लायन्सले शिक्षामा जोड दिनुपर्छ : गर्भनर श्रेष्ठ

गोरक्ष समाचारदाता
तुलसीपुर, १८ साउन । लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ एन का गर्भनर ज्ञानेन्द्रकुमार पाण्डेले डिष्ट्रिक ३२५ एन विश्वमा एक नम्वरमा आउने गरी काम गर्न सबै लायन्सलाई आग्रह गरेका छन् ।

उनले अहिले डिष्ट्रिक साउथ एसियामा छैटौँ स्थानमा आउन सफल भएको भन्दै एक नम्बरमा आउने गरी सबै काममा लाग्नु पर्ने बताए । तुलसीपुरमा भएको तीनवटा लायन्स क्लबको संयुक्त इष्टलेसन तथा एण्डक्सन कार्यक्रममा बोल्दै पाण्डेले यस अघि पनि लायन्स विभिन्न सामाजिक अभियानमा सक्रिय भएको भन्दै आगामी दिनमा पनि थप सशक्त हुनु पर्ने बताए ।

लायन्स क्लब अफ तुलसीपुर ईशानका अध्यक्ष सुनिल खनालको अध्यक्षता तथा गर्भनर श्रेष्ठको प्रमुख आतिथ्यमा लायन्स क्लब अफ तुलसीपुर ईशान, लायन्स क्लब अफ स्वर्गद्वारी रक्षाचौर र लायन्स क्लब अफ दाङ क्यापीटलको वर्ष २०२५÷०२६ का लागि संयुक्त इष्टलेसन तथा एण्डक्सन कार्यक्रममा बोल्दै पाण्डेले अब लायन्सले सामाजिक कामअन्तर्गत पहिलो प्राथमिकता शिक्षामा दिनु पर्ने बताए ।

‘लायन्सले विभिन्न स्वास्थ्य शिक्षा, समाज सेवा र प्रकृतिको संरक्षणदेखि विभिन्न मानवीय कार्यमा लागेको छ, अब विशेष गरी शिक्षामा जोड दिनुपर्छ’ उनले भने । पाण्डेले आफूले एक वर्षमा बढाउ अभियान सुरु गरेको भन्दै कक्षा १ मा देश भर २० लाख विद्यार्थी भर्ना हुने र एसइईमा पुग्दा ४ लाख मात्र हुने अवस्थालाई मध्यनजर गर्नु पर्ने बताए ।

‘नेपालमा धेरै विद्यार्थी आधारभूत आवश्यकता पूरा गर्न नसक्दा शिक्षाबाट बन्चित छन् उनीहरूको शैक्षिक उनतको लागि लायन्स लाग्नुपर्छ’ गर्भनर पाण्डेले भने । पाण्डेले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्म सहयोग गर्न लाग्नु पर्ने बताए । त्यसका लागि एउटा लायन्सका सदस्यले एक हजारमात्र सहयोग गरे पनि धेरै हुने बताए ।

त्यस्तै उनले गाउँ घरमा उद्यमशिलताको विकास र संस्कृति संस्कारलाई बचाउन लाग्नु पर्ने बताए । उनले लायन्सले बर्सेनि वातावरण सरक्षणका लागि बिरुवा लगाउने गरे पनि वृक्षारोपन गरेका बिरुवा कति बचे त्यसमा ध्यान दिनु पर्ने बताए । ‘बिरुवा लगाउनु ठुलो कुरा होइन बरु एउटा लगाउनु त्यो बिरुवा बचाउनु’ पाण्डेले भने ।

कार्यक्रममा लायन्स क्लव इन्टरनेश्नल डिष्ट्रिक ३२५ एन का प्रथम उपाध्यक्ष टिकाराम चपाई, दोस्रो उपाध्यक्ष डा. नेत्रराज चटतौ, डिष्ट्रिक एक्जुकिटिभ चिफ वुद्धिप्रकाश सिंह, ध्रुव गौतम, युवराज थपीया, जोनचेयर पर्शन गोरख वली, लायन्स क्लब अफ स्वर्गद्वारी रक्षाचौरका अध्यक्ष कृष्णबहादुर खड्का, लायन्स क्लब अफ दाङ क्यापीटलका अध्यक्ष अजित खनाललगायतले बोलेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ स्वर्गद्वारी रक्षाचौरका उपाध्यक्ष बालाराम खड्का, लायन्स क्लब अफ ईशानका दिपक केसी, लायन्स क्लब अफ दाङ क्यापीटलका उपाध्यक्ष डम्बर केसीले क्लबका गतिविधिबारे जानकारी गराएका थिए ।

उक्त अवसरमा तीनवटै क्लबका लायन वर्ष २०२५÷२६ का पदाधिकारीलाई पिन लगाएर पदस्थापना गरिएको थियो । कार्यक्रममा राष्ट्रिय ध्वजाको अभिभादन लायन्स क्लब अफ स्वर्गद्वारीका कोषाध्यक्ष सुष्मा जिसीले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण एकराज देवकोटाले गरेका थिए ।