गोरक्ष समाचारदाता
दाङ, १८ साउन । समाज कल्याण केन्द्र नेपाल, दाङले तुलसीपुर उपमहानगरपालिका–१९ कुटेचौरस्थित जनजागरण माविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख आतिथ्यमा शनिवार शिविर आयोजना गरिएको हो ।
शिविर उदघाटन गर्दै मन्त्री न्यौपानेले समुदायमा रोग लुकाएर बसेकाहरूलाई स्वस्थ मानव निर्माण गर्ने अभियानले निरोगी बनाउन सघाउने बताए । पछिल्लो समय नसर्ने रोगका कारण मानिसको जीउज्यानको जोखिम बढ्दै गएको तथा आर्थिक नोक्सानी हुने अवस्था सिर्जना भएको हुँदा हरेकले नियमित स्वास्थ्य जाँच गराउन आवश्यक रहेको बताए ।
समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतमले दूरदराजका नागरिकको स्वास्थ्य उपचारमा पहुँच पु¥याउँदै सचेतना जगाउने प्रयास सराहनीय रहेको भन्दै अभियानलाई निरन्तरता दिन आग्रह गरेकी थिइन् । शिविरमा छिमेकी जिल्ला रोल्पाबाट पनि उपचारका लागि सेवाग्राही आएका थिए ।
उक्त शिविरमा स्त्री रोग सेवा, जनरल उपचार सेवा र दन्त रोग उपचार सेवा प्रदान गरिएको थियो । जसमा एक सय ५० जनाले दन्त रोगसम्बन्धी सेवा, एक सय १७ जनाले फिजिसियन उपचार सेवा तथा एक सय २० जनाले स्त्री रोगसम्बन्धी निःशुल्क उपचार तथा औषधी सेवा लिएका छन् ।
शिविरमा उपचारका लागि आएकामध्ये अधिकांश महिलाहरूमा यौन तथा प्रजनन् स्वास्थ्य समस्या पहिचान भएको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. प्रविण योगीले बताए । जनरल फिजिसियन बाचस्पति सुवेदी, दन्त रोग विशेषज्ञ डा. भुवनेश्वर भुसालले शिविरमा आएका बिरामीको उपचार गरेका थिए ।
नेपाली कांग्रेस तुलसीपुर–१९ को व्यवस्थापनमा गरिएको शिविरमा रुपनी मेडिकल हल नारायणपुर, मौसम फार्मेसी घोराही, पिप्लद मेडिसेल्स घोराही र कालिका मेडिकल हल घोराहीको सहयोग रहेको थियो ।
महिला, बालबालिकाहरूको शिक्षा, स्वास्थ्यसँगै उद्यमशीलताको क्षेत्रमा स्थापना कालदेखि नै विशेष प्राथमिकताका साथ काम गर्दै आएको केन्द्रकी अध्यक्ष गौतमले बताए । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव हिमबहादुर डाँगी, नेपाली कांग्रेस क्षेत्र नं. २ (ख) का सभापति अभियान बस्नेत, अग्रज नेता गोविन्द मजगैया, नेपाली कांग्रेस तुलसीपुर–१९ का सभापति पदम वलीलगायतले गाउँबस्तीका महिला, ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि निःशुल्क शिविर सञ्चालन गरेर समाज कल्याण केन्द्रले निकै राम्रो काम गरेको भन्दै समाजसँग जोडिन गरेका कामको प्रशंसा गरेका थिए ।
केन्द्रकी उपाध्यक्ष निरजा पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नवजागरण माविका सहायक प्रधानाध्यापक गोपाल खड्काले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव जानका केसीले गरेकी थिइन् ।