प्राकृतिक प्रकोप र कृषिमा भविष्य विषयक वक्तृत्वकला प्रतियोगिता

पूजा गुप्ता केसी
तुलसीपुर, १७ साउन । प्राकृतिक प्रकोप समस्या तथा न्यूनीकरण र कृषिमा भविष्य प्रविधि र रोजगारी विषयक वक्तृत्वकला प्रतियोगिता शुक्रवार तुलसीपुरमा भएको छ ।

निजी विद्यालय अर्गनाइजेसन प्याब्सन तुलसीपुरको आयोजनमा तुलसीपुर, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाका गरी १८ वटा बिद्यालयका विद्यार्थीबिच प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा भाग लिएका विद्यार्थीले प्रकोप के हो, किन हुन्छ, यसबाट कसरी सुरक्षित हुन सकिन्छ र न्यूनीकरणका उपाय प्रस्तुत गरेका थिए भने कृषिमा प्रविधि र रोजगारीको अवसर विषयमा धारणा प्रस्तुत गरेका थिए । उत्कृष्ट प्रस्तुतिका साथ उनीहरूले कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भन्ने उपायसमेत बताएका थिए ।

प्रतियोगितामा गोर्खा माध्यमिक विद्यालय तुलसीपुर कक्षा १० का विद्यार्थी स्प्रीका सुवेदी प्रथम, मेरीगोल्ड स्कुल कक्षा ९ का छात्रा दीपिका केसी द्वितीय, ज्ञानज्योति बम्नै कक्षा १० का छात्र डाइमन्ड आचार्य तृतीय र चन्द्रोदय स्कुल कक्षा १० छात्रा दिपु शर्मा सन्त्वना भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीलाई नगद पुरस्कार, प्रमाणपत्र प्रदान गरिएको थियो । वक्तृत्वकला प्रतियोगीतको मूल्याङ्कनकर्तामा सुशील बस्नेतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । सदस्यमा डा जितबहादुर गिरी र प्रकाश देवकोटा रहेका थिए ।

कार्यक्रममा तुलसीपुर नगरस्तरीय प्याब्सनमा आबद्ध सदस्य विद्यालयको तर्फबाट २०८१ को एसइई परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको थियो । तुलसीपुर नगरस्तरीय प्याब्सनका अध्यक्ष डम्बर डाँगीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाको शिक्षा, खेलकुद तथा युवा शाखाका अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममाथि उपाध्यक्ष विष्णु योगीले प्रकाश पारेका थिए भने सहजीकरण नगरस्तरीय सचिव कमल सापकोटाले गरेका थिए ।