तमान पुस्ताले ख्याल गर्नुपर्छ ।’

‘युवाले देश चलाउनुपर्छ’ भन्ने चर्चा चलिरहेको बेला युवामा नेतृत्व कसरी गर्नुपर्छ भन्ने कुरा बुभ्mन जरुरी रहेको बताए । महमहामन्त्री राठौरले कृषिमा जनशक्ति घट्दै गएकोमा चिन्ता व्यक्त गरे । नयाँ पुस्ता देशमा केही गर्ने भन्दा पनि विदेश जाने र बाँकीले ज्यालामजदुरी गर्दा कृषिमा लाग्ने कम भएको भन्दै भने, ‘मानिसहरू खेतीकिसानी गर्न तयार छैनन्, दैनिक ज्यालादारीबाट पैसा धेरै आउने भएकाले उनीहरू मजदुरीतर्फ आकर्षित भएका छन् ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले कृषि उत्पादन वृद्धि गर्न किसानले जैविक मलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । उनले रासायनिक मल प्रयोगले माटोको उर्वराशक्ति घटाउँदै लगेकाले अब त्यसलाई विस्थापित गर्दै जैविक मलको प्रयोगलाई प्रवर्धन गर्नुपर्ने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कृषि पेसामा लागेका किसान आर्थिक रूपमा सवल हुन नसकेको बताए । उनले किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको उचित बजारीकरण नहुँदा किसान निराश हुनु परेको बताए । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कृषिप्रधान मुलुक भएर पनि नेपाल परनिर्भर बन्नु परिरहेकोप्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘पहिलो कुरा त उत्पादन गर्नु गाह्रो छ, किसानले जस्तोसुकै मिहिनेत गरेर उत्पादन गरे पनि बजारीकरणमा चुनौती छ ।’ कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल राई, नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारू, नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रन्जन भट्टराईलगायतले बोलेका थिए । नेपाल किसान महासंघ लुम्बिनी प्रदेश तदर्थ समितिका सभापति रिता केसीको अध्यक्षता तथा उपसभापति खड्ग बुढाथोकीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव महेन्द्र मल्लले गरेका थिए ।