शहीद शोभाकरको शालिक शिलान्यास, पन्ध्र दिनमै अनावरण

खेमराज रिजाल
हापुरे (बबई), १७ साउन । सरकार–माओवादीबिचको तात्कालीन सशस्त्र युद्धमा माओवादी विद्रोहीद्वारा हत्या गरिएका तत्कालीन नेपाली कांग्रेस पुरन्धारा इकाइ उपसभापति शहीद शोभाकर (शालिकराम) घिमिरेको शालिक शिलान्यास गरिएको छ । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ३ का सांसद, पूर्वसिँचाइमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले शुक्रवार शालिकको शिलान्यास गरे ।

नेपाली कांग्रेस क्षेत्र नं ३ ले आयोजना गरेको शहीद शोभाकर घिमिरे स्मृतिसभा एवम् शालिक शिलान्यास कार्यक्रममा शुक्रवार शिलान्यास गरिएको शालिक निर्माणका लागि आवश्यक सहयोग सहृदयीबाट प्राप्त भइरहेकाले अबको १५ दिनभित्रै शालिक निर्माण सम्पन्न भएर अनावरण कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ का सभापति जगत खड्काले बताएका छन् ।

२०२३ जेठ १४ गते जन्मिएका शोभाकर तात्कालीन उपसभापति थिए । त्यो बेला माओवादीका दुई जना स्थानीय युवालाई साविक पुरन्धाराको वडा नं ३ मा एउटा घरमा बसिरहेका बेला नेपाली सेनाले नियन्त्रणमा लिने क्रममा गोली प्रहार गर्दा मृत्यु भएको थियो ।

माओवादीले आफ्ना मान्छे मार्न लगाउन जासुसी गरेको आरोप लगाउँदै शोभाकरको विभत्स हत्या गरेको नेपाली कांग्रेसले जनाएको छ । २०५५ साउन १६ गते राति खाना खाएर बसिरहेका बेला केही माओवादी आएर ढोका खोल्न भनेका थिए ।

शोभाकरकी श्रीमतीले ढोका खोलिन् । ढोका खोल्नासाथ माओवादी भित्र पसेर शोभाकरको छातीमा गोली हाने । गोली लागेका शोभाकरलाई फेरि उनीहरूले आधा घाँटी छिन्ने गरी खुकुरी प्रहार गरे । त्यसरी घटनास्थलमै मृत्यु भयो, शोभाकरको । त्यो बेला युद्धको सन्त्रास गाउँगाउँमा थियो । हापुरेमा कुनै सुरक्षाकर्मी थिएनन् ।

राति अबेर तुलसीपुरमा पार्टीका नेताहरूलाई खबर गरेपछि बिहानीपख मात्र तुलसीपुरबाट सुरक्षाकर्मीको टोली पुरन्धारा पुगेको थियो । प्रहरीले घर घेरा हाली घटनाको मुचुल्का उठाएपछि दिउँसो मात्र नेपाली सेनाको हेलिकोप्टरबाट उनको शवलाई पोस्टमार्टमका लागि तत्कालीन महेन्द्र अस्पताल घोराहीमा लगिएको थियो । पोस्टमार्टम गरेपछि घोराहीमै स्वर्गीय घिमिरेको अन्तिम संस्कार गरिएको नेपाली कांग्रेस क्षेत्र नं ३ का सचिव पूर्ण केसीले बताए ।

छोराहरू नाबालक भएका कारण भारतमा रहेका स्व. शोभाकरका भाइ गोविन्द घिमिरेलाई बोलाएर तीन दिनपछि मात्र उनको काजकिरिया सुरु भएको थियो । गोविन्दले नै दाइ शोभाकरको किरिया गरेका थिए । सशस्त्र युद्धको त्रासका कारण समय त्रासदीपूर्ण थियो । किरिया बसेको घरमा बत्ती कुर्न जानसमेत मानिस डराउने अवस्था थियो, त्यो बेला ।

स्व. घिमिरेको शालिक शिलान्यास तथा स्मृति सभामा बोल्दै प्रमुख अतिथि गिरीले शहीद शोभाकर घिमिरेको सपनालाई पूरा गर्न नेपाली कांग्रेस सदैव लागिरहने प्रतिबद्धता व्यक्त गरे । शहीद शोभाकर जस्ता गाउँमा टुकी बालेर बस्नेहरूले नै नेपाली कांग्रेसको यो इतिहास निर्माण गरेको भन्दै शहीदको सपना पूरा गर्न नेपाली कांग्रेस सदैव लागिरहने उनले बताए ।

‘उहाँहरूकै बलिदानीले मुलुकमा सङ्घात्मक गणतन्त्र स्थापना भएको भन्दै प्रमुख अतिथि गिरीले शहीद परिवारप्रति श्रद्धा व्यक्त गरे । सोही अवसरमा बोल्दै प्रमुख अतिथि गिरीले राष्ट्रिय राजनीतिका विषयमा भने केही बोलेनन् । उनले आफू छोटो समयमा मन्त्री हुँदा पश्चिम दाङमा गरेका विकासको आत्मसमीक्षा गरे ।

सो अवसरमा विशिष्ट अतिथि तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डांगीले स्व. शहीद शोभाकरप्रति श्रद्धासुमन व्यक्त गर्दै नेपाली कांग्रेसले हरेक पालिकामा यस्ता शहीदप्रति सम्मान गर्न स्मारिका तथा शालिक निर्माण गर्न अभियान नै थालेको बताए ।

शहीदहरूको बलिदानीले आएको यो परिवर्तन जनमुखी बनाउन नेपाली कांग्रेस जिल्लादेखि केन्द्रसम्म क्रियाशील हुनुपर्ने उनको अभिव्यक्ति थियो । स्मृतिसभामा नेपाली कांग्रेसका नेता शंकर गिरी, केशव आचार्य महाधिवेशन प्रतिनिधि जोगन्द्र विश्वकर्मा, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिका अध्यक्ष कुलवहादुर खत्री, दंगीशरण गाउपालिका अध्यक्ष शम्भु गिरी, नेपाली कांग्रेस बबईका इकाइ सभापति प्रकाश बस्नेत, नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक केसी, बबईका पूर्वसभापति बलबहादुर बुढा तथा शहीद परिवारको तर्फबाट स्व. शालिकरामका भाइ गोविन्दलगायतले स्व. घिमिरेको राजनीतिक योगदानबारे चर्चा गरेका थिए ।

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ का सभापतिको अध्यक्षतामा भएको स्मृतिसभा एवम् शालिक शिलान्यास कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ ख का सभापति खिवबहादुर वलीले गरेका थिए भने कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव पूर्ण केसीले गरेका थिए ।

सो अवसरमा शहीद शोभाकर घिमिरेकी धर्मपत्नी तुलसी घिमिरे र तत्कालीन अवस्थामा विद्रोही माओवादीको आक्रमणबाट उम्केर ज्यान जोगाएका ज्युँदा शहीद ज्ञानप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो । हापुरे त्यो क्षेत्र पनि हो, जुन क्षेत्रमा तत्कालीन सशस्त्र द्वन्द्वको अन्त्य गरी मुलुकलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्न केही समय युद्धविराम गरी सरकार माओवादीबिच शान्तिवार्ता भएको थियो । यद्यपि त्यो वार्ता सफल हुन भने सकेको थिएन । त्यसपछिका धेरै वार्तापछि मात्र मुलुक शान्ति प्रक्रियामा आएको थियो ।