गोरक्ष समाचारदाता
दाङ, २१ साउन । दाङमा वर्षाद्का कारण खोलामा पानी बढेपछि घोराही–तुलसीपुर सडकमा सवारी आवागमन प्रभावित भएको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवार खोला, हापुर खोला र काला खोलामा पानीको सतह बढ्दा मङ्गलवार दिउँसो केही समय सवारी आवागमन बन्द भएको थियो ।
खोलामा पानीको बहाव बढ्ने र घट्ने भइरहेकाले मङ्गलवार दिउँसो सवारी आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार खोलामा पानीको सतह घटेको समयमा सवारीसाधन सञ्चालन भए पनि बढ्दा बन्द गर्नुपर्ने अवस्था भएको उनले बताए ।
खोलामा पानीको सतह बढ्दा अत्यावश्यक सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरेका छन् । सेवार खोला र हापुर खोलाका लागि घोराही बसपार्क–हापुर हुँदै मज्गैँ र कालाखोलाका लागि बिजौरीदेखि दक्षिण हुँदै महेन्द्र बहुमुखी क्याम्पस तुलसीपुर जोड्ने सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको प्रहरी नायव उपरीक्षक शाहले बताए ।
दुई सडक अवरुद्ध
अविरल वर्षाद्का कारण सडकमा पहिरो खस्दा दुई सडक अवरुद्ध भएका छन् । प्रहरी नायव उपरीक्षक शाहका अनुसार दाङबाट रोल्पा तथा सल्यान जिल्ला जोड्ने दुई सडक अवरुद्ध भएका छन् । घोराही उपमहानगरपालिका–१९ स्थित दुईखोलीमा पहिरो खस्दा घोराही–होलेरी सडक बिहानदेखि अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा घोराहीबाट रोल्पा, पूर्वी रुकुम जाने तथा त्यहाँबाट घोराही आउने सवारीसाधन चल्न सकेका छैनन् । यसैगरी सडकमा पहिरो खस्दा तुलसीपुर–कालीमाटी–काल्चे सडक अवरुद्ध भएको छ । तुलसीपुर–कालिमाटी–काल्चे सडक अन्तर्गत विभिन्न स्थानमा पहिरो झर्नुका साथै डिमुरे खोला बढेर सवारी आवागमन बन्द भएको छ ।
सतकर्ता अपनाउन आग्रह
अविरल वर्षासँगै राप्ती तथा बबई नदीलगायतका खोलामा पानीको बहाव बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ ।
मङ्गलवार जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै दाङसँगै रोल्पा, प्युठानलगायतका जिल्लामा मनसुन सक्रिय भई भारी वर्षा भइरहेको र दाङ भएर बग्ने राप्ती तथा बबई नदीमा पानीको बहाव बढिरहेकाले डुबान तथा कटानको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा हस्ताक्षरित सूचनामा जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति बढी जोखिममा पर्ने भएकाले विशेष सतर्कता अपनाउन र सुरक्षा निकायको सम्पर्कमा रहनसमेत अनुरोध गरिएको छ । दाङमा पछिल्लो २४ घण्टामा दुई सय ४८ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय घोराहीले जनाएको छ ।