घोराहीको वार्षिक सार्वजनिक सुनुवाइ

विकास निर्माणसँगै सेवाप्रवाहलाई सहज बनाउन सुझाव
गोरक्ष समाचारदाता
दाङ, १९ साउन । घोराहीमा विकास निर्माणका कार्यसँगै सेवाप्रवाहलाई सहज बनाउन नागरिकले आग्रह गरेका छन् ।
घोराही उपमहानगरपालिकाको आयोजना तथा समाजका लागि सञ्चार पैरवी नेपालले आइतवार घोराहीमा आयोजना गरेको नगरस्तरीय वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीले नगरका क्षेत्रमा विकास निर्माण ढिलाइ हुँदा बर्षादको समयमा पानी जमेर हिडडुल गर्न समस्या, विद्युत तथा नेटका तारहरू लत्रिएर दुर्घटनाको जोखिम बढाउने काम गरेकोदेखि उपमहानगरपालिकाबाट सेवा लिदा नागरिकलाई दुःख दिने काम हुने गरेको भन्दै सेवालाई सहज बनाउन आग्रह गरेका थिए ।

यसैगरी विकास निर्माणसँगै नगरपालिकामा बाहिराहरूको सहजताका लागि दोषासेको व्यवस्था गर्नुपर्ने,बाल क्लवलाई सक्रिया बनाएर प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना गर्नुपर्नेलगायतका माग गरेका थिए । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक योजना, कार्यक्रम, बजेट तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारीतालगायत विषयमा आईतबार नगरस्तरीय वार्षिक सार्वजनिक सुनुवाई गरेको हो ।

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा नगरबासीले समृद्ध उपमहानगर बनाउन पालिकाले लिएको नीतिलाई थप प्रभावकारी बनाउँदै लैजान सुझाव दिएका छन् । नगरबासीहरूले केही ठाउँमा निर्माणाधीन भौतिक पूर्वाधारमा भई रहेको ढिलासुस्तीले सास्ती भईरहेको भन्दै चाँडो काम सम्पन्न गर्न आग्रह गरेका थिए ।

यसैगरी कार्यक्रममा सहभागीले संघ र प्रदेश सरकारका योजना कार्यान्वयनमा पालिकाले समन्वय गर्न ध्यानाकर्षण गराएका थिए भने बहुवर्षीय योजनालाई नगरबासीको जीवनसँग जोडेर लैजान आग्रह गरेका थिए । विद्यार्थीहरूले बालमैत्री पालिकामा बालबालिकाहरूको आवाज सुन्ने वातावरण बनाउन, पर्याप्त पुस्तकालयको व्यवस्था गर्न अग्रह गरेका थिए ।

संस्कारयुक्त शिक्षामा जोड दिँदै बालबालिकाहरूमा सकारात्मक सोँचको विकासु गर्न सचेतना र उत्प्रेरणात्मक कार्यक्रम विद्यालय तहमा व्यापक बनाउन पनि अभिभावकले सुझाव दिएका छन् । शिक्षक दरबन्दी मिलान चाँडो गरी पठनपाठन प्रभावकारी बनाउन, महिला स्वास्थ्य स्वयंसेविकाहरूको समस्या सम्बोधन गर्न पनि सहभागीले पालिकाको ध्यानाकर्षण गराएका छन् ।

समाजका लागि सञ्चार पैरवी नेपालको सहकार्यमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा नगर प्रमुख चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले सहभागीबाट आएका प्रश्न, जिज्ञासा र गुनासो सम्बोधन गरेका थिए । नगरबासीहरूका बीचमा पुग्न नियमित सार्वजनिक सुनुवाईका माध्यमबाट पालिकाले गरिरहेका काम जानकारी गराउन र नगरबासीहरूको समस्या सुझावका रुपमा ग्रहण गर्ने काम हुँदै आएको जवाफदेही वक्ताहरूले बताएका थिए ।

नगरप्रमुख चौधरीले फोहोर कर वैज्ञानिक र व्यवस्थित बनाउन पालिकाले आवश्यक गृहकार्य गर्ने बताउँदै सरसफाईका कार्यक्रमलाई टोलटोलमा व्यापक बनाउँदै लैजान आग्रह गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले शिक्षामा गुणस्तर सुधार गर्न, स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बनाउन, कृषि तथा युवा उद्यमशीलता लगायतका क्षेत्रमा नजिता दिने गरी पालिकाले काम गरिरहेको बताइन ।

प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले नगरको विकाससँगै जनताको सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । कार्यक्रममा पालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले पालिकाको वार्षिक प्रगति विवरणहरू प्रस्तुत गरेका थिए । उनका अनुसार नगरको कुल बजेटको ७७ दशमलब ६७ प्रतिशत बजेट खर्च भएको जानकारी गराएका थिए ।

सार्वजनिक सुनुवाईमा पालिकाको सेवा प्रवाहका विषयमा तयार पारिएको नागरिक अभिमत, सेवा लिएर बाहिरिँदै गर्दा नागरिकले भोगेको, अनुभव गरेका विषय समेटिएको प्रतिवेदन नवीन चौधरीले प्रस्तुत गरेका थिए । सार्वजनिक सुनुवाईमा कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, महाशाखा, शाखा प्रमुखहरू, वडा सचिव, टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी, नागरिक अगुवालगायतको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार छवि पुरीले गरेका थिए ।