करोडको लगानीमा व्यवसायिक आँप खेती

भरत विश्वकर्मा
रोल्पा, १८ साउन । सुनिलस्मृति गाउँपालिका–२ खंङ्ग्रीका रमेशविक्रम सिंहको २०६० सालसम्म गाउँमै व्यवसाय थियो । जतिबेला नेकपा माओवादीले सुरु गरेको द्वन्द्व उत्कर्षका कारण सिंह गाउँमा व्यवसाय गरेर बस्ने वातावरण भएन । लाखौँको लगानी रहेको व्यवसाय छोडेर सिंह काठमाडौं हानिए ।

देशमा माओवादीले सुरु गरेको द्वन्द्व समाप्ती भएर शान्ति प्रक्रियामा आए पनि सिंहलाई गाउँ फर्कन मन लागेन । त्यसपछि लामो समय (करिब १२ वर्ष) काठमाडौंमै रहेका सिंहलाई २०७२ सालको विनाशकारी भूकम्पले झस्कायो । भूकम्पका कारण झस्किएका सिंहलाई गाउँ नै ठिक लाग्यो । त्यसपछि उनी गाउँमै आएर बाँझो रहेको बारीमा पौरख गर्न थाले ।

काठमाडौंबाट गाउँ फर्केका उनले आरबिएस अर्गानिक फार्म प्राली दर्ता गरेर व्यवसाय सञ्चालनमा ल्याए । बगँैचाबाट अर्गानिक कृषि उपज उत्पादन गरी ग्राहक सामू पु¥याउने उनको एउटै लक्ष्य थियो । उनको बगैँचामा अनेकौँ प्रकारका बिरुवा रहेका छन् । ती मध्ये केहीले उत्पादन दिइरहेको छन् भने केहीले उत्पादन दिने क्रममा रहेका छन् ।

बगँैचाभित्रै छ उनको कुखुरा पालन व्यवसाय । कुखुराबाट निस्केको मल बगँैचामा प्रयोग मिल्ने भएकाले बगैचाभित्रै कुखुरा फर्म सञ्चालनमा ल्याएको उनले बताए । बगँैचामा बिरुवाहरू हुर्कँदै गर्दा र उत्पादन दिन सुरु नहुँदै र कुखुरापालन गरिरहेका सिंहलार्ई बिचमा कोरोना महामारीले नराम्रोसँग व्यवसायमा घाटा लगायो ।

‘कुखुरापालन व्यवसायमा लगाएको लगानी कोरोनाको समयमा डुब्यो’, उनले भने, ‘कोरोनाका कारण १५ लाख बराबरको लगानी खेर गयो ।’ तर पनि उनले हार मानेनन् । अहिले उनको बगैँचाको आम्दानीको मुख्य स्रोत नै आँप बनेको छ । यसको अलावा उनले आँपको बगँैचाभित्र व्यावसायिक कुखुरापालन, स्याउ खेती, लिची, कागती, अम्बा, एबोकाडो, ड्रागनफ्रुट खेती पनि गरिरहेको छन् । बगैँचाको व्यवस्थापनका लागि करिब एक करोड रुपैयाँ बराबरको लगानी गरेको उनले बताए ।

करिब ६ वर्ष पहिलेदेखि बारीमा लगाएको विभिन्न प्रजातिका आँपले राम्रो मूल्य पाएसँगै उनी खुसी छन् । अन्नबाली पनि राम्रोसँग उत्पादन नहुने सो क्षेत्रमा लगाइएको आँपले भने राम्रो उत्पादन दिन थालेको छ । आँप खेतीलाई व्यावसायिक गर्ने योजनासहित सिंहले करिब १५ रोपनी बराबरको क्षेत्रफल रहेको बारीमा अहिले विभिन्न प्रजातिका करिब एक सय ५० बढी आँपका बोट रोपेका छन् । तीमध्ये सय बोटले राम्रो उत्पादन दिइरहेको उनले बताए ।

बारीमा आम्रोपाली, दसरी, लङ्गदा, बाह्रमासे, माल्टालगायतका प्रजातिका आँप रहेको उनी बताउँछन् । आँपले राम्रो मूल्य पाएको बताउँदै सिंहले आँप खेतीबाट सिजनमा चार÷पाँच लाख रुपैयाँ बराबरको आम्दानी हुने गरेको बताए ।

आँपसँगै गरिएको अन्य व्यवसायबाट सिजनमा रामै्र आम्दानी भएरहेको उनी बताउँछन् । आँप खरिद गर्नको लागि व्यापारी तथा ग्राहक बारीमै आउने भएकाले व्यापारमा सहज भएको उनको भनाइ रहको छ । उनले आफ्नो बगैँचामा काम गर्नका लागि केहीलाई रोजगारीसमेत प्रदान गरेका छन् । अन्य खेतीभन्दा आँप खेती गर्न सजिलो हुने सिंहको अनुभव छ ।

पछिल्लो समय देशमा रोजगारीको अवसर छैन भन्दै बिदेसिने युवाको लर्को रहेको छ तर सिंह भन्छन्, ‘मेहिनेत गरे देशमै राम्रो आम्दानी गर्न सकिन्छ ।’ उमेरले ६६ वर्ष पुगेका सिंहमा खेतीप्रतिको जोश भने असाध्यै छ । आफूले आँप खेती गर्नको लागि कुनै प्रकारको अनुदान, तालिम तथा प्राविधिक सहयोग नलिएको उनले बताए ।

सबै कुराहरू सामाजिक सञ्जालमा हेर्दै, सिक्दै आएको उनले बताए । सरकारले व्यावसायिक खेती गरिरहेका किसानको लागि आवश्यक प्रविधि र प्राविधिक ज्ञान दिनुपर्ने उनको माग रहेको छ । कृषि अनुदानको रूपमा वास्तविक किसानले अनुदान नपाई अरूले पाउँदा वास्तविक किसान मारमा परेको उनको भनाइ छ । कृषिमा आत्मनिर्भर बन्न एक जना कृषकले गरेर मात्र सम्भव नहुने भन्दै कृषि क्रान्तिमा सबैलाई लाग्न सिंह प्रेरित गर्छन् ।

जिल्ला बाहिरबाट आउने आँपले गर्दा स्थानीय आँपले उचित मूल्य पाउन नसकेको उनी बताउँछन् । जिल्ला बाहिरबाट आएका आँपका कारण बजारमा आँप बिक्रीका लागि लैजाँदा आफूले उत्पादन गरेको आँप सस्तोमा बेच्नुपर्ने बाध्यता किसानमा रहेको उनले बताए । आँप खरिद गर्न दाङ, बुटवल, नेपालगन्जलगायतका सहरबाट व्यापारी आउने गरेकोे उनी बताउँछन् ।