तिजको मौलिकता हराउँदै गएकोमा चिन्ता

टेकबहादुर पुन
देउखुरी, १७ साउन । आधुनिकतासँगै तिजको मौलिकता हराउँदै गएकोप्रति कार्यक्रमका सहभागीले चिन्ता व्यक्त गरेका छन् । हरि तालिका तिज पर्वका असरमा शुक्रवार लमहीमा देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको तिजमिलन कार्यक्रमका सहभागीले तिजको मौलिकतालाई बचाउँदै तिज पर्व मनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीले तिजका गीत फेसनका रूपमा लिइने प्रवृत्तिप्रति दुःख व्यक्त गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथि रहेकी नगर उपप्रमुख योगीले तिज भन्नेबित्तिकै रातो सारी लगाएर माइतीको आँगनमा नाँचगान गर्ने परम्परा विस्तारै हराउँदै गएको बताइन् ।

तिज पर्वलाई महिला दिदीबहिनीले वर्षभरि भोगेका दुःख–सुख बाँड्दै रमाइलो गर्ने पर्वका रूपमा मनाउनुपर्ने उनको भनाइ थियो । ‘मैले सबै कुरा पहिलेकै जस्तो हुनुपर्छ भन्न खोजेको होइन । समय परिवर्तनसँगै हरेक कुरा परिवर्तन हुन जरुरी छ तर राम्रा कुरालाई निरन्तरता दिन आवश्यक छ’, उनले भनिन् ।

बदलिँदो समयसँगै तिजमा पहिलेको तुलनामा केही परिवर्तन गर्न जरुरी रहे पनि विकृतिजन्य कुरालाई मान्न नसकिने उनले बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाहले बदलिँदो समयसँगै तिज पर्व मनाउने तरिका फेरिएको बताइन् ।

तिज पर्व दुःख र वेदनाको गीत गाउने र नाच्ने मात्र नभएर दिदीबहिनी भेटघाट गरी रमाइलो पर्व भएको उनले उल्लेख गरिन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशकी पूर्वउपाध्यक्ष चुमा आचार्यले सबैले आफ्नो अवस्था अनुसार खुसी हुन जान्नु नै मानवभित्रको एक गुण भएको बताइन् ।

‘तिजलाई आडम्बरसँग होइन, पुर्खाले जोगाएका संस्कार सुरक्षित हुने गरी मनाउनुपर्छ । हाम्रो अस्तित्व रहनका लागि संस्कार र संस्कृति जोगिनुपर्छ’, उनले भनिन् । तिज आउनुभन्दा एक महिना अघिदेखि गाउँघरमा एकै ठाउँमा जम्मा भएर मादलको तालमा नाँचगान गर्ने चलन रहेको थियो ।

लमही निवासी अमिता सिंह ठकुरीले तिजको मौलिकता हराउँदै गएको बताइन् । तिजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टेलिभिजनमा आउने गीत र सिरियलप्रति आकर्षित भएको उनले बताइन् । लमहीकै गायत्री थापाले महिलाले तिज मनाउँदा पश्चिमा संस्कृति त्याग्नुपर्ने धारणा व्यक्त गरिन् ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंगसिंह ठकुरीले तिज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पु¥याउने अश्लील गीतहरूको नियन्त्रण गर्नुपर्ने बताए । चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको आवश्यकता रहेको उनको भनाइ थियो ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष ठकुरीको अध्यक्षता तथा महिला उपाध्यक्ष शारदा सुवेदीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव हरिबहादुर थापाले गरेका थिए ।