शिवराज खनाल
दाङ, १८ साउन । दूध बिक्री गर्न घर–घर पुग्ने किसानलाई गाउँमै दूध सङ्कलन केन्द्र स्थापना भएपछि सहजता भएको छ ।
राजपुर गाउँपालिकामा दुग्ध सङ्कलन केन्द्र स्थापना भएपछि किसानलाई दूध बजारीकरण सहज भएको हो । हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा सञ्चालित भिटा परियोजनाअन्तर्गत गठन भएको बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले सरकारी मूल्यअनुसार शुक्रवारबाट दूध खरिद गर्न सुरु गरेसँगै किसानलाई दूध बिक्रीका लागि बजारसम्म पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ ।
दूध सङ्कलनका लागि राजपुर–३ प्रतापपुरस्थित बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा चिलिङ भ्याट, मिल्क एनालाईजर, उपकरण, क्यानलगायत सामग्री जडान गरिएको छ । दुई हजार लिटर दूध सङ्कलन क्षमता भएको चिलिङ भ्याटमा उक्त क्षेत्रबाट उत्पादन भएको दूध सङ्कलन गरी बजारीकरण गरिने राजपुर गाउँपालिका, भिटा परियोजनाको कार्यक्रम संयोजक गिरीराज भट्टले जानकारी दिए । परियोजना संयोजक भट्टका अनुसार ७० प्रतिशत पालिका र ३० प्रतिशत हेफरको लगानीमा सङ्कलन केन्द्र स्थापना गरिएको हो ।
गाउँपालिकामा दूध सङ्कलन केन्द्र सञ्चालनमा नआउँदा किसानलाई सस्तो मूल्यमा दूध बिक्री गर्नु पर्ने बाध्यता थियो । ग्रामीण महिला उत्थान केन्द्रको सहजीकरणमा हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा सञ्चालित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना (भिटा परियोजना) ले किसानलाई कृषि र पशुपालन क्षेत्रमा व्यवसायिक रूपमा लाग्न प्रेरित गर्दै आएको छ । बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले दूध सङ्कलन केन्द्र सञ्चालनमा ल्याएसँगै दुग्ध उत्पादन प्रवद्र्धन र बजारीकरणमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।
किसानले ल्याएको दूधको परीक्षण गरेर सरकारी दररेट अनुसार मूल्य पाउने छन् । यसरी बिक्री गर्दा किसानलाई समयको बचत, आर्थिक लाभ, उत्पादनमा बढावा हुनुका साथै दूधको उचित मूल्य पाउने वातावरण बनेको किसान जगतराम यादव बताउँछन् । उनले बिक्रीका लागि ल्याएको दूधको परीक्षण गर्दा एक सय एक रुपैयाँ प्रतिलिटर कायम भएको बताए । आफूले उत्पादन गरेको दूध गाउँकै सहकारीमा एक सय एक रुपैयाँ प्रतिलिटरमा बिक्री हुने भएपछि खुसी भएको बताए ।
परियोजनाले किसानलाई प्राविधिक सहयोग गर्नेदेखि उत्पादित बस्तुको बजारीकरणमा सहजीकरण गर्ने आवश्यक आर्थिक स्रोतमा पहुँच पु¥याउने काम गर्दै आएको भिटा परियोजनाका फोकल पर्सन भीमकान्त चौधरीले बताए । उनका अनुसार, राजपुर गाउँपालिकामा रहेका १३ जना किसानलाई व्यवसाय प्रवद्र्धनका लागि कृषि विकास बैंकबाट एक करोड १३ लाख रुपैयाँ सहुलियत ऋण सहयोगमा सहजीकरण गरिएको छ ।
राजपुरका १२ सय किसानलाई भकारो सुधार, उचित व्यवस्थापन तालिम, स्वच्छ दूध कसरी उत्पादन गर्ने तालिम पनि प्रदान गरिएको फोकल पर्सन चौधरीले बताए । मानव स्वास्थ्यलाई ध्यानमा राखेर उपभोक्ताले गुणस्तरीय दूध सेवन गर्ने वातावरण बनाउने र किसानले पनि स्वस्थ्य र गुणस्तरीय दूध उत्पादन गरेर उचित मूल्य पाउने अवस्था सिर्जना गर्ने उद्देश्यसहित परियोजनाले काम गरिरहेको बताए ।
राजपुर गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख दीपक नेपालीले राजपुरमा सरदर आठ हजार लिटर दैनिक दूध उत्पादन हुने गरेको बताए । सरकारी दररेट अनुसार १ फ्याटको ७ रुपैयाँ १५ रुपैयाँ र १ एस एन एफ को ४ रुपैयाँ ५४ रुपैयाँ सरकारी दररेट कायम रहेको राजपुर गाउँपालिका, भिटा परियोजना कार्यक्रम संयोजक गिरीराज भट्टले जानकारी दिए ।
किसानले तोकिएको मूल्य अनुसार सही मूल्य पाउन तथा उपभोक्ताले गुणस्तरीय र स्वस्थ दूध उपभोग गर्ने वातावरण बनाउन सहकारीमार्फत् दूध सङ्कलन र बजारीकरणको काम अघि बढाउन पालिकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बताए । गाउँघरमा रहेका महिलालाई आयआर्जनमा जोड्दै आत्मनिर्भर र उद्यमशील बनाउन टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले बताइन् । बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाकि अध्यक्ष बेदकुमारी खड्काले महिलाका लागि काम गर्ने यो निकै ठूलो अवसर रहेको बताइन् ।