परिवर्तन प्रकृतिको नियम हो

नारायणप्रसाद श्रेष्ठ

प्रकृतिको नियमभित्र आबद्ध समय आफैमा परिवर्तित सत्यभित्र परिभाषित भएको हुन्छ । दिनपछि रात रातपछि दिन यो प्रकृतिको नियम हो । यो हिजो थियो आज छ र भोलि पनि रहिरहने सत्य हो ।

प्रत्येक दिन बिहान हुन्छ, दिउँसो हुन्छ र गोधुली साँझ हुँदै रात पनि पर्दछ । फेरि अर्को दिन मिरमिरे उज्यालो सहित बिहान आउँछ । मानवीय जीवनलाई र प्रकृतिमा आबद्ध सम्पूर्ण जीवात्मालाई चलायमान बनाउँछ । यो नियम हिजो जसरी परिचालन भएको थियो ।

आज पनि त्यसरी नै चलिरहेको छ । यो नियमलाई कसैले फेरबदल गर्छु भनी दुस्साहस गर्नु भनेको आफैलाई पतित बनाउनु हो । त्यसैले प्रकृतिको परिवर्तित सत्यलाई बुझेर मानवीय आचरण र व्यवहारमा पनि बुद्धिमान मानिएको मानव चेतनाले सधै सोचेर विचार र कर्म गर्नुपर्दछ ।

जसरी समयले आफ्नो नियमलाई फेरबदल गर्न सक्दैन त्यसैगरी जीवनको गति पनि आफ्नै गतिशीलतामा निरन्तर अघि बढिरहेको हुन्छ । हो, हाम्रो चेतन शक्तिले यसका विविध पक्षलाई केलाएर हेर्ने क्षमता राख्दछ । हामी जान्दछौं राम्रो के हो, नराम्रो के हो, त्यसै गरी एक अर्काको मूल्यांकन पनि गर्न हामी पछि पर्दैनौँ । यति मात्र होइन हामीभित्रको अहंकारले सम्पन्नता र विपन्नताको पकडी पनि हामी आफै गुथ्याउन कोसिस गर्छौं ।

विश्वास र अविश्वासको उपमा दिई समयको चक्रलाई आफ्नो बसमा राख्ने चेष्टा पनि गर्दछाँै । यति मात्र होइन समय हाम्रो सोच र चिन्तन अनुकुल चलोस् । हामी तबसम्म आफूलाई सफल भएको मान्दैनौ जबसम्म हामीले हाम्रो मनले र तनले चाहेको उद्देश्य पूरा हुन सक्दैन । यसरी जीवनको गतिशिलतामा हामी हाम्रो आकांछालाई समाजमा देखाउन खोजिरहेका हुन्छौँ । जब आफ्नो तन कमजोर र असहाय हुन्छ त्यस पछी हामी आफै भन्छौं घमण्ड र अहकार यो निरर्थक रहेछ ।

अनि आफै पनि भन्छौं जीवन् त फूल रहेछ । कोपिलाबाट फक्रदै जब फूल बन्ने तरखरमा जीवन हुन्छ तब त्यसबेला मात्र यो फूलले सबैलाई सम्मोहित गराउने रहेछ । अनुकुल अवसरमा आफूलाई प्रस्तुत गरर्दो रहेछ । जब फुल ओइलिने वा जीवनको उत्तरार्ध सुरु हुन पुग्दछ । तब उस्ले आफ्नो वास्तविक अवस्थाको पहिचान गर्दो रहेछ ।

यसरी नै हामीले आफ्नो जन्म र जन्मपछि निभाउनु पर्ने दायित्वको बोध गरी आफूलाई विसर्जनको संघारमा पु¥याउने गतिमा आफूलाई समर्पित गर्दा रहेछौ । जीवन जन्मने हुर्कने र मर्ने प्राकृतिक नियममा आबद्ध भएको सत्य थाहा पाउँदा पाउदै पनि यसतर्फ हाम्रो सोच कमै जागृत भएको अवस्था देखिन्छ ।

