बैंकको भीड व्यवस्थित बन्दै

दाङ, २४ बैशाख । बैंकहरुमा सामाजिक सुरक्षा भत्ता लिनेहरुको भीड हुने गरे पनि बुधवारदेखि भने त्यसलाई व्यवस्थित गरिएको छ । बैंक, वित्तीय संस्थाहरुमा भीडभाड बढेको र शारीरिक दूरी कायम नदेखिएपछि यसमा गम्भीर हुन स्थानीय प्रशासनले आग्रह गरेको थियो । बुधवार भने तुलसीपुरका बैंकहरुमा सामाजिक सुरक्षा भत्ता लिनेहरुले शारीरिक दूरी कायम गरेको पाएको छ ।

त्यसलाई सहजता गराउन जेसीज, उपमहानगरपालिकाबाट कर्मचारीहरु समेत परिचालन गरिएको थियो । तुलसीपुरस्थित सिभिल बैंकले प्रत्येक व्यक्तिलाई एक÷एक मिटर दूरीमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जनाएको छ । ‘आज जेसीज, उपमहानगर र हाम्रा सुरक्षा गार्डहरुले दूरी कायम गरी व्यवस्थित तरिकाले हामीहरुले भत्ता वितरण गरेका छौं’, बैंकका कर्जा विभाग प्रमुख टीकाराम डाँगीले भने । अन्य दिनभन्दा बुधवार भने बैंकहरुमा भीड नियन्त्रण हुनुका साथै व्यवस्थित देखिएको थियो ।

यसैबीच बबई गाउँपालिकाले पालिकाभित्रका वडाहरुमा लकडाउनको समयमा अपांग अशक्तहरुलाई घर–घर पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको जनाएको छ । यता घोराही क्षेत्रमा पनि भीडलाई व्यवस्थित र सामाजिक दूरी कायम गरेको बंैकहरुले जनाएको छ । यहाँका बैंक र वित्तीय संस्थाहरुमा भीड लागेपछि जिल्ला प्रशासनले सूचना जारी गरेर सामाजिक दूरी कायम गरेर काम गर्न निर्देशन गरेको थियो ।

गाउँपालिकाअन्र्तगत ७ वटा वडाहरुमा पायक पर्नेहरुलाई बडामै र पायक नपर्ने ज्येष्ठ नागरिक तथा अन्य व्यक्तिहरुलाई सम्बन्धित वडाहरुले घर–घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले बताए । उनका अनुसार ७ वटा वडाहरुमध्ये अधिकांशले सामाजिक सुरक्षा भत्ता वितरण गरेको र वडा नं. १ र ६ मा वितरण भइरहेको बताए । यसैबीच वडा नंं. ६ ले बैशाख २२ गतेदेखि सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको र धेरैजसो वितरण गरिसकेको वडाध्यक्ष रामबहादुर डाँगीले बताए । उनका अनुसार वडामा रहेका अपांग, ज्येष्ठ नागरिक, एकल महिलालगायत सबैलाई लकडाउनमा भएका कारण घर–घरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको जानकारी दिए । ‘धेरै जसोलाई घर–घरमा पुगेर भत्ता वितरण गरेका छौं, केही पायक पर्नेलाई भने वडा कार्यालयबाट वितरण शुरु गरेका छौं’, डाँगीले भने । बबई गाउँपालिकाभित्र २ हजार ८ सय ४० जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएको प्रमुख प्रशासकीय अधिकृत मल्लले बताए । सो गाउँपालिकामा २ करोड ३० लाख २७ हजार सामाजिक सुरक्षा भत्तामा रकम खर्च हुने गरेको छ ।