गोरक्ष समाचारदाता
दाङ, १९ साउन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ४ नम्बर व्युरो सचिव तथा पोलिटव्युरो सदस्य समीर केसीले अहिलेको संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्ने बताएका छन् । देशमा लामो सङ्घर्ष र बलिदानीबाट नयाँ व्यवस्था स्थापना भए पनि अहिले सिङगो व्यवस्था अरूको कब्जामा पर्दा नेपाली जनताको उत्पीडन अन्त्य हुन नसकेको र भ्रष्टाचार, बेथिति मौलाएको उनको भनाइ छ ।
अहिलेको संसदीय व्यवस्था अन्त्य गर्दै देशमा वैज्ञानिक समाजवाद लागु गर्न सबै जागरुक हुनुपर्ने बेला आएको केसीले बताए क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला कार्यसमिति दाङले आयोजना गरेको भ्रष्टाचार विरोधी अभियानको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
केसीले नेतृत्व तहबाट नैतिक मूल्य चुक्दै गएको र जनताका आधारभूत आवश्यकतामा ध्यान नपुगेको भन्दै संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी वैज्ञानिक समाजवाद स्थापना गर्ने बेला आएको दाबी गरे । पार्टीका जिल्ला सचिव ईश्वरी गैरेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उनले अपवाद बाहेक अधिकांश नेता, कार्यकर्ता भ्रष्टाचारबाट मुक्त हुन नसकेको बताए ।
देशले निकास पाउन नसकेको, राज्य स्रोतको दोहनबाट विकासमा गम्भीर असर पुगेको उनको भनाइ छ । देशलाई सधैँका लागि भ्रष्टाचारबाट मुक्त गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले थालनी गरेको देशव्यापी भ्रष्टाचार विरोधी अभियानले सङ्घीय जनगणतन्त्रको खुड्किलो पार गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने सङ्कल्पका साथ अघि बढेको उनले बताए ।
कार्यक्रममा जिल्ला सचिव गैरेले दाङमा पछिल्लो समय भएका विकृति, बेथिति र भ्रष्टाचारका घटना सार्वजनिक गर्दै घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । पार्टीका केन्द्रीय समिति सदस्य शशिराम बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको पत्रकार सम्मेलनको सहजीकरण जिल्ला सदस्य तिलक विकले गरेका थिए ।