गोरक्ष समाचारदाता
दाङ,१८ साउन । देउखुरीमा एक वृद्धको शव फेला परेको छ । फेला पर्ने वृद्ध गढवा गाउँपालिका–३ गोबरडिहा निवासी ७४ वर्षीय पुरण चौधरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिएका छन् ।
मृतक चौधरी साउन १४ गते श्रीमतीसहित वृद्ध भत्ता बुझ्न गढवा गएका थिए । भत्ता बुझिसकेपछि उनी गढवा गाउँपालिका –५ स्थित छोरीको घरमा पुगेका थिए । त्यहाँ पुगेपछि ‘म त घर गैहाल्छु’ भनेर निस्किएका चौधरी त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक धमलाका अनुसार शव आइतवार बिहान करिब ११ बजे लमही नगरपालिका –९ हात्तिखाल नजिक राप्ती नदीमा फेला परेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।