राप्तीमा १३ हजार बढी विद्यार्थीको मुटु परीक्षण गरिँदै

तुलबहादुर कवर
दाङ, २० साउन । राप्ती गाउँपालिकामा १३ हजार बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ । राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनातथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर, लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा)को प्राविधिक सहयोगमा कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रम अन्तर्गत पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १३ हजार सात सय १८ जना विद्यार्थीको जन्मजात मुटुरोग तथा बाथ मुटुरोगसम्बन्धी निःशुल्क परीक्षण गरिनेछ । गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बालबालिकाको स्वास्थ्यलाई पालिकाको उच्च प्राथमिकतामा राख्दै कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

‘हाम्रो लक्ष्य शैक्षिक गुणस्तरसँगै विद्यार्थीको समग्र स्वास्थ्यमा सुधार ल्याउनु हो’, उनले भने, ‘मुटुरोग जस्ता संवेदनशील विषयमा सचेतना र समयमै परीक्षण अत्यन्त आवश्यक भएकाले यस्तो अभियान सञ्चालनमा ल्याइएको हो ।’ अध्यक्ष विष्टले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीलाई दीर्घकालीन विकासको आधार भन्दै यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेका अनुसार ३ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा फोहोर वातावरण र अस्वस्थ खानपानका कारण घाँटीमा सङ्क्रमण भई मुटुमा असर पुग्ने सम्भावना उच्च हुने भएकाले समयमै परीक्षण गर्नु आवश्यक हुन्छ । ‘यस उमेरका बालबालिकामा फोहोरमा खेल्ने, अस्वस्थ खाना खाने प्रवृत्ति धेरै हुन्छ’, उनले भने, ‘जसले घाँटीमा सङ्क्रमण गराउँछ र पछि मुटुमा असर पुग्न सक्छ ।’

डा. बन्जाडेका अनुसार कोही बालबालिकामा जन्मजात मुटुरोग देखिन सक्छ । गर्भावस्थामा आमाले अन्जानमा कडा औषधी सेवन गर्ने, धूम्रपान वा मध्यपान गर्ने, अत्यधिक तनावमा रहने जस्ता कारणले नवजात शिशुको मुटुको भल्भमा प्वाल पर्ने समस्या देखिएको छ । उनले रोग लागेपछि उपचार गर्नुभन्दा समयमै परीक्षण र सचेतना फैलाउनु नै उत्तम उपाय भएको बताउँदै प्रत्येक व्यक्ति स्वयम् जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको शुभारम्भ सोमवार वडा नं. २ स्थित आदर्श माध्यमिक विद्यालय, लालमटियाबाट गरिएको हो । आयोजकका अनुसार पालिकाभित्र रहेका सबै विद्यालयमा पुगेर विद्यार्थीका मुटु परीक्षण गरिनेछ ।