मेरो खास पेसा भनेको कृषि कर्म नै हो । भर्खरै सुरुवात गरेको राजनीतिमा तत्कालीन सरकार–माओवादी बिचको सशस्त्र द्वन्द्वले क्रेक लगाएपछि मुलुक स्थानीय तह जनप्रतिनिधि विहीन बनेको थियो । २०६४ साल तिरको कुरा हो ।
त्यहीबेला मैले रामपुरको बुकामा २ विगाहा १० कठ्ठा जग्गामा व्यवसायीक तरकारी खेती सुरु गरेको थिएँ । त्यसमा पनि मैले १६ कठ्ठाको एउटा प्लटमा बन्दागोवी मात्रै लगाएको थिएँ । त्यो बेला बन्दाको भाउ पनि मुलुकभर महङ्गो थियो । मैले लगाएको बन्ला मैले थोक व्यापारीलाई बिक्री गर्ने निधो गरेर एक जना व्यापारीलाई बोलाएको थिएँ ।
बन्दा तयार भयो । घोराहीबाट व्यापारी लिन आउँथे । त्यो बन्दा करिब ५ दिनभित्र व्यापारीले दैनिक हिसाब राख्दै उठाइरहेका थिए । पाँचौ दिन बारीको बन्दा सकियो । हिसाब किताब पाँचौँ दिनमै गरियो । मैले ५० रुपैयाँ प्रतिकिलोमा सम्झौता गरेको थिएँ । पाँचौँ दिन ती व्यापारीले कुल हिसाब गरेर मलाई १६ लाख रुपैयाँ घरमै बुझाएँ । बन्दा बेचेको १६ लाख रुपैयाँ । त्यो पनि घरमै आएर भुक्तानी गरे ।
लेखिदिनु होला मेरो खुसी १६ लाख रुपैयाँको बन्दा । सायद मैले यति धेरै पैसा समाएको त्यो नै पहिलो क्षण हो । सामान्य परिवारमा जन्मिएको मैले त्यति धेरै पैसा मैले कहिल्यै घर भित्राएको थिएन । त्यो पैसाले मलाई मात्र होइन मेरो पुरै परिवारलाई गद–गद बनाएको थियो । लाग्थ्यो, घरमै यति धेरै पैसा आउँछ भने अन्यत्र दुःख गर्न किन जाने ।
कृषि कर्ममा पनि त राम्रै सम्भावना हुन्छ नि भन्ने पनि मलाई आत्मबोध भयो । सोह्र लाखको बन्दा फलाउन मलाई करिब ५० हजार रुपैयाँ मात्र खर्च भएको थियो । मैले बन्दा बिक्रीबाट सोह्र लाख रुपैयाँ आउँछ भन्ने कल्पना समेत गरेको थिइन् । सायद त्यो बेलासम्म तरकारी खेती हुने भनेकै रामपुर क्षेत्र मात्रै थियो । अन्यत्र तरकारी फल्दैन भन्ने विश्वास थियो तर अहिले क्रमश सिँचाइको विस्तार हुँदै गएपछि सम्पूर्ण दाङ देउखुरीमा व्यवसायीक तरकारी खेती हुने गरेको छ । उसबेलाको बन्दाको भाउ अहिले पनि किसानले पाउन सकेका छैनन् । सायद उत्पादनमा वृद्धि भएरै होला ।
मैले त्यो पैसा केही बैंकमा राखेँ । केही पैसाले घडेरी किनेँ । मैले अहिले बजारमा किनेको घडेरी पनि त्यही बन्दा बेचेको पैसाले हो । त्यसैले मैले अझै पनि बन्दालाई भान्सामा सम्मान गर्छु । बन्दाले मलाई व्यवसाय सिकायो । बन्दाले सिकाएको कृषि कर्म मैले करिब १४ वर्षसम्म निरन्तर गरे । अहिले पुनः राजनीतिमा जोडिएको छु । माथि उल्लिखित खुसीको क्षण घोराही उपमहानगरपालिका–१ का वडाध्यक्ष, घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता समेत रहेका राममणि पाण्डेका । त्यसो त पाण्डेले राजनीति सुरुवात गरेको विद्यार्थी राजनीतिदेखि नै हो ।
स्थानीय तहमा जनप्रतिनिधि बन्न थालेको २०५४ सालदेखि । उनका खुसीका अन्य क्षण पनि छन् । भन्छन्– मेरो खुसी स्थानीय तहमा पहिलो पटक जनप्रतिनिधि बनेको दिन । विद्यार्थी राजनीतिदेखि युवासंघ र पार्टीको राजनीतिमा जोडिँदै गर्दा उनलाई जनप्रतिनिधि बन्छु भन्ने कहिल्यै कल्पना थिएन । परिस्थितिले उनलाई जनप्रतिनिधि बनायो ।
