खोप केन्द्र भवनको उद्घाटन

गोरक्ष समाचारदाता
तुलसीपुर, २० साउन । तुलसीपुर उपमहानगरपालिका–१२ कचिलामा नवनिर्मित खोप केन्द्र भवनको उद्घाटन गरिएको छ । सोमवार एक कार्यक्रमको आयोजना गरी भवनको उद्घाटन गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष कृष्ण चौधरीको अध्यक्षता तथा वडा नम्बर १२ का अध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो । प्रमुख अतिथि वडाध्यक्ष चौधरीले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि खोप केन्द्र निर्माण गरेको बताए ।

उनले स्वास्थ्य क्षेत्रमा गरिएका प्रतिबद्धता पूरा गर्दै खोप केन्द्रको भवन निर्माण गरिएको उनको भनाइ छ । खोप केन्द्रको भवन नहुँदा स्वास्थ्यकर्मीलाई असहज हुने, सुत्केरी तथा गर्भवती महिलालाई समस्या हुर्ने अवस्था अन्त्य भएको उनले बताए । आफ्नै खोप केन्द्र नहुँदा नागरिकले घाम, पानीको हैरानी व्यहोर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । वडाको बजेटबाट करिब दुई लाख ६० हजार रुपैयाँको लागतमा दुईकोठे पक्की भवन भएपछि हरिपौरी स्वास्थ्य केन्द्रका इञ्चार्ज मोहनकुमार शर्माले खोप सेवा सञ्चालन गर्न सहज हुने बताए ।

पहिले आफ्नो भवन नहुँदा भूइँह्यारथानको भवनबाट एक वर्ष सेवा दिएको जानकारी दिए । अरूको भवनबाट सेवा दिँदा समस्या झेल्नुपर्ने उनले बताए । तुलसीपुर–१२ मा चार वटा खोप केन्द्र सञ्चालनमा रहेका छन् । हाल कचिला, हरिपौरा, क्वाङी र टरिगाउँ गरी चार वटा खोप क्लिनिक सञ्चालनमा छन् ।

अहिलेको नयाँ भवनबाट शीतलपुर, कचिला, कचेली र बाह्र–बिघाका नागरिक लाभान्वित हुने शर्माको भनाइ छ । खोप केन्द्रबाट गाउँघर क्लिनीक हरेक महिनाको १० गते, खोप क्लिनीक १९ गते नियमित सञ्चालन हुने उनले जानकारी दिए ।

कार्यक्रममा वडाका सचिव गणेशकुमार आचार्य, उरहरी स्वास्थ्यचौकीका इञ्चार्ज चित्रबहादुर वली, जसपुर प्रहरी चौकीका इञ्चार्ज एकबहादुर खड्का, उरहरी स्वास्थ्यचौकीका सिनियर अनमी विष्णु वली, हेमनगर आधारभूत स्वास्थ्य केन्द्रका रेश्मी बस्नेत, समाजसेवी भरत गिरी, पदम वैद्य, सुरेन्द्र गिरी, हरियाली टोल विकास संस्थाका अध्यक्ष काशीराम नेपालीलगायतले स्थानीय स्तरमा खोप केन्द्र स्थापना भएपछि नागरिकलाई सहज हुने बताए । कार्यक्रमको सहजीकरण उरहरी स्वास्थ्यचौकीका सिनियर अहेव खड्कबहादुर बस्नेतले गरेका थिए ।