गोरक्ष समाचारदाता
दाङ, २० साउन । तरकारी सङ्कलनसँगै प्रशोधन र प्याकेजिङ गरेर बजार व्यवस्थापन गर्ने उद्देश्यले देउखुरीमा एक करोड लगानीमा तरकारी प्रशोधन केन्द्रको भवन निर्माण गरिएको छ ।
लमही नगरपालिका–२ केरुनियामा आर्थिक वर्ष २०८१÷०८२ मा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत् समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाले ‘समुन्नति तरकारी सङ्कलन तथा प्रशोधन केन्द्र’ निर्माण गरेको हो ।
दाङसहित सल्यानबाट तरकारी सङ्कलन गरेर प्रशोधन गर्ने र त्यसलाई प्याकेजिङ गरेर बजार व्यवस्थान गर्ने गरी तरकारी सङ्कलन तथा प्रशोधन केन्द्रका लागि दुई तलाको पक्की भवन निर्माण गरिएको समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष अञ्जु चौधरीले बताइन् । उनका अनुसार भवन निर्माण गरेर सटर, ढोका र भm्याल राख्ने काम भएको र रङरोगनसँगै तरकारी प्रशोधन, गे्रडिङ र प्याकेजिङका लागि मेसिन जडान गर्न बाँकी रहेको छ ।
सहकारीले पश्चिम नेपालमै ठुलो कार्यक्रमका रूपमा तरकारी सङ्कलन तथा प्रशोधन केन्द्र निर्माण गरेर बजारीकरण गर्न थालेको सहकारी संस्थाका व्यवस्थापक सुरज चौधरीले बताए ।
प्रशोधन र प्याकेजिङ गरेको तरकारी बिक्री गर्नका लागि बजारको पहिचान गर्ने काम भइरहेको भन्दै सहकारी संस्थाका व्यवस्थापक चौधरीले भने, ‘सहकारीले अहिले पनि गाउँघरमा दिदीबहिनीले उत्पादन गरेको तरकारी सङ्कलन गरेर बजार व्यवस्थापन गरिरहेको छ । अब उक्त तरकारीलाई प्रशोधन, ग्रेडिङसँगै प्याकेजिङ गरेर बजार व्यवस्थापन गर्ने तयारीमा छौँ । त्यसका लागि बजार अध्ययन भइरहेको छ ।’
सहकारीले तरकारी प्रशोधन, ग्रेडिङ र प्याकेजिङ गरेर दाङसँगै बुटवल, भैरहवा, नेपालगन्ज, धनगढीलगायतका बजारमा बिक्री गर्ने तयारी गरेको सहकारी संस्थाका व्यवस्थापक चौधरी बताउँछन् । सहकारीलाई तरकारी सङ्कलनसँगै प्रशोधन र प्याकेजिङ गरेर व्यवस्थापन गर्न हेफर नेपाल र ग्रामीण महिला उत्थान केन्द्रको साझेदारीमा आइएलभिसी परियोजना अन्तर्गत ६० लाख रुपैयाँ दिन थालिएको हेफर नेपालका व्यवसाय विकास अधिकृत हिमाल खड्काले जानकारी दिएका छन् ।
उनका अनुसार भवन निर्माणको काम सकिएकाले आगामी पुस÷माघ महिनासम्म मेसिन जडान गर्ने गरी तयारी भइरहेको बताए । सहकारी संस्थाका व्यवस्थापक चौधरीका अनुसार तरकारी सङ्कलन तथा प्रशोधन केन्द्रसँगै सङ्कलन गरिएको तरकारी राख्नका लागि १० टन क्षमताको कोल्डस्टोर स्थापनाका लागि हेफर नेपालको ११ लाख र सहकारी संस्थाको १० लाख गरेर २१ लाख रुपैयाँबाट थप अर्काे भवनसमेत निर्माण गरिएको छ ।
भवन निर्माण भइरहेकाले प्राविधिक सामग्री खरिदका लागि लमही नगरपालिकासँग २५ लाख रुपैयाँ सहयोग गर्न माग गरिएको बताएका छन् । सहकारी संस्थाले अहिले देउखुरी क्षेत्रमा किसानले उत्पादन गरेको दैनिक करिब एक हजारदेखि १५ सय केजीसम्म तरकारी सङ्कलन गरेर दाङसँगै बुटवल, नेपालगन्जलगायतका बजारमा पु¥याउँर्द आएको छ ।
सहकारीले तरकारी सङ्कलन तथा प्रशोधन स्थापना गरेर दाङका आठ वटा र सल्यानका दुई वटा सहकारीले उत्पादन गरेका तरकारीको बजारीकरण गर्ने तयारी गरिरहेको सहकारीका व्यवस्थापक चौधरीले बताएका छन् ।