दाङ,१७ साउन । तीजको मौलिक पक्षलाई भुल्न नहुने एक कार्यक्रमका सहभागीले बताएका छन् । हरि तालिका तिज पर्वका असरमा शनिवार घोराहीमा महिला पतञ्जली योग जिल्ला समिति दाङले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले तीजको मौलिक पक्षलाई बचाउँदै तीज पर्व मनाउनुपर्ने बताएका थिए ।
आधुनिक समयको विकाससँगै तीज मनाउने प्रचलनमा परिवर्तन आएपनि सचेत वर्गले मौलिक पक्षलाई ख्याल गर्नुपर्ने, तीजको बहनामा हुने विकृति जन्य क्रियाकलापलाई रोक्ने गरि लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले तीज पर्वको मौलिकतालाई बचाउँदै नयाँ पुस्ताले तिज पर्व मनाउनुपर्ने बताइन । तीज पर्व महिलाहरूबीच आपसी मेलमिलाप, संस्कृतिक आदानप्रदान गर्ने माध्यम भएको भन्दै रमाइलो गरेर मनाउनुपर्ने बताइन ।
उपप्रमुख डाँगीले योगले महिलाहरूको शारीरिक र मानसिक स्वास्थ्यमा पु¥याउने सकारात्मक प्रभावको चर्चा गर्दै यस्ता सामूहिक भेटघाट कार्यक्रमले समाजमा सशक्तिकरण र नेतृत्व क्षमताको विकासमा सहयोग गर्ने बताइन् ।कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले तीज मिलन कार्यक्रमले जिल्लाभर छरिएर रहेका महिलाहरूलाई एउटै मञ्चमा ल्याउने अवसरसँगै आत्मीयता, सहकार्य र संस्कृतिक चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए । साथै बक्ताहरुले महिला दिदीबहिनीको भेटघाटसँगै महिला सशक्तिकरण, योग प्रचारप्रसार र सांस्कृतिक एकतालाइ बलियो बनाउनेमा जोड दिएका थिए ।
कार्यक्रममा पतञ्जली योग समिति लुम्बिनी प्रदेश प्रमुख प्रेम शाह, जिल्ला उपाध्यक्ष केतनारायण आचार्य, मिडिया संयोजक अञ्जु रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिकी अध्यक्ष सहना श्रेष्ठको अध्यक्षता तथा बिष्णु शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समिति महासचिव यमा गौतमले गरेकी थिइन् । कार्यक्रममा दाङ जिल्लाभरिका विभिन्न क्षेत्रका योग प्रशिक्षक, साधक तथा संघसंस्थामा आवद्ध महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।