गोरक्ष समाचारदाता
तुलसीपुर, १८ साउन । दाङमा रगतको अभावलाई न्यूनीकरण गर्दै नयाँ रक्तदाताको खोजी, रक्तदान र रक्तदाता उतप्रेरणाको कार्यक्रम शनिवार मानपुर र कोठरीमा सम्पन्न भएको छ । समुदायसँगको सामिप्यता, सम्पर्क अनि रक्तदानको महत्व र यसका फाइदाको सन्देशसहित समुदायसँग अझ नजिक हुन लागि परेको रेडक्रश दाङले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका स्थानीय सरकारसंगको सहयोगमा दाङ रेडक्रसको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४ महिलासहित १४ जनाले रक्तदान गरेका छन् । उक्त अवसरमा ८ जना नयाँ रक्तदाता रहेका थिए ।
रेडक्रस मानपुर उपसाखा सभापति जगदिस देवकोटाको सभापतित्व तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष शिवानन्द डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि डाँगीले रक्तदान जस्तो मानवीय कार्यको लागि स्थानीय सरकार सदैव साथमा रहने बताएका थिए ।
उनले जनचेतना र उत्प्रेरणाको कमीले मानिसले संवत् रूपमा रक्तदान गर्न हिच किचाइ रहेको हुँदा यससम्बन्धी जनचेतनामूलक कार्यक्रम आवश्यक भएको र यसको लागि स्थानीय सरकार हातेमालो गर्न तयार रहेको उनले बताए । सोही अवसरमा रेडक्रस दाङका उपमन्त्री बिमल केसी र जिल्ला सदस्य भीमलाल मरासिनीले रक्तदानको महत्व आवश्यकता र फाइदाको बारेमा सहजीकरण गरेका थिए ।
सोही अवसरमा वडा सदस्य गीता राणा शशीधर पौडेललगायतले आफ्नो विचार राखेका थिए । कार्यक्रमको सञ्चालन रेडक्रश उपशाखा सहसचिव गिरिराज डाँगीले गरेका थिए ।