घोराही–लमही सडक तीन दिन बन्द हुने

गोरक्ष समाचारदाता
दाङ, १८ साउन । दाङको घोराही–लमही सडकखण्डमा तीन दिन दुई पाङ्ग्रे सवारीसाधन बाहेकका अन्य सवारीसाधन बन्द हुने भएका छन् । घोराही–लमही सडक अन्तर्गत घोराही उपमहानगरपालिका–३ स्थित मसोटखोला पुल मर्मतको काम चलिरहेकाले साउनको २१ गतेदेखि २४ गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन बाहेकका अन्य सवारी साधन बन्द गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय घोराहीमा शनिवार बसेको सडक डिभिजन कार्यालयका प्रमुख, सुुरक्षा निकाय, यातायात व्यवसायीलगायतको संयुक्त बैठकले साउनको २१ गते बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन बाहेकका अन्य सवारीसाधन बन्द गर्ने निर्णय गरेको हो ।
घोराही–लमही सडकखण्ड बन्द हुँदा वैकल्पिक सडकका रूपमा अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडकको प्रयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई व्यवस्था मिलाउने जिम्मा दिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

पुल मर्मत गर्दा खोलामा भएको ड्राइभर्सन सडक डिभिजन कार्यालय दाङले मर्मत गर्ने र ट्राफिक प्रहरीको नियमनमा अत्यावश्यक सवारी साधनलाई आवागमनको व्यवस्था मिलाउने समेत बैठकले निर्णय गरेको छ । २०३८÷०३९ सालमा निर्माण भएको पुल जीर्ण भएपछि अहिले सडक डिभिजन कार्यालय दाङले पुल मर्मतको काम सुरु गरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले जानकारी दिएका छन् ।

प्रमुख विष्टका अनुसार पुलको दायाँतर्फको तीनवटा गर्डर (बिम) मध्ये एउटा गर्डर धेरै चर्किएको छ । करिब एक महिना अगाडिदेखि विशेषज्ञमार्फत् पुलको प्रारम्भिक परीक्षण गराएर पुल मर्मतको काम सुरु गरेको बताए । मर्मत जीर्णसँगै अत्यधिक भारवहन क्षमता बोकेका गाडीहरू चल्ने भएका कारण पुलमा वारपार गर्ने सवारीको गति घटाउन पुलको दुवैतर्फ ड्रमहरूसँगै सूचना बोर्ड राखिएको समेत बताए ।

तत्कालीन सरकार र माओवादी द्वन्द्वको समयमा २०६२ साल फागुनमा माओवादीले पुलमा बम बिस्फोट गराउँदा क्षति भएको थियो । बम बिस्फोटपछि क्षति भएको पुल आर्थिक वर्ष २०६६÷०६७ मा मर्मत गरेर सञ्चालन गरेपनि पछिल्लो समय हेभी क्षमताका भएका सवारीसाधन सञ्चालन हुँदा पुलमा क्षति पुगेपछि मर्मत हुन थालेको हो ।