२५ बिघामा व्यावसायिक केरा खेती, लाखौँको आम्दानी

नारायण खड्का
दाङ, १७ साउन । दाङका निर्माण व्यवसायी जनक बुढा आजकाल प्रायः बाँकेको कुसुममा भेटिन्छन् । उनी त्यहाँ निर्माणसम्बन्धी काममा होइन, केराको बगैँचामा हुन्छन् । उनको धेरैजसो समय केरा बगैँचा हेरचाह, केरा सङ्कलन र बिक्रीमा बित्छ । बगैँचामा कामदार खटनपटन पनि उनकै काम हो ।

जनक बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा २५ बिघा क्षेत्रफलको एकै चाक्लोमा रहेको केरा खेतीका साझेदार हुन् । ‘बाँकेमा एकै ठाउँमा धेरै क्षेत्रफलको व्यावसायिक केरा खेती यही हो’,ु ४९ वर्षीय जनकले भने । घोराही–१२ का जनकले लामो समय आफ्नै निर्माण कम्पनी ‘अम्बे बिल्डर्स’ चलाए । उनका ठूलोबुवाका छोरा, उमेरले भाइ शेरबहादुर ‘नवीन’ बुढा चितवनमा बस्थे ।

उनी पहिले घोराहीकै बासिन्दा थिए । उनैले दाङमा भाडाको जग्गा खोजेर केरा खेती गरौँ भन्दै जनकलाई फोन गरिरहन्थे । एक पटक जनकले घोराहीमा साथीहरूलाई शेरबहादुरले भनेका कुरा सुनाए । निर्माण व्यवसायी संघ, दाङका बरिष्ठ उपाध्यक्ष शोकबहादुर रोका मगर, अर्का निर्माण व्यवसायी ईश्वर पुन र टीका थापासँग सल्लाह भयो । उनीहरू संयुक्त रूपमा केरा खेती गर्ने निष्कर्षमा पुगे ।

जनक, शेरबहादुर, शोकबहादुर, ईश्वर र टीका साझेदार भए । उनीहरूले दाङमा जग्गा खोजे तर चाहेको क्षेत्रफलमा चाक्लो जग्गा पाउन सकेनन् । ईश्वरले करिब एक दशकअघि राप्ती सोनारी गाउँपालिकाको कुसुममा १३ बिघा जग्गा किनेका थिए । त्यो जग्गा बाँझै थियो । त्यही जग्गा ताकेर उनीहरू कुसुम गए ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको, चट्ट मिलेको समथर जमिन देखेर सबै लोभिए । त्यहाँ व्यावसायिक रूपमा केरा खेती सम्भव छ कि छैन भनेर प्राविधिक जाँच गराए । ‘जमिन केरा खेतीका लागि उपयुक्त छ भन्ने प्राविधिकको सल्लाह पायौँ’, जनकले भने, ‘हामी त्यही जग्गामा खेती गर्ने र वरपरको जमिन लिजमा लिने निर्णयमा पुग्यौँ ।’ उनीहरूले २०८० सालमा ‘श्री राप्ती ग्रीन भ्याली एग्रो फर्म प्रालि’ दर्ता गराए ।

लगत्तै सीमाना जोडिएको आठ बिघा जग्गा भाडामा लिए । बाराको निजगढबाट ४० हजार केराका बिरूवा किनेर चैत–वैशाखमा रोपे । ‘बिरूवामा १० लाख रुपैयाँ खर्च लाग्यो । पहिलो खेपको बगैँचाले उत्पादन दियो । त्यसबाट गत वर्ष ३५ लाख रुपैयाँको केरा बेच्यौँ’, उनले भने, ‘केरा खेतीबाट कम मिहिनेतमा राम्रो आम्दानी हुँदोरहेछ भन्ने भयो ।’ उनीहरूले फेरि सीमाना जोडिएकै थप चार बिघा जमिन भाडामा लिएर खेती विस्तार गरे ।

यसरी २५ बिघाको एकै चाक्लोमा खेती फैलियो । हाल प्रतिकट्ठा वार्षिक एक हजार रुपैयाँ भाडा दिने शर्त छ । यतिबेला बगैँचाभरि केराका घरी छन्, बिक्रीको सिजन छ । एक दिन बिराएर एक ट्रक केरा घोराहीस्थित डिलरले लगिरहेको छ । यो सिजनको सबै केरा त्यही डिलरले उठाउने सम्झौता भएको छ । डिलरले आफैँ ट्रक पठाउँछ र बगैँचाबाट केरा सङ्कलन गर्ने, भारी हाल्ने कामदारको ज्याला पनि तिर्छ । डिलरले काँचो केरा लैजाने भएकाले रासायनिक वस्तु नहाली पकाउने शर्त रहेको जनकले बताए ।

तुलसीपुर, लमही र भालुबाङका व्यापारीले पनि केरा माग गरेको तर पु¥याउन नसकिने उनी बताउँछन् । ‘केरा नबिक्ने चिन्ता छैन, बजारको माग धान्न सकिँदैन’, जनकले भने, ‘यस वर्ष जेठ र असारमा ४० लाख रुपैयाँको केरा बिकिसक्यो । भदौसम्म कुल एक करोड रुपैयाँको व्यापार हुने अनुमान छ ।’ उनले हाल बगैँचाबाट केरा प्रतिदर्जन ८४ रुपैयाँमा बेचिरहेको बताए ।

