दाङ,२० साउन । स्वर्गद्वारी महाप्रभुको १६७ औं जन्मजयन्ती (आविभार्व दिवस) भव्य कार्यक्रम गरेर मनाइएको छ । प्युठानको स्वर्गद्वारी आश्रमलगायतका विभिन्न ठाउँमा मंगलवार महाप्रभुको जन्मोत्सव मनाइएको हो ।
प्युठानको स्वर्गद्वारी आश्रम, दाङको घोराहीस्थीत झिगौरा आश्रम,देउखुरीको वनगाउँ आश्रम,कपिलबस्तुको बालहंस साङ बेदविद्यालय खैरेनीपुर, तपोवन शिवालय टोट्के म्याग्दी, पभ्रचेलाधुरी ध्यानाश्रम बिम म्याग्दी, हंशेश्वर पशुपति शिवालय धारापानी कास्की, भगवान सन्यास आश्रम एवं गुरुकुल पशुपति रामन्दिर काठमाडौ, कैलाश उमाकुण्ड आश्रम पशुपति, शुक्लेश्वर महादेव मन्दिर फर्से पर्वतलगायतका रहेका आश्रमहरुमा महाप्रभुको जन्मोत्सव मनाइएको हो ।
जन्मोत्सवमा महाप्रभुप्रति आस्था राख्नेहरू स्वर्गद्वारी पुगेर आशीर्वाद लिनका साथै भजन गाएर आश्रममा जन्मोत्सव मनाइएको स्वर्गद्वारी आश्रमका भक्त भुवन बाले जानकारी दिएका छन् । उनका अनुसार भगवान श्रीरामको मर्यादा पुरुषोत्तमको भूमिका निभाएकाले महाप्रभुको सम्झनामा मंगलवार विहान ६ बजेदेखि बुधवार विहान ६ बजेसम्म भजनकृतन गरिने छ । स्वर्गद्वारी आश्रमका संस्थापक महाप्रभु साविकको राप्ती अञ्चलअन्तर्गत पर्ने रोल्पाको रुन्टीगढी गाउँपालिकामा वि.सं. १९१६ साउन २४ गते पुत्रदा एकादशीका दिन जन्मिएका थिए । पिता अनिरुद्ध गौतम र माता श्वेताकुमारीको कोखबाट जन्म जन्मिएका महाप्रभुको बाल्यकालको नाम नारायण गौतम खत्री हो ।
१३ देखि २५ वर्षको उमेरसम्म जनसम्पर्कबाट अलग भई स्वर्गद्वारी महाप्रभुले पूरा १२ वर्ष तपस्या गरेका थिए। त्यसपछि उनलाई संन्यास लिने इच्छा भयो र वाराणसीमा योग साधना गरी बस्ने र समय समयमा नेपालका विभिन्न तिर्थस्थलमा आइरहने सिद्ध सन्त स्वामी सच्चिदानन्द गिरीबाट संन्यास दीक्षा लिएका थिए । वैदिक सनातन धर्मको आधार स्तम्भ स्वर्गद्वारी आश्रमका संस्थापक महाप्रभुले १९५२ बैशाख पूर्णिमामा विश्वशान्तिका लागि अखण्ड महायज्ञ स्थापना गरेका थिए । उक्त अखण्ड यज्ञ एक सय ३० बर्षदेखि विश्व शान्ति र पर्यावरण संरक्षणका लागि चलिरहेको छ ।
महाप्रभुले गरिव दुःखीको सेवासँगै योग, ध्यान र यज्ञ संस्कृतिको माध्यमबाट तिब्बत, चीन, बर्मा, भातर र भुटानलगायतका देशहरुमा नेपालको प्रतिष्ठा बढाउनेदेखि राष्ट्रिय एकतालाई मजबुत पार्ने गरि नेपाली स्ांस्कृति र पुम्परातको पुर्नजागरण गराएको विश्वास गरिन्छ । महाप्रभुले सनातन परम्परा भित्र रहेका वैष्णव, शैव, शाक्त, बौद्ध, किराँत ,बोन लगायतका विभिन्न प्रकारका सम्प्रदायहरु बीचमा एकता र समन्वय गराउने कार्य गरेको विश्वास छ ।