नेपालमा पर्यटन विकासको आवश्यकता

एकराज शर्मा अधिकारी

नेपाल विकासोन्मुख देश हो । विकसित राष्ट्रको दाजोमा जाँदैन । के नेपाल माग्नेहरुको देश हो, होइन ? यो विरहरु जन्मिएको देश हो तर आज हामी पछाडी परेका छौँ । यहाँ बसेर गरेर खानेभन्दा बसेर खाने धेरै छन् । विस्तारै विस्तारै देश गरिब हुँदैन गएको छ ।

त्यसैले मागेर खाने बानी बसेको छ । नमागेर देश चलाउन सक्ने स्थिति छैन । हाम्रो माग्ने पेसा होइन तर पानी नपरेर अनिकाल पर्दा वा पानी परेर बाढी पहिरोले देशमा क्षति हुँदा महामारी रोग पैmलिँदा माग्नु स्वभाविकै हो .तर हरेक वर्ष गरिब छौँ भनेर नेपालले माग्न सुहाँउदैन ।

मानिस जन्मिदैमा गरिब हुँदैन । समय, परिस्थितिसँगै आफ्नै कारणले गरिब हुने गर्दछ । मानिस पैसा नभएर, पैसा कमाउन नसकेर गरिव हुन सक्छ तर गरिबीलाई पैसासँग तुलना गरेर हेर्न हुँदैन । परिश्रम गर्ने मानिस, मेहनत गर्ने मानिस कुनै भोगले मर्दैन । नेपालमा सहकारी संस्थाहरु छन् । नीति नियम अनुसार सदुपयोग गर्ने, कर्जा लिएर ठुला–ठुला कारोबार गर्नेहरु, कर्जाको सदुपयोेग गर्ने मानिस आत्मनिर्भर भएका पनि छन् ।

कर्जाको दुरुपयोग गर्ने मानिस डुबेका छन् । इतिहास भजाएर मात्र बाच्न सकिँदैन । काम गर्नुपर्छ, मेहनत गर्नुपर्छ । आत्मनिर्भर हुन सकिन्छ । आज पनि कतिपय मुलुकहरुले आफ्नो साधन र स्रोत परिचालन गरेर आफ्नो देशलाई धनी बनाएका छन् । आफ्नो देशको सुन्दरताको गीत गाएर मात्र हुँदैन । किताबमा मात्र लेखेर मात्र हुँदैन ।

विश्वको अग्लो सगरमाथा हाम्रो देशमा छ भनेर हुँदैन । बुद्धको जन्मस्थल लुम्बिनी हो भनेर हुँदैन । आत्मनिर्भर हुनका लागि योजना बनाउनुपर्छ । के गर्ने, के नगर्ने ठोस नीति बनाउन आवश्यक छ । कुनै बेला नेपालमा गलौचा उद्योग प्रशस्त खुलेका थिए । आज ती सवै समाप्त भए ।

हाम्रो देशमा आत्मनिर्भर हुनका लागि पर्यटन उद्योगमा ध्यान दिनपर्छ । विदेशी पर्यटकहरु नेपाल भ्रमण गर्न लालायित छन् । आन्तरिक पर्यटनको मात्र भर पर्नु हुँदैन । विदेशी पर्यटकलाई पनि बस्ने सेवा र सुविधा दिनुपर्छ । ठाउँ–ठाउँमा होटेल खोल्नुपर्छ । नेपालीको बानी व्यहोरा पनि राम्रो हुनुपर्छ । नेपाल घुम्न आउने पर्यटकहरुले नयाँ कुरा देख्न, सिक्न र मनोरञ्जन गर्नका लागि आउँछन् ।

