मावि सौडियारमा छानबिन समिति गठन

दाङ,१६ साउन। घोराही-७ सौडियारमा रहेको माध्यमिक विद्यालय सौडियारका एक शिक्षकले पदअनुकूल आचरणविपरीत काम गरेको भन्दै अभिभावक र विद्यार्थीबाट गुनासो आएपछि विद्यालयले छानबिन समिति गठन गरेको छ।

विद्यालय व्यवस्थापन समितिको आज बसेको बैठकले शिक्षक अभिभावक संघका कार्यबाहक अध्यक्ष खिमा घर्ति मगरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो।

विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीका अनुसार प्रारम्भिक छानबिनकै क्रममा केही प्रमाण फेला परेपछि अभिभावक र विद्यार्थीको गुनासोलाई ध्यानमा राखेर समिति गठन गरिएको हो।

बैठक विद्यालय व्यवस्थापन समिति अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा र सल्लाहकार माधव न्यौपानेको प्रमुख आतिथ्यमा बसेको थियो। बैठकमा कुनै शिक्षकले आफ्नै विद्यालयमा विद्यार्थीलाई भर्ना गराउन प्रोत्साहित गर्नुको साटो अन्य विद्यालयमा जान प्रेरित गरेको, गुमराहमा पारेको र अनैतिक व्यवहार देखाएको भन्ने गुनासो आएको थियो।

विद्यालयका सूचना अधिकारी खिमानन्द कालाथोकीका अनुसार त्यस्ता गतिविधि पदअनुकूल आचरणविपरीत भएकाले सत्यतथ्य छानबिन गर्न समिति बनाइएको हो।छानबिन समितिलाई एक हप्ताभित्र प्रतिवेदन तयार गरी विद्यालय व्यवस्थापन समितिमा पेश गर्न समय सीमा तोकिएको छ।

छानबिन समितिका सदस्य विद्यालय व्यवस्थापन समिति सदस्य यमकला पुन मगर, सामुदायिक सिकाइ केन्द्र सौडियारका अध्यक्ष चन्द्रप्रसाद घिमिरे,मावि इन्चार्ज हिरालाल न्यौपाने, सदस्य सचिवमा विद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डे रहेका छन्।