गोरक्ष समाचारदाता
दाङ, २१ साउन । तिजको उल्लासपूर्ण माहोललाई लक्षित गर्दै सरुचारकर्मी तथा गीतकार प्रिया स्मृति गजमेरको शब्दमा तयार गरिएको तिज गीत ‘हाइ गोरी’ सार्वजनिक गरिएको छ ।
लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको तिज गीतमा सङ्गीतकार यादव योगीको मनमोहक सङ्गीत रहेको छ । मीना थापाको प्रस्तुसत रहेको गीत सङ्गीतकार योगीको आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।
भिडियोमा चर्चित मोडेल अस्मिता रनपालको अभिनय देख्न सकिन्छ भने गीतको स्मृति तिमल्सिना ‘गुरु आमा’ ले आकर्षक कोरियोग्राफी गरेकी छन् । मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको सङ्गीत संयोजन सञ्जय श्रीपालले गरेका छन् ।
तिजलाई मुख्य विषय बनाएर तयार पारिएको गीतमा माइत जाने, वर्षभरि महिलाले भोगेका पीडा पोख्ने, आमा र परिवारसँग दर खाने, साथीभाइसँग भेटघाट गर्दै रमाइलो गर्ने भाव मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । लामो समयदेखि पत्रकारिता गर्दै आएका गीतकार गजमेरले यस अघि आधुनिक तथा लोकदोहोरी गीत लेखिसकेका छन् ।
पछिल्लो समयका चर्चित गायक गोविन्द मधुर आचार्यको स्वरमा आधुनिक गीत ‘किन किन तिम्रै यादमा’, सुष्मा नेपालीको स्वरमा तीज गीत ‘नक्कली भैछु र’, ज्ञानेन्द्र स्वर्णकार र सुष्मा नेपालीको स्वरमा ‘दसैँ तिहार गीत’, यादव योगी र रीता केसीको स्वरमा लोकदोहोरी गीत ‘छिटको गुन्यो’ र ज्ञानेन्द्र स्वर्णकार तथा विशाखा शाहीको स्वरमा लोकदोहोरी गीत ‘तलतल बनायो’लगायतका गीत सिर्जना गरेका छन् ।