यस अवस्थामा समयको परिवर्तन र जीवनको परिवर्तित रुपलाई समय सापक्ष बुझ्ने कोशिस गरियो भने तब मात्र चेतनशील मानव जीवनले जान्न खोजेको उत्सुकता समाधान हुँदो रहेछ । उत्पत्ति हुने नष्ट हुने र पुनः उत्पत्ति हुने यो प्राकृतिक सत्यभित्र जीवनचक्र चलिरहेको सत्य जबसम्म मानवीय चेतनाले स्वीकार गर्न सक्दैन तबसम्म उसले जीवनको अर्थ र परिवर्तनको सत्यलाई बुझ्न सक्दैन ।

नदीको काम सागरमा विलय हुनु हो । बाटोमा जतिसुकै कष्ट र व्यवधान भए पनि नदीले त्यसलाई छिचोल्दै गएको हुन्छ र अन्तत गत्वा उसको गति समुन्द्रमा विलय हुन पुग्दछ । यो उसको नियति वा बाध्यता भनौं वा प्रकृतिको यथार्थ सत्य भनौँ । नदी समुन्द्रमा मिल्नैपर्छ । त्यति मात्र होइन खोला झरनाको नियति पनि यही गतिमा समुन्द्रमा पुग्ने दौडमा लागिरहन्छ ।

एकपछि अर्को गर्दै । जब समय परिवर्तित हुँदै जान्छ तब त्यसले देखाउने स्वरुप पनि परिवर्तित हुँदै जान्छ । त्यसरी नै जीवन पनि यही नियति भोग्दै अन्तमा ऊ जहाँबाट आयो उसलाई त्यही पुग्नुपर्दछ । जन्मपछि मृत्युवरण अवस्य गर्नुपर्छ । बाल युवा वृद्ध हुँदै सामाजिक माया बन्धनबाट मुक्त हुनैपर्छ ।

यसरी मुक्त हुने क्रममा कोही सहज अवतरण गर्नमा आफूलाई सक्षम गराउँछन् भने कोही असाध्यै रोगी भएर जानुपर्ने अवस्था हुन्छ । यसरी नै कोही नाम कमाएर जान्छन् त कोही भइरहेको प्रतिष्ठालाई समेत गुमाएर जानु पर्ने अवस्था हुन्छ । जन्ममरणको जति पनि समय छ, त्यो उसको संघर्ष र बलिदानको उपलब्धी हो । जसले जीवन छँदै आफूलाई सहयोगी र सहजयोगी बनाउँछ ।

समस्यालाई समस्या नमानी बुद्धि र विवेकले आफूलाई सफल बनाउँछ । विश्वासको धरातलमा आफूलाई खरो उतार्छ । पाप र पुण्यको साक्षी भएर सुकर्म गर्दै जान्छ । वास्तवमा त्यही व्यक्ति चिरकालसम्म अमर हुन्छ । अदृश्य रुपमा भन्ने हो भने ऊ सधैं जीवित भइरहन्छ तर जसले समयलाई नबुझी स्वार्थ र अहंकारी भई अगाडि बढ्दछ उसको गति केवल स्वार्थतर्फ मात्र आकर्षित हुन पुग्दछ ।

त्यसैले प्रकृतिको परिवर्तित नियमअनुसार जीवनको गतिशीलतालाई बुझी सत्यलाई सत्य र विश्वासको धरातल अनुकूल जीवनलाई अगाडि बढाउन सक्नुपर्दछ । जीवन सिँगारिएको तासको घर मात्र होइन, यसले समयको परिवर्तनसँगै नयाँ–नयाँ जीवनका आयामलाई भविष्यका सपुतप्रति मार्ग निर्देश गर्ने खालका कुरा पनि गर्दै अगाडि बढेको हुन्छ ।