त्यो बेला उम्मेदवार बन्ने मेरो चाहनाभन्दा पनि पार्टीको चाहना थियो । मैले त्यो बेला साविक रामपुर गाविसमा उपाध्यक्षमा चुनाव लडेको थिएँ । प्रमुख प्रतिद्वन्द्वी माधव पाण्डेलाई झण्डै १४ सय मतको अन्तरले हराएर मैले उपाध्यक्षमा चुनाव जितेको थिएँ । अध्यक्ष नरुलाल चौधरी हुनुहुन्थ्यो । त्यो पनि मेरो अविस्मरणीय खुसीको क्षण थियो । त्योबेला डेढ सय रुपैयाँ खर्चले मैले चुनाव जितेको थिएँ । ‘लेखिदिनु होला मेरो खुसी रामपुर गाविसको उपाध्यक्ष’, पाण्डे आफ्नो अर्को खुसीमा पोखिए ।
त्यसो त २०७९ सालको स्थानीय तह निर्वाचन पनि उनको खुसीको क्षण बन्यो । त्यो चुनावमा गठबन्धन थियो । पार्टीले फेरि राममणिलाई नै दोहो¥याउनु पर्छ भनेपछि मैले पनि स्वीकारेँ । घोराही उपमहानगरपालिका–१ को वडाध्यक्षको उम्मेदवार बने । किनकि म २०७४ सालमा पनि यही वडाको अध्यक्षमा निर्वाचित भएको थिएँ ।
२०७९ मा आइपुग्दा मैले चुनावताका मतदाता सामु गरेका सबै वाचा पूरा गरिसकेको थिएँ । मलाई थाहा भइसकेको थियो, चुनाव कसरी जितिन्छ भनेर । मैले चुनावमा होमिनु अघि नै यही गौतम प्रिन्टर्समै साथी भाइसँग भनेको थिएँ, मेरो निर्वाचन क्षेत्रमा खसेको मतको कम्तिमा ८० प्रतिशत मत ल्याउँछु भनेर । मैले आफ्नो वडामा ३ दिन मात्रै प्रचार गरेर खसेको मतको ८० प्रतिशतभन्दा बढी मत ल्याउन सफल भएँ । लेखिदिनु होला रामपुरका मतदाता मेरा खुसी । जसले मलाई हरेक पटकका चुनावमा निर्विकल्प विजयी बनाइरहनु भएको छ तर पछिल्लो चुनावमा भने उनको करिब तीन लाख रुपैयाँ जति खर्च भयो ।
राममणि अब फेरि कृषि कर्ममा फर्कने छैनन् । उनी अब राजनीतिलाई नै निरन्तरता दिने बताए । अब फेरि पनि वडाध्यक्षमै चुनाव लड्ने ? हुन्, होइनन्, अब वडाध्यक्षभन्दा माथि चुनाव लड्ने हो, त्यो त तपाईले बुझिहाल्नु भयो नि’, राममणि खुले, सायद अबको निर्वाचनमा उनको चाहना मेयर पदमा चुनाव लड्ने । बंगलाचुली गाउँपालिका—१ स्युजामा २०२८ साल वैशाख ४ गते जन्मिएका पाण्डेले प्राथमिक तहको कक्षा २ सम्म स्युजाकै महेन्द्र मावि बोझपोखरामा पूरा गरे । त्यसपछि उनको बसाइ रामपुर स¥यो । ३ कक्षादेखि ५ कक्षासम्म उनले जनता मावि बुकामा अध्ययन गरे ।
त्यसपछि एसएलसी रामपुरकै गंगा माविबाट उत्तीर्ण गरे । आइए पढ्न महेन्द्र बहुमुखी क्याम्पस प्रवेश गर्दै गर्दा उनी २०४६ सालमा विद्यार्थी राजनीतिमा जोडिए । तत्कालीन पार्टी सचिव श्रीमणि आचार्यबाट सङ्गठित सदस्यता लिएका राममणिले २०५१ मै राष्ट्रिय युवा संघको जिल्ला सदस्यको भूमिका निर्वाह गरिसकेका थिए । २०५३ सालमा नेकपा एमाले रामपुर इकाई सचिव बनेका पाण्डे २०५४ देखि स्थानीय तहको राजनीतिमा जोडिए । २०७४ सालमा घोराही उपमहानगरपालिका–१ को वडाध्यक्ष, २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि उनी सोही वडाको वडाध्यक्ष बने ।
त्यसो त उनी गाउँमै स्थापना भएको जैविक विविधता संरक्षण कृषि सहकारी संस्थाको पनि संस्थापक अध्यक्ष भए । जुन संस्थाले रैथाने वाली संरक्षण र प्रवद्र्धनको क्षेत्रमा काम गथ्र्यो । आफैले पढेको स्कुललाई माविमा अपग्रेड गरी सोही स्कुलमा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका पाण्डे स्थानीय भोटे सामुदायिक वनको पनि नेतृत्व गरे सचिवको जिम्मेवारीमा ।
प्रस्तुति : खेमराज रिजाल