प्रिया स्मृति गजमेर
देउखुरी, १९ साउन । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले एक वर्षको अवधिमा गरेका उपलब्धि सार्वजनिक गरेको छ । राप्ती उपत्यका देउखुरीमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर स्वास्थ्यमन्त्री खेमबहादुर सारुले मन्त्रालयको एक वर्षको अवधिमा गरेका प्रगति सार्वजनिक गरेका हुन् ।
मन्त्री सारुले सुशासन, पारदर्शिता र जवाफदेहितासँगै प्रदेशमा स्वास्थ्य सेवालाई व्यवस्थित गर्ने काम गरिएको बताए । जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सरकारले प्रभावकारी कार्ययोजना निर्माण गरी काम गरेकाले आर्थिक वर्ष २०८१÷०८२ मा मन्त्रालयले छ दशमलव ५१ प्रतिशत प्रगति हासिल गरेको बताएका थिए ।
मन्त्री सारुका अनुसार स्वास्थ्य सेवालाई प्रदेशमा थप व्यवस्थित र सुविधा सम्पन्न बनाउने योजना अन्तर्गत बुटवलमा निर्माणाधीन १२ सय श्ययाको लुम्बिनी प्रादेशिक अस्पतालको २०८१ भदौ १५ मा शिलान्यास गरिएको अहिलेसम्म २७ प्रतिशत भौतिक प्रगति भएक छ ।
स्वास्थ्य प्रणालीलाई कानूनी रूपमा व्यवस्थित गर्न मन्त्रालयले नौ वटा नियमावली, कार्यविधि र निर्देशिका स्वीकृत तथा परिमार्जन गर्नुका साथै पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति मन्त्रिपरिषद्बाट पारित भएर कार्यान्वयनको चरणमा पुगेको उनले बताए । क्यान्सर, मुटु र मृगौला प्रत्यारोपण उपचारका लागि अब जिल्ला स्वास्थ्य कार्यालयमार्फत् सिफारिस गरिने व्यवस्था लागु गरिएको छ ।
प्रदेशका १३ स्थानीय तहमा २६ जना रोभिङ नर्स खटाएर मानसिक स्वास्थ्य, पोषण तथा मातृमृत्यु न्यूनीकरणसम्बन्धी सेवा तथा परामर्श प्रदान गरिएको मन्त्री सारुले बताए । पारदर्शिता अभिवृद्धि गर्न मन्त्रालय र मातहतका निकायमा रहेका ४१ वटा सवारीसाधनमा जिपिएस ट्रयाकिङ प्रणाली लागु गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट काट्ने सुविधा, डिजिटल रूपमा शुल्क भुक्तानी गर्ने व्यवस्था, स्तन स्वास्थ्य सेवा क्लिनीक, ९० श्ययाको आन्तरिक रोग वार्ड, एमआरआई, रगत सङ्कलन तथा भण्डारण केन्द्रलगायतका सेवा विस्तार गरिएको छ । तीन हजार आठ सय ५१ जना बिरामीलाई विशेष आर्थिक सुविधा प्रदान गरिएको मन्त्री सारुले जानकारी दिए ।
एक वर्षको अवधिमा प्रदेशका एक लाख चार हजार बढी नागरिकको नसर्ने रोग स्क्रिनिङ गरिएको छ भने ३९ हजार एक सय ७५ जना ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिएको छ । ६९ हजार दुई सय ४३ जना गर्भवति महिलाले संस्थागत प्रसूति सेवा लिएका छन् । स्वास्थ्य बिमा अन्तर्गत मन्त्रालय मातहतका दुई हजार ६४ कर्मचारी आबद्ध गरिएका छन् । प्रदेशका नौ जिल्लामा मृगौलाको डायलाइसिस सेवा विस्तार गरिएको छ ।
५० श्ययाको भालुबाङ अस्पतालमा कर्मचारी नियुक्त गरी सेवा सुरु गरिएको मन्त्री सारुले बताए । चार वटा स्वास्थ्य संस्था भवन निर्माण सम्पन्न भइसकेका छन् भने सात वटा हाल निर्माणाधीन अवस्थामा छन् । प्युठानमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत् ७६ जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको उनले जानकारी दिए । १०२ नम्बरमार्फत् प्रादेशिक एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।