उ सहन सक्ने क्षमता पनि राख्दछ । जसरी ढुंगालाई कालीगढले छिना हथौडाले ठोकी–ठोकी घाउ बनाउँदा पनि ढुंगा केही नबोली सहन्छ र अन्तमा उ मूर्ति बनेर सबैको पूज्य बन्छ । त्यसरी नै मानव जीवनले पनि आफूलाई संघर्ष गर्दै सहनशक्तिको आफ्नो क्षमतालाई आत्मसात गर्दै, सहनशीलता हुँदै आफ्नो जीवनलाई निश्चित गतिमा गतिशील बनाउन सक्षम हुनुपर्दछ ।

जीवनमा देखा पर्ने जति पनि समस्या छन्, ती समस्यासँगै समाधान पनि हुने सत्यलाई स्वीकार गरेर इमान्दार भए कुनै पनि योजना सहज तरिकाले समाधान हुन्छ भनी सधै सकारात्मक भाव जागृत हुने सर्वजन हितायको कर्म गर्नुपर्दछ । तसर्थ त्यसतर्फ आफूलाई प्रस्तुत गरौँ । यही नै प्रकृतिको यथार्थ नियम हो ।

भनिन्छ, दुर्जन प्राणीले खराब काम गर्छ भने त्यसले खासै फरक पर्दैन तर असल मानिसले एउटा पनि गल्ती गर्छ भने त्यो समाज र राष्ट्रका लागि दुर्भाग्य बन्न पुग्दछ । किनकि असल नियतले गरेको प्रत्येक कार्य राष्ट्र र राष्ट्रियताको लागि अमुल्य योगदान मानिन्छ तर वर्तमानको सामाजिक धरातलमा देखिएको गतिविधिलाई हेर्ने हो भने त्यस्तो देखिँदैन ।

असल मानिस बन्न निकै मेहनत संघर्ष गर्नुपर्दछ तर दुर्जन बन्न समय लाग्दैन । प्रत्येक व्यक्तिको मनमा राम र रावण दुवै हुन्छ । यो प्रकृतिको नियम हो । राम्रो र नराम्रो यो हाम्रै सामाजिक उपज पनि हो । जसले जीवन छँदै आफूलाई आफ्नो धरातललाई बुझ्दछ ।

आफूलाई उत्प्रेरकको रुपमा कसरी पहिचान गर्न र गराउन सकिन्छ भनी सोच्दछ, नयाँ सोच कसरी पहिचान गर्ने भने आफूलाई समर्पित गर्दछ । वास्तवमा त्यो नै महत्वपूर्ण पाटो मानिन्छ । त्यसैले समयको गतिशीलसँगै आफूमा आउने परिवर्तनलाई आत्मसात गरेर मनुष्य जीवन हिरा हो यसलाई हिरा भएर प्रस्तुत हुने वातावरण बनाउँदै अगाडि बढ्नु पर्दछ सहयोगी सदा खुसी असहयोगी सदा दुःखी भन्ने सामाजिक मान्यतालाई सिरोधार्य गरेर सधैं सद्भाव र सहयोगको लागि समर्पित हुने वातावरण आफूले आफूलाई बनाउनु पर्दछ ।

अहिले वर्तमानमा जे जति असन्तुष्टिका स्वर बाहिर आइरहेका छन् त्यसभित्र कतै न कतै कोही न कसैले कुनै किसिमको गल्ती गरेको अवस्थाले भएको पाइन्छ । जति मानिस असन्तुष्टि हुन्छ त्यति नै उ निराशावादी पनि हुन्छ । त्यसैले निराशा होइन आशाको किरण फैलाउने साहसी र हिम्मतवाल पवित्र आत्मा बनेर आफूलाई प्रस्तुत गर्नुपर्दछ ।

जीवन यस्तो भाँडो हो जो हेर्दामा भरिएको जस्तो देखिए पनि यो खाली नै हुन्छ त्यसमा धेरै अटाउने ठाउँ हुँदा हुँदै पनि हामी भरिएको महसुस गर्दछौँ । म सर्व ज्ञानी र सबै बुझ्ने भइसके म जस्तो इमान्दार र ज्ञानी कोही छैन, यस्तै बानी र कर्म गर्दै हामी स्वार्थी र अहंकारी भइरहेका छौँ ।