हाम्रो देशमा धेरै पर्यटकीयस्थलहरु छन् । प्राकृतिक सौदर्यताले भरिपूर्ण भएको देश नेपाल जस्तो अन्य देश विश्वमा छैनन् । नेपालमा ठुला–ठुला ताल, अग्ला पहाड छन् । मठ मन्दिर छन् । विश्वमा नपाइने चराचुरुङ्गी, जीवजन्तु, वनस्पति छन् । पर्यटकलाई आनन्द दिने वस्तुहरु प्रशस्त छन् । हामी किन पछाडी पर्ने ? विश्वलाई चकित बनाउन सक्छौ । पर्यटन व्यवसायलाई अगाडी बढाउन सक्यौ भने देशको काया पलट हुन्छ ।
विश्वको सबैभन्दा पर्यटक भित्र्याउने मुलुक हुन सक्छ । प्राकृतिक दृष्टिले हेर्ने हो भने नेपाल स्वीजरल्याण्डभन्दा कम छैन । पर्यटकलाई भित्राउन सक्यौँ भने सजिलै आत्मनिर्भर हुन सक्छौँ । पर्यटन उद्योगलाई आकर्षित गर्न भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक छ । पर्यटन क्षेत्रको विकास गर्न सक्यौ भने विदेशी मुद्रा आर्जन हुनका साथै रोजगारीको सिर्जना हुन सक्छ ।

नेपाल भूपरिवेष्ठिक देश भएकाले जलमार्गको विकास हुन नसकेपनि थल मार्गको विकास गर्न सकिन्छ । हिमाल आरोहन गर्न चाहने पर्यटकलाई हिमाल आरोहन गर्ने अनुमति दिनुपर्छ । सांस्कृतिक पर्यटन र हवाई पर्यटनलाई आकर्षित गर्न सक्यौ भने देशको आर्थिक विकासमा थप टेवा पुग्न सक्छ । ठाउँ ठाउँमा विभिन्न खाले पार्कहरु निर्माण गर्नुपर्छ ।

पार्कले पर्यटकलाई आकर्षितसँगै अर्थतन्त्रको विकासमा टेवा पु¥याउन सक्छ । नेपाल सरकारले २०११ सालदेखि नै पर्यटन वर्ष घोषणा गरेको हो । सरकारले पर्यटनका लागि योजना नबनाएको होइन तर कार्यान्वयन गर्न सकिन । पर्यटकलाई खान बस्न रेष्टुरेन्ट, सामुदायिक लज बनाउन सकेको छैन ।

धेरै जसो पदमार्गबाट पर्यटन गर्न चाहने पर्यटकले मुल बाटोभन्दा गोरेटो बाटो मन पराउँछन् । कृत्रिम बाटोभन्दा प्राकृतिक बाटो मन पराउँछन् तर बाटो सफा हुनुपर्छ । ठाउँ ठाउँमा खाने, बस्ने र सुत्ने ठाउँको व्यवस्था हुन आवश्यक छ । पर्यटन विकासका लागि जनप्रतिनिधि सहयोगी चाहिन्छ ।

नेपालमा त्यो बानी बसेको छैन । २००७ सालभन्दा अगाडि नेपालमा पर्यटकलाई आउन दिदैन थियो अर्थात प्रतिवन्ध थियो । तर नेपालमा पर्यटक आउने क्रम बढेको छ । यो खुसीको कुरा हो । नेपालभन्दा सानो देश सिंगापुर समुन्द किनारामा छ । त्यहाँ डाडाकाडा, खोला, नाला, झरना केही पनि छैन । थोरै जनसंख्या भएको देश हो ।

तर पनि त्यो सानो देशले हरेक बर्ष एक डेढ करोड पर्यटक भित्राउने गर्दछ । नेपालले पनि त्यति पर्यटक भित्राउन सक्नु पर्ने हो तर सरकारले पर्यटन विकासमा खर्च गर्न सकेको छैन । उनीहरुले भौतिक पूर्वाधार निर्माणमा प्रशस्त लगानी गरेका थिए । नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश हो, सबैलाई थाहा छ ।

यदी हामीले पर्यटकलाइ आकर्षण गर्न सक्यौ भने हामीले छिट्टै आत्मनिर्भर हुन सक्छौ । त्यसका लागि कुरा गरेर मात्र हुँदैन । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर काम गर्नुपर्छ । तिनै तहका सरकारको समन्वय नभई पर्यटन विकास हुन सक्दैन । पर्यटन विकास गर्नुपर्ने आजको आवश्यकता हो ।