गोरक्ष समाचारदाता
दाङ, २० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादन र उद्यमशीलताको प्रवर्धनमार्फत् रोजगारी सिर्जना गर्न सकिने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा सोमवार उद्यमी बाबु रोकासँग भएको छलफलको क्रममा मुख्यमन्त्री आचार्यले नवप्रवर्तनयुक्त योजनासहित स्थानीयस्तरमै उत्पादन र स्वरोजगारलाई प्रोत्साहन गर्ने कार्यलाई प्रदेश सरकारले नीति तथा कार्यक्रमको प्राथमिकतामा राखेको जानकारी दिए । भूमिका स्थान–५, जोगिटारी हाल लमही नगरपालिका–४, अर्नहवा निवासी उद्यमी रोकासँगको छलफल गरेका हुन् ।
‘हामीले स्थानीय उत्पादन र उद्यमशीलतामार्फत् समृद्धि हासिल गर्ने सङ्कल्प गरेका छौँ । स्थानीयस्तरमै उत्पादन बढाउने, बजारीकरणको अवसर विस्तार गर्ने र सिपमा आधारित रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध छ’, उनले भने । छलफलमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवालीसमेत सहभागी भएका थिए ।
मुख्यमन्त्री आचार्यले बाँसजन्य उत्पादन जस्ता स्थानीय स्रोतमा आधारित उद्योगमार्फत् आम्दानी र रोजगारको सम्भावना धेरै रहेको उल्लेख गर्दै यस्ता क्षेत्रमा सरकारले नीति, योजना र सहुलियतमार्फत् सहयोग गर्ने स्पष्ट पारे । उद्यमी रोकाले बाँसजन्य सामग्री उत्पादनमार्फत् स्वरोजगारमा जोड दिँदै स्थानीय युवालाई सिपमूलक तालिम र रोजगारीको अवसर सिर्जना गर्दै आएको जानकारी गराएका थिए ।
उनले उत्पादन, बजारीकरण र प्रविधिमा थप सहयोगको आवश्यक रहेको बताउँदै प्रदेश सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गरे । मुख्यमन्त्री आचार्यले स्थानीय स्रोत र ज्ञानमा आधारित उद्यमशील प्रयासलाई प्रोत्साहन गर्दै, समृद्ध प्रदेश निर्माणको योजनालाई कार्यान्वयनमा लगिएको जानकारी दिए ।