अमरराज आचार्य
दाङ, २४ बैशाख । तरकारी किसानहरुको अहिलेको समस्यासाग सरकारी निकाय बेखब्र छैन । उनीहरुको उत्पादनले बजार नपाउँदा कृषहरुलाई समस्या परेको जानकारी त छ नै, सँगै उसले यो समस्याको समाधानका लागि सहयोग गर्ने उद्देश्यले पहल पनि गरेको छ । तर, यो पहल पर्याप्त नभएको बोध पनि जिल्लास्थित जिल्ला कृषि ज्ञान केन्द्र दाङलाई छ । ‘यो अस्थायी समस्या हो, लकडाउनले उहाँहरुको उत्पादन बजारसम्म पुग्न पाएको छैन’, केन्द्रका कृषि प्रसार अधिकृत भरत पोख्रेलले भने– ‘लकडाउन सकिएपछि उहाँहरुको समस्या आफै हट्ने छ ।’ उनका अनुसार उत्पादनलाई बजारसम्म ल्याउन कार्यालयले दुईवटा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । जसको काम बारीबाट बजारसम्म तरकारी पुराउने नै हो । ‘आवश्यकता भयो भने गाडीको संख्या थप्न सकिन्छ’, पोख्रेलले जानकारी दिए ।
उत्पादित तरकारीको गुणस्तरीयतामा समस्या नभएका र तरकारीमा रोगव्याध पनि नदेखिएका कारण किसानको समस्या लकडाउनको अवधिसम्म मात्र रहने पोख्रेलको भनाइ छ । ‘उत्पादित तरकारी खपत हुन नसक्दा समस्या भएको हो’, अधिकृत पोख्रेलले भने– ‘जिल्लामा उत्पादन हुने तरकारीहरु करेला, भिन्डी, बोडी, काँक्रा, सिमी, तरभुजा, भेडेखुर्सानी जिल्ला बाहिर लैजान सकिएको छैन ।’ उनले किसानहरुलाई अन्य प्राविधिक सल्लाहदेखि कार्यालयले दिने सबै सेवाहरु निरन्तर रहेको पनि जनाए । कार्यालयले बिभिन्न ६ वटा गाडीमार्फत कृषकहरुका लागि आवश्यक दाना, मलदेखि बीउ–बिजनसम्म उपलब्ध गराउन सहजीकरण गरिरहेको पनि उनले जानकारी दिए । ‘कृषकहरुले मागअनुसार गाडी पठाएर सामान पु¥याउने र उत्पादन ल्याउने गरिएको छ’, अधिकृत पोख्रेलले भने । जिल्लाका धेरै स्थानमा व्यावसायिक तरकारी खेती भएकाले सबै स्थानमा एकैपटक गाडी पढाउन नसकिने गरेको उनी बताउँछन् । केही प्राविधिक समस्या परेमा आफूहरुले टेलिफोनबाटै पनि र फिल्डमा गएर पनि समस्या समाधान गरिराखेको जानकारी पनि उनले दिए । ‘अहिले खासै समस्या देखापरेको छैन’, अधिकृत पोख्रेलले भने ।
पहाडी जिल्लाका साथै बुटवल, नारायणघाट, नेपालगञ्जसम्म दाङको तरकारी ठूलो परिमाणमा जाने गरेको किसानहरु बताउँछन् । तर लकडाउनले अहिले व्यवसायीहरुले जिल्ला बाहिर पठाउन सकेका छैनन् । त्यसै गरेर अहिले धेरै तरकारी खपत हुने होटेल तथा अन्य उद्योगसमेत बन्द रहेका छन् । केही दिन अघिसम्म दाङ जिल्ला उद्योग वाणिज्य संघले होम डेलिभरी गरेर घर–घरसम्म पु¥याउँदा केही बिक्री भएको थियो । तर होम डेलिभरी पनि बन्द भएपछि तरकारी खपतसमेत कम भएको ज्ञान केन्द्रका पोख्रेलले बताए । कृषकहरुले डोका, छिटुवामा राखेर घर–घरमा डुलाएर तरकारी बिक्री गरिरहेका छन् । त्यसैगरेर व्यवसायीहरुलाई उत्पादित तरकारी खरिद गरिदिनका लागि कार्यालयले समन्वय गरिरहेको पोख्रेलको भनाइ रहेको छ । ‘हामीले उत्पादित वस्तु खेर जान नदिनका लागि सबैसँग समन्वय गरिराखेका छौं’, अधिकृत पोख्रेलले भने ।
उता, कृषकहरुले भने राज्यले आफूहरुले उत्पादन गरेको कृषि उत्पादनको बजार व्यवस्थापन गरिदिनुपर्ने बताएका छन् । कृषकले उत्पादन गरेको उत्पादनको राज्यले ग्यारेन्टी गरिनुपर्ने घोराहीका कृषक जीतबहादुर घर्तीले बताए । ‘राज्यले उत्पादित गरेको वस्तुको ग्यारेन्टी गरिदिएमा कृषि क्षेत्रमा लाग्नेहरुको संख्या बढ्ने छ’, घर्तीले भने । उत्पादित बस्तु बिक्री नहँुदा आफूहरुलाई ठूलो समस्या पर्ने उनको भनाइ रहेको छ । किसानहरुको यस्तो चिन्तालाई तत्काल कृषि ज्ञान केन्द्रले सम्बोधन गर्न नसके पनि यो बिषयमा गम्भीर भने भएको कार्यालयले जनाएको छ । ‘उत्पादनले बजार नपाउँदाको किसानका अबस्थाका बारेमा कार्यालयलाई जानकारी नहुने त कुरै भएन’, अधिकृत पोख्रेलले भने– ‘यहीँबाट केही गर्न नसके पनि प्रदेश सरकारलाई हामीले लेखिपठाउन भने सक्छौं ।’