आदर्श मावि देउपुरमा शिक्षक चौधरीको विदाई

गोरक्ष समाचारदाता
लमही, १८ साउन । लमही नगरपालिका–६ स्थित आदर्श नमूना माध्यमिक विद्यालय देउपुरले एक कार्यक्रमको आयोजना गरेर शिक्षक यादवप्रसाद चौधरीलाई विदाइ गरेको छ । विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यालय परिवार, पूर्वविद्यार्थी, अभिभावक तथा स्थानीय समाजको सहभागीतामा शिक्षक चौधरीको विदाई गरिएको हो ।

चौधरीले २०४६ साल वैशाख २१ गतेदेखि उक्त विद्यालयमा प्राथमिक द्वितीय श्रेणी शिक्षकका रूपमा आफ्नो सेवायात्रा सुरु गरेका थिए । त्यसयता उनले प्राथमिक तह संयोजकसहित विभिन्न जिम्मेवारी सम्हाल्दै निरन्तर ३६ वर्ष २ महिना २३ दिन शिक्षण सेवा गरेका थिए । कार्यक्रमका वक्ताहरूले शिक्षक चौधरीको दीर्घकालीन समर्पण, अनुशासन र शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गरेका थिए ।

राष्ट्रियस्तरका भलिबल खेलाडी समेत रहेकाले विद्यालयमा खेलकुदको विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । विद्यालय परिवारले आगामी दिनमा पनि उनको अनुभव र मार्गदर्शन खेलकुद क्षेत्रमा मार्गदर्शक बन्ने विश्वास गरेको छ । विदाई कार्यक्रममा चौधरीलाई सम्मानपत्र, मायाको चिनो र दोसल्ला ओढाएर विदाई गरिएको थियो ।

कार्यक्रममा चौधरीले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै आफ्नो शिक्षण जीवनका अनुभव बाँडेका थिए । आदर्श नमूना माध्यामिक विद्यालय देउपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद चौधरीको अध्यक्षता एवम् लमही नगरपालिका–६ का वडा अध्यक्ष श्याम नारायण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । विद्यालयका प्रधानाध्यापक कुलचन्द्र पौडेलले स्वागत मन्तव्यबाट सुरुभएको विदाई कार्यक्रमको सहजीकरण शिक्षक बालगोविन्द चौधरीले गरेका थिए ।