गोरक्ष समाचारदाता
दाङ, १८ साउन । नेपाल फोटो ग्राफर महासंघका केन्द्रीय अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले सरकारका कारण फोटो ग्राफर व्यवसायी विस्तापित हुने अवस्था बन्न नहुने बताएका छन् ।
नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई शनिवार घोराहीमा सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष उपाध्यायले फोटो ग्राफर व्यवसायीले गर्ने काम सरकारले आफै कार्यालयभित्रबाट गर्दै जाने अवस्था सिर्जना हुने भए व्यवसायी पलायन हुने अवस्था बढ्दै जाने बताए ।
राष्ट्रिय परिचयपत्र, लाइसेन्स, लालपूर्जालगायतका काममा आवश्यक पर्ने फोटो तथा फारम भर्ने काम सुरुमा व्यवसायीले गर्ने गरे पनि पछिल्लो समय सरकारले कार्यालयभित्रबाट गर्ने काम गर्दा त्यसको प्रत्यक्ष असर व्यवसायीमा परेको बताए । यी काम फोटो ग्राफर व्यवसायीलाई दिँदा काममा चाडै हुन साथै व्यवसायी पलायन हुनबाट रोकिने समेत बताए ।
यसका लागि महासंघले सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष उपाध्यायले भने,‘व्यवसायीलाई स्वदेशमै केही गर्ने वातावारण सरकारले बनाउनु पर्छ । व्यवसायीलाई विस्तापित हुने गरी काम गर्नु हुँदैन ।’ त्यसका लागि सङ्गठनमा व्यवसायिक एकता आवश्यक रहेको समेत बताए । व्यवसायमार्फत् रोजगारीका अवसर सिर्जना गर्न सके देशलाई समृद्ध बनाउन सकिने भन्दै उनले व्यवसायीलाई विस्तापित गर्ने अवस्था सरकारले बनाउन नहुने बताए ।
नयाँ–नयाँ प्रविधिको विकाससँगै फोटोग्राफी व्यवसायमा अवसरसँगै चुनौती थपिएको भन्दै त्यसबाट बच्नका लागि व्यवसायीमा नयाँ प्रविधिको ज्ञान हुन आवश्यक रहेको बताए । अध्यक्ष उपाध्यायले नयाँ प्रविधिसम्बन्धी ज्ञानले व्यवसायमा सहजतासँगै व्यवसायको विकासमा सहयोग गर्ने भन्दै व्यवसायीलाई क्षमता अभिवृद्धिमा ध्यान दिन दिँदै आफ्नो क्षमता विकास गर्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष पोख्रेलले फोटो ग्राफर व्यवसायलाई दीर्घकालीन बनाउनका लागि सिर्जनशिल चेतसँगै नयाँ सिपको ज्ञान र प्रविधिको विकासलाई व्यवसायीले आत्मसाथ गर्नु पर्ने बताए । बद्लिदो समयसँगै परम्परागत रूपमा व्यवसायलाई अघि बढाउनका लागि चुनौती देखिएको भन्दै व्यवसायीले आफूमा सिर्जनशिल क्षमताको विकास गर्दै अघि बढ्नु पर्ने बताए ।
‘प्रतिष्पर्धाको समयमा उपभोक्तालाई कसरी सन्तुष्टि राख्ने र सन्तुलित मुनाफामा ध्यान दिनसके पेसा दीर्घकालीन बनाउन सकिने अवस्था देखिन्छ’, कार्यक्रमका विशिष्ट अतिथि रहेको महासघ निवर्तमान अध्यक्ष पोख्रेलले भने,‘फोटो ग्राफर उद्योग व्यवसाय भएको र यसले रोजगारी समेत सिर्जना गर्ने भएकाले राज्यले आवश्यक नियम कानुनसँगै सिप सिक्ने वातावरण बनाइदिनुपर्छ ।’
कार्यक्रममा बोल्ने वक्ताले जिल्लामा फोटोग्राफर व्यवसायलाई व्यवस्थित, चलायमान र सुरक्षित व्यवसाय बनाउनका लागि लाग्नु पर्ने बताएका थिए । उनीहरूले बढ्दो डिजिटल व्यवसायका कारण फोटोग्राफी धरापमा परेको भन्दै आफ्नो व्यवसायलाई सुरक्षित राख्नका लागि प्रविधिको विकासमा आफूलाई अब्बल बनाउन आग्रह गरेका थिए । व्यवसायीका बिचमा अस्वस्थ प्रतिष्प्रर्धा हुने गरेको भन्दै त्यसलाई हटाएर मर्यादित व्यवसाय बनाउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष धुर्वराज गहतराज, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सल्लाहकार रोशनमान श्रेष्ठ, नेपाल फोटो ग्राफर संघ बुटवलका अध्यक्ष माधव पन्त, लुम्बिनी फोटो ग्राफर संघका अध्यक्ष दिनेश अर्याल, घोराही चेम्बर अफ कमर्सका अध्यक्ष दुर्लभ केसी, नेपाल फोटो ग्राफर संघ कपिलबस्तुका अध्यक्ष रामचन्द्र बेल्वासेलगायतले वक्ताले मन्तव्य व्यक्त गरेका थिए । दाङ जिल्ला फोटोग्राफर संघका अध्यक्ष दुर्गाप्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रदेश सचिव गणेश दंगालले गरेका थिए ।
अध्यक्षमा जोशी सर्वसहमत
नेपाल फोटोग्राफर संघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले बसन्त जोशीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव पन्त, खुल्ला उपाध्यक्षमा सुदन न्यौपाने, प्रेमप्रसाद गौतम, दुर्गाप्रसाद चौधरी, खगेन्द्र गौतम, महासचिवमा प्रेम अर्याल, सचिवमा हिमाल महरा, थानप्रसाद डुम्रे, कर्णबहादुर तिवारी, कोषाध्यक्षमा देवीराम थारू, सहकोषाध्यक्षमा टोपराम गिरी, सर्वसहमत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा चन्द्रबहादुर थारू, मोहन महत्तो, यादव पाण्डे, सुरज भुषाल, श्यामप्रसाद तिमिल्सेना, कृष्ण पन्थी, निरज चन्द, तारन लम्साल, रमेश गिरी, सुभमकुमार गुप्ता, नारायण विक चयन भएका छन् ।