दाङको बजारमा खुद्रा भाउ दर्जनको एक सय २० देखि एक सय ४० रूपैयाँसम्म छ । जनकहरूको खेतीको काममा एक लेखापाल र मासिक तलब पाउने केही कामदार छन् । केराको घरी निकाल्ने समयमा दैनिक १५–२० जना ज्यालादारी कामदार पनि हुन्छन् । पाँच जना साझेदारले बगैँचा रेखदेखको पालो लगाएका छन् । ‘हामी सबै निर्माण व्यवसायी हौँ । त्यसैले खेतीको कामको पालो लगाएका छौँ । ढुक्कै त बस्नु पर्दैन, कामदारले हेरचाह गर्छन्’, उनले भने ।

उनीहरूको केरा खेती भएको ठाउँ बाँके राष्ट्रिय निकुञ्ज नजिकै पर्छ । निकुञ्जबाट खास गरी राति आउने बँदलेको बथानले क्षति पु¥याउँछ, बोट ढाल्छ । त्यसैले चौबीसै घण्टा चौकिदार खटाउनुपर्छ । जनकका अनुसार यसले खेतीको खर्च बढाएको छ । उनीहरूले अब तारबार गर्ने सोचेका छन् । यसका निम्ति निकुञ्ज प्रशासन, गाउँपालिका र प्रदेश सरकारसँग सहयोगको आग्रह गरेका छन् ।

सिँचाइका लागि गाउँपालिका कार्यालयले ७० प्रतिशत अनुदानमा एउटा डिप बोरिङ राखिदिएको छ । पूरा खेतीमा पाइपबाट मात्र सिँचाइ पु¥याउन सम्भव नभएपछि ठाउँ ठाउँमा पानी जम्मा गर्नका लागि साना पोखरी बनाएका छन् । रासायनिक मल र उन्नत बिउको भने अभाव भएको जनक गुनासो गर्छन् । ‘हामीलाई राज्यबाट धेरै ठुलो सहयोग चाहिएको छैन, समयमा रासायनिक मल पाए हुन्थ्यो । हामी प्राङ्गारिक मल प्रयोग गर्छौँ तर त्यसले मात्र पुग्दैन ।

गोबर किन्न मात्र एक वर्षमा १५ लाख रुपैयाँ खर्च भयो’, उनले भने, ‘केरा खेतीमा हालसम्म करिब एक करोड रुपैँया लगानी भइसक्यो ।’ जनक र उनका साझेदारले कृषिमार्फत् नेपालमै राम्रो आयआर्जनको सम्भावना देखेका छन् । अनुभवी निर्माण व्यवसायी यो टोलीको मन अचेल कृषि कर्ममा रमाउन थालेको छ । ‘आफ्नो खेतीमा काम गर्दा मन रमाउँदो रहेछ । भित्रैबाट ऊर्जा आउँदो रहेछ’, जनकले भने, ‘काम गरेर खलखली पसिना बगेपछि मन हल्का हुँदोरहेछ ।’

जनकहरूलाई केरा खेती गर्न उक्साइरहने शेरबहादुर त झनै खुसी छन् । घोराहीका बासिन्दा उनी काम गर्न साउदी अरब गएका थिए । १८ वर्ष काम गरेर फर्के र चितवनमा बसे । त्यहाँ कालिकानगरको खोलेसिमलका साहु राजु दाहालको केरा बगैँचामा करिब सात वर्ष ज्यालादारी गरे । त्यहीँ उनलाई केरा खेतीको अनुभव भयो । यसबाट राम्रो आम्दानी लिन सकिने रहेछ भन्ने विश्वास भयो तर एक्लै लगानी गरेर व्यावसायिक खेती गर्न सक्ने अवस्थामा थिएनन् ।

‘त्यसैले मैले जनक दाइलाई मिलेर केरा खेती गरौं, म हेरचाह गर्छु, राम्रो कमाइ हुन्छ भनिरहेँ’, शेरबहादुरले सुनाए । शेरबहादुरका अनुसार कुसुममा केरा खेती गर्ने कुरा थाहा भएपछि स्थानीयले अचम्म मानेका थिए । नजिकै राष्ट्रिय निकुञ्जको जङ्गल भएकाले खेती जोगाउन सक्दैनन् भन्ने उनीहरूको धारणा थियो ।

‘बगैँचा कसरी जोगाउँछौ भन्थे, अहिले गज्जब हुँदोरहेछ भनेर दङ्ग परेका छन्’, उनले भने, ‘केरा खेतीमा मेरो अनुभव भएकाले रोग, किराबारे पनि कसैलाई सोध्नु पर्दैन । धेरैजसो औषधोपचार जानेको छु ।’ उनी युट्युब हेरेर देश–विदेशमा भएका केरा खेतीबारे पनि जानकारी लिन्छन् । १८ वर्ष विदेशमा बिताएका उनको मनस्थिति अहिले फेरिएको छ ।

तरिका पु¥याएर मिहिनेत गर्दा नेपालमै कमाइ हुँदोरहेछ र अरूलाई पनि रोजगारी दिन सकिँदो रहेछ भन्ने उनले बुझेका छन् । ‘विभिन्न ठाउँका किसान र कृषि प्राविधिक पनि खेती अवलोकनका लागि आउन थालेका छन् । यसरी काम गर्दा खुसी लाग्दो रहेछ’, उनले भने ।