डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन

दाङ, २२ साउन । घोराही–लमही सडक खण्डअन्तर्गत मसोटखोलामा डाइभर्सन निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको छ ।

मसोटखोला पुल मर्मतका क्रममा सडक अवरुद्ध हुँदा यातायातका साधनहरु सञ्चालनमा समस्या भएपछि खोलामा बैकल्पिक मार्गका रुपमा डाइभर्सन निर्माण गरेर बुधवारबाटै यातायातका साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी युवराज पाण्डेयले जानकारी दिएका छन् ।

‘पानी परिरहेकाले पुलको मर्मतको क्रममा बुधवारदेखि ठुला सवारीसाधन बन्द गर्ने भनेका थियौ’, सडक कार्यालय दाङका सूचना अधिकारी पाण्डेयले भने,‘पानी पर्न रोकिएको र खोलामा पानी कम भएपछि डाईभर्सन निर्माण गरेर बुधवारदेखि नै सञ्चालन गरेका हौ । विहीवार साना ठुला सवै गाडी सञ्चालन भएका छन् ।’

पानी पर्ने क्रम चलिरहेकाले ड्राइभर्सन बिग्रिएको अवस्थामा बनाउनेदेखि गाडी फसेको अवस्थामा तान्नका लागि दुई वटा डोजर समेत तयारी अवस्थामा मसोट खोलामा राखिएको बताए । ‘डाइभर्सन निर्माण गरेर गाडी सञ्चालनका लागि प्रशासनदेखि ट्राफिक प्रहरीले सहयोग गरिरहेको छ’, सूचना अधिकारी पाण्डेयले भने,‘जस्ले गर्दा अवस्थायी रुपमा सडक निर्माण गरेर गाडी सञ्चालन गर्न सकेका छौ ।’

पुल मर्मतका क्रममा ठुला गाडी सञ्चालन हुँदा समस्या हुने भन्दै साउनको २१ साउन विहान ७ बजेदेखि २४ गते विहान ७ बजेसम्मका लागि दुई पाङ्गे भन्दामाथिका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । साउनको २४ गतेसम्म पुल निर्माणको काम गरिसक्ने गरि काम भइरहेको कार्यालयका सूचना अधिकारी पाण्डेयले बताए । जीर्ण अवस्थामा रहेको पुलको मर्मतसँगै ठुला सवारीासधनको स्पिड कम गर्नका लागि सूचना बोर्डसँगै पुलको दायावायाँ अस्थायी रुपमा ब्रेकर बनाउने तयारी गरिएको छ ।