खाली भागमा के–के राख्ने, के नराख्ने त्यो कुरातर्फ खासै चासो राख्दैनौँ । यी सबै कुरा वास्तवमा मानिसको विवेकमा भर पर्दछ । राम्रा कुराहरु र सत विचारले भरिएको हाम्रो चेतन शक्ति छ भने हामीलाई समयले आफ्नो नियममा आबद्ध गराउँदै बसुदैव कुटुम्बकमको माध्यमबाट परिचालन गर्न मद्दत गर्छ भने गलत मानसिकता राखी आफ्नो स्वार्थ मात्र हेर्छौ भने त्यसले कस्तो परिणाम देखाउला ?

तसर्थ समयको परिवर्तनसँगै विचार र कर्ममा आउने भिन्नतालाई बुझी अगाडि बढ्नुपर्दछ । जति पनि नकारात्मक विचार बाहिर आइरहेको हुन्छ वास्तवमा त्यसले सामाजिक परिवेशलाई उल्टो गतिमा गतिशील बनाउने सक्छ ।

त्यसैले समय देख्दा सामान्य किन नहोस् उसले दिने चुनौती र अवसरलाई विवेकशील मानवीय चेतनाले सकारात्मक भाव जागृत गरी र गर्दै पनि, परिवर्तन र सम्भाव्यतालाई दृष्टिगत गरी समयको भावअनुसार आफूलाई परिचालन गर्नुपर्छ । जस्तै समस्या भए पनि समस्याको समाधान छ भन्ने सोच राखी विश्वास र समर्पणको भावले आफूलाई समर्पित गर्नुपर्दछ ।

जीवनलाई सहज गतिशील बनाउनुपर्दछ । त्यसैले प्रकृतिको परिवर्तित सत्यलाई बुझी विचारमा एकाग्रता, संकल्पमा दृढता, व्यवहारमा पवित्रता, वचनमा नम्रता ,कायम गरी आफू र आफ्नो परिवेशलाई प्रस्तुत गर्ने संकल्प गर्नुपर्दछ ।

तनको सुन्दरतामा होइन मनको सुन्दरतामा रमाउने कोसिस गर्नुपर्दछ । जहाँ स्वच्छ र पवित्र विचारको सागर हुन्छ त्यही शुद्ध मनको भाव तरंगित भइरहेको हुन्छ । तसर्थ त्यही परिवेशलाई जानेर जीवनलाई गतिशील बनाउनु सक्नुपर्छ किनकि समय त गतिशील भइरहन्छ नि । यो बिति पनि रहन्छ । यो प्रकृतिको नियम नै हो । यसलाई चाहेर पनि मानिसले रोक्न सक्दैन ।

न त यसको तरंगलाई कसैले रोक्न सक्ने क्षमता राख्दछ । तसर्थ तनको सत्य होइन प्रकृतिको सत्यलाई बुझी बाह्य आकर्षणमा होइन चैतन्य शक्तिले दिएको सुविचारमा देखा पर्ने सत्यलाई ग्रहण गरी जीवनलाई गतिशील बनाउनु पर्दछ । बाह्य प्रशंसामा होइन सेवामा रमाउन र बाँच्न सिक्नुपर्दछ ।

शरीर केवल परिचय हो । यसले मानव सत्यलाई सबैसँग परिचय गराएको हुन्छ ।यो प्रकृति नियमभित्र नाटकको पात्र भएर आएको हुन्छ जुन दिन यस्को जिम्मेवारी (पात्र भएर निभाउनु पर्ने ) सकिन्छ, त्यही समय दिन उस्ले अर्को रुप धारण गर्न जानै पर्छ । यो सत्य कदापी भुल्नु हुँदैन । किनकी यो त प्रकृतिको नियम हो र सत्य पनि हो । चेतना